आजको नेपाल र वैदिक कालको राजनीतिक प्रणालीबीच कस्ता समानता या असमानता रहेछन् भनेर संक्षिप्त विहंगावलोकन गर्दा त्यहाँ प्रयुक्त ‘प्रसन्न’ र ‘सानन्द’ शब्दले निकै आकर्षित गरे । ती शब्दलाई केलाउँदै जाँदा प्रश्न उठ्यो कि के राज्यव्यवस्थाले आफ्ना नागरिकलाई वास्तविक रूपमा ‘प्रसन्न’ र ‘सानन्द’ बनाउन सक्छ ? यो प्रश्नको जवाफ पाउन तत्कालीन राजनीतिक पद्धति’bout जानकारी लिनु आवश्यक महसुस भयो । वैदिक युगमा आफूले चुनेको राष्ट्राध्यक्षमा अनुपम रूपको सदाचार र जिम्मेवारीबोधको अपेक्षा गरिन्थ्यो । ऋग्वेदको दशम मण्डलमा भनिएको छ, ‘आत्वा हर्षिमंतरेधि ध्रुव स्तिष्ठा विचाचलिः विशरत्वा सर्वा वांछतु मात्वधं राष्ट्रमदि भ्रशत’ अर्थात्, ‘हे राष्ट्रका शासक, मैले तिमीलाई खुसीसाथ निर्वाचित गरेको छु । सभामा आऊ, शान्तिसँग बस, चञ्चल नबन, हडबड नगर । कहिल्यै पनि राष्ट्रलाई अपवित्र बनाउने काम नगर्नू ।’
शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउँछ भन्ने कुरामा त्यस बखतका मानिस पनि सचेत र सजग रहेछन् भन्ने कुरा राजासँगको त्यो आग्रह र चेतावनीले प्रस्ट पारेको छ । यति मात्र होइन, उस बखतका राजा (शासक)ले मातृभूमिका खातिर सबै प्रकारका दुःख सहन गर्दै प्रजासँग हातेमालो गर्ने प्रतिज्ञा गर्नुपर्ने रहेछ । ‘अहमास्मि सहमान उत्तरोनाम भूम्याम् । अभिषास्मि विष्वाषाडाशामशां विषासहि’ (अथर्ववेद, १२–१–५४) अर्थात्, ‘म मेरो देशको कष्टको समाधानका लागि हरेक प्रकारका कष्ट सहन तयार छु । यो स्वराज्यको भलाइको निमित्त हामी राजा र प्रजा मिलेर निरन्तर प्रयत्न गर्नेछौं । यो मातृभूमिमा बीज छर्ने, खनिज पदार्थ निकाल्ने, तलाउ खन्ने आदि कार्यमा संलग्न प्रजालाई कमसेकम कष्ट हुनेगरी व्यवस्था गरिनेछ ।’
आजको नेपालमा भनसुन र पहुँचको आधारमा पदक, सम्मान र विभूषण वितरण गर्ने परिपाटी कायम गरिएको हुँदा राष्ट्रका तर्फबाट प्रदान गरिने सम्मानको विद्रुपीकरण भएको छ
वैदिक काल अखण्ड मानवीय जिज्ञासा र त्यसको निरूपणको समय थियो । प्रकृतिका प्रत्येक गतिविधिमा गहिरो अभिरुचि राख्ने तत्कालीन मनुष्य सुव्यवस्थित र अनुल्लंघनीय प्राकृतिक नियम देखेर आश्चर्यचकित भयो । ठीक समयमा चन्द्र–सूर्य उदाउनु र अस्ताउनु एवं तारापुञ्ज ठीक समयमा ठीक स्थानमा देखिनु जस्ता आकाशीय घटनालाई उनीहरूले ‘ऋत’ भनेर नामकरण गरे । सुरुमा उनीहरूले ऋतलाई भौतिक नियमका रूपमा मात्र मानेका थिए । संसारमा सबै कुरा परिवर्तनशील छन्, किन्तु परिवर्तनको नियमका अपरिवर्तनीय प्रणाली देखेर उनीहरू अचम्मित भए । उनीहरूले विचार गरे कि जब यो जड प्रकृति आफ्नो नियममा यसरी अविचलित हुनसक्छ भने चेतन मानवले पनि आफूलाई ऋतअनुसार किन परिचालन नगर्ने ? जब पूरा ब्रह्माण्ड आफ्नो नियममा अडिग रहन्छ भने मनुष्य किन नरहने ? भनिन्छ, सनातन धर्मको आरम्भ यही ऋतको सिद्धान्तसँग जोडिएको छ । ऋत सत्यको नियम हो । पछि गएर यसलाई धर्मसँग जोडियो । आजको युगमा लोकतन्त्र र त्यसको दिशानिर्देश गर्ने संविधानलाई ऋतको रूपमा मान्न सकिन्छ ।
नेपालको संविधानले ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडन’को अन्त्य गर्ने लक्ष्य लिएको छ । संविधानले ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने’ संकल्प समेत गरेको छ । संविधानअनुसार सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ । कानुनको दृष्टिमा सबै नागरिक समान छन् । कुनै प्रकारको भेदभाव वा छुवाछुत गर्न मनाही छ । सम्पत्ति आर्जन गर्ने, भोग गर्ने र बेचबिखन गर्ने अधिकार सुरक्षित छ । सबैलाई सूचनाको हक प्राप्त छ । शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, सामाजिक सुरक्षा आदि सबै अधिकारले नेपाली जनता लयस छन् । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित छ । हाम्रो संविधानमा ‘सबैथोक’ छ ।
वैदिक कालमा जनचासोको विषयमा छलफल र निर्णय गर्ने सबैभन्दा प्राचीन संस्थालाई ‘विदथ’ भनिन्थ्यो । उक्त जनसभामा सैनिक र सामरिक विषयमा चर्चा हुन्थे । विदथमा विशेष गरेर युद्धको समयमा लुटेर ल्याइएको धनको भागबन्डा सम्बन्धमा बहस हुने गर्दथ्यो । वैदिक युगको पछिल्लो समयमा ‘सभा’ र ‘समिति’मा सार्वजनिक चासो’bout चर्चा गर्ने गरेको पाइन्छ । सभामा बस्न लायक व्यक्तिलाई ‘सभ्य’ या ‘सुजात’ भनिन्थ्यो भने सभाको सदस्यलाई ‘सभासद’ । सभाबाट आफ्नो इच्छा मुताविकको न्याय पाउने व्यक्तिलाई ‘प्रसन्न’ या ‘सानन्द’ भनेर सम्बोधन गरिन्थ्यो । यसबाट के थाहा हुन्छ भने त्यस समयमा प्रत्येक व्यक्तिलाई जीवन र जगतको विषयमा छलफल गर्ने र प्रश्न गर्ने अधिकार प्राप्त थियो ।
वर्तमान राजनीति नेपाली जनतालाई ‘प्रसन्न’ र ‘सानन्द’ तुल्याउनेतर्फ उन्मुख गराउने उपाय भनेको निरन्तर एवं प्रखर नागरिक जागरुकता र खबरदारी हो
आनन्द प्राप्त हुनु भनेको आफ्नो अभिलाषा पूरा हुँदा प्राप्त हुने खुसी हो । जीवनलाई आफ्नो इच्छाअनुकूल पाउनु आनन्द हो । असल मित्र, असल बुबाआमा, असल सन्तान, असल जीवनसाथी र असल छिमेकी पाउनु आनन्द हो । सर्वोपरि कुरा असल सरकार पाउनु सर्वोच्च आनन्द हो । कुनै पनि सरकारले मनुष्यको असीमित आकांक्षाको परिपूर्ति गर्न सक्दैन । तर, न्यूनतम भौतिक आवश्यकताको परिपूरण गर्न र मानवीय न्याय दिन सक्दछ । राज्यका तर्फबाट सुविधा र न्याय पाएको व्यक्ति सार्वजनिक रूपमा ‘प्रसन्न’ र ‘सानन्द’ हुन्छ । राज्यबाट न्याय पाइने कुरामा ढुक्क भएका नागरिक राष्ट्रिय जीवनका विभिन्न पक्षमा योगदान दिन तत्पर हुन्छन् ।
वैदिककालमा त्यस्ता व्यक्तिलाई ‘निर्दोष’ पनि भनिन्थ्यो । निर्दोषको अर्थ थियो, सफा, स्वच्छ र निष्कलंक नागरिक । आजको नेपालमा भनसुन र पहुँचको आधारमा पदक, सम्मान र विभूषण वितरण गर्ने परिपाटी कायम गरिएको हुँदा राष्ट्रका तर्फबाट प्रदान गरिने सम्मानको विद्रुपीकरण भएको छ । ‘राम्राहरू छायाँमा, हाम्राहरू मायामा’ भन्ने नयाँ उखान यहाँ प्रचलनमा आयो ।
करिब साढे चार वर्षअघि नेपालमा प्रचण्डको बहुमतको सरकार गठन भएको थियो । मानिसहरू भन्ने गर्दथे, अब राजनीतिक अस्थिरताका दिन सकिए । नेतृत्वशाली प्रखर नेताबाट घोषणा भयो, ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय योजना आयोगले ‘समृद्धि’का ३२ र ‘सुख’का २३ सूचक निर्माण ग¥यो । आर्थिक वर्ष २०८०÷८१ सम्म पूरा गर्ने भनिएका लक्ष्यहरू मुस्किल खालका देखिन्थे । परन्तु देशका प्रधानमन्त्री अझै महत्वाकांक्षी योजना ल्याउन उत्साहित गर्दै थिए । अपत्यारिलो नै लागे तापनि त्यो साहस र आँटलाई विश्वास गर्नु नपर्ने कुनै कारण थिएन ।
तर, विडम्बना, ठूलाठूला कुरा गर्दागर्दै त्यो वृहादाकार वामसरकार आफ्नो शरीरको बोझ आफै बोक्न नसकेर तासको महल झैं ढल्यो । ‘प्रसन्न’ र ‘सानन्द’ हुने सपना चकनाचुर भएका जनता बडेबडे दिग्गजको आपसी खोइरो खनाइ र लज्जाहीन गालीगलोज सुनेर आश्चर्यचकित भए । त्यसपछि निर्माण भएको राजनीतिक दुष्चक्रले प्रसन्नता र आनन्द देला भनेर त झन बच्चालाई पनि विश्वास छैन ।
वैदिककालीन राजाको मुख्य काम पशुधनको रक्षा, युद्धमा नेतृत्व गर्नु र समस्त कुलका तर्फबाट देवतालाई प्रार्थना गर्नु थियो । कुनै पनि विषयमा निर्णय लिनुअघि विस्तारमा छलफल गर्नु राजाको कर्तव्य थियो । ऋग्वेदको प्रथम मण्डलमा उल्लेख भएको छ, ‘जुन राजा सत्कर्मको पोसाक र समृद्धिशाली हुन्छ, त्यस राज्यमा बस्ने प्रजाले मात्र उत्तम हविद्वारा उत्तम वचनले स्तुतिगान गर्न सक्छन् । त्यस्तो राज्यमा मात्र दानशील ईन्द्रले वर्षा गरिदिन्छन् ।’ सरकारको प्रत्येक गतिविधिमा नागरिकको निगरानी हुने हुँदा राजाले जथाभावी गर्ने सम्भावना क्षीण थियो । तत्काल प्रचलित लोकतान्त्रिक अभ्यास र स्वराज्यप्रति प्रजाको उत्कट रुझानलाई हेर्दा उनीहरूमा ‘पतित र आत्मा मरेको समाज स्वतन्त्र हुन सक्दैन । स्वायत्तता (स्वराज्य) बिनाको समाजमा स्वाभिमान हुँदैन । बरु दुई गाँस कम खानु परोस्, स्वाभिमानयुक्त जीवन बिताउन पाइयोस् । दाम्लाले बाँधेको पशु स्वतन्त्र चरुवा पशुभन्दा मोटोघाटो हुन्छ ।’ जस्ता कुरा’bout प्रबल चेतना थियो भन्ने कुरा प्रस्ट हुन्छ ।
ऋग्वेदको दशम् मण्डलमा व्यवसायको आधारमा चार वर्णको सम्बन्धमा उल्लेख भएको छ । एक जना विद्यार्थी भन्छ, ‘म कवि हुँ, मेरा पिता वैद्य हुन् र मेरी माता पिस्ने काम गर्छिन् ।’ तर, कालान्तरमा पेसाको आधारमा नभई जन्मको आधारमा जातिपाति र छुवाछुतको व्यवस्था कायम हुँदै गयो । सभा र समिति जस्ता लोकप्रिय जनतान्त्रिक संस्था समाप्त हुँदै गए । पुरोहित, उच्चपदस्थ कर्मचारी र मन्त्री मात्र राजाका कृपा पात्र हुन थाले । राजाहरू निरंकुश हुँदै गए । लोकतान्त्रिक संस्था ध्वस्त हुँदै गए । राजकीय संस्थाहरू ऋत र परम्पराका संरक्षक बन्न चाहेनन् । आजको सन्दर्भमा देशलाई भौतिक रूपमा समृद्ध बनाई नागरिकलाई प्रसन्न र सानन्द राख्ने कर्तव्य राजनीतिक दलको हो । त्यसका लागि मार्गदर्शन गर्ने ऋत भनेको मुलुकको संविधान, सदाचार र सुशासन हो । परन्तु वर्तमान राजनीति नेपाली जनतालाई ‘प्रसन्न’ र ‘सानन्द’ तुल्याउनेतर्फ उन्मुख देखिँदैन । अबको उपाय भनेको निरन्तर एवं प्रखर नागरिक जागरुकता र खबरदारी मात्र हो ।