पोखरा । मेयर र उपमेयर जीत सुनिश्चित भइसकेको पोखरामा स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।
पोखरा वडा १८ मा खसेको मत र गणना भएको मत समान नभएपछि नेकपा एमालेले पुनः गणना माग गर्दै निवेदन दिएपछि ३ घण्टादेखि गणना नै स्थगित भएको हो ।
पोखराका कुल ३३ वटा वडामध्ये ३० वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । यद्यपि पोखरा २२, ३२ र ३३ को गणना जारी रहेकै अवस्थामा एमालेले पोखरा १८ को पुनःमतगणना हुनुपर्ने अडान नछाडेपछि एमालेका प्रतिनिधिले अन्य वडाको मतगणनास्थल नै छोडेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखरा २२, ३२ र ३३ को मतगणना कार्य सुचारु गर्न एमाले दलका मतगणना प्रतिनिधिहरु मतगणनास्थलमा अनुपस्थित रहेको कारण बाधा परेको भन्दै तत्काल मतगणनास्थलमा बस्न सूचनासमेत जारी गरेको थियो ।
एमाले पुनः मतगणना माग गरेपछि नेपाली कांग्रेस पोखरा वडा १ र १७ पनि पुनः मतगणनाको माग गरेको छ । पोखरा १ र १७ मा भने नेकपा एमालेले चुनाव जितेको थियो । कांग्रेस पोखरा १ बाट वडाध्यक्षकी उम्मेदवार सीता गुरुङ र वडा १७ का वडाध्यक्षका उम्मेदवार देवराज आचार्य सहित सदस्यका उम्मेदरले निवेदन दिएका हुन् । पोखरामा सर्वप्रथम नतिजा घोषणा गरिएको वडा १ मा एमालेका सहारा प्रधान वडाध्यक्ष निर्वाचित भएका थिए । वडा १७ मा एमालेकी राधिका शाही योगीको प्यानल नै निर्वाचित भएको छ ।
विवाद समाधानका लागि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा सहिदचोकस्थलमा अहिले नेपाली कांग्रेसका कार्यकर्ताहरुले अनावश्यक बखेडा नझिक्न भन्दै नाराबाजी गरिरहेका छन् । पोखरा १८ मा निर्वाचित वडाध्यक्ष शिव तिमिल्सिना लगायतले जनप्रतिनिधिले भने अबिरजात्रा गरिसकेका छन् ।
पोखरा वडा १८ मा नेपाली कांग्रेसका शिव तिमिल्सिना मात्र ३ मतअन्तरले निर्वाचित भएका हुन् । उनले ४ हजार ६ सय ४३ मत ल्याएकोमा उनका निकटतम् प्रतिस्पर्ध नेकपा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६ सय ४० मत ल्याएका हुन् ।
३० वैशाखको स्थानीय तह निर्वाचनमा सो वडामा ४ हजार ३ सय ४८ मत खसेको थियो । तर गणनामा भने ९ मत कम भएकोले पुनः मतगणना हुनुपर्ने माग आफूहरुको रहेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले बताए । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ जीत सुनिश्चित छ । गत वैशाख ३१ देखि सुरु भएको पोखराको मतगणना अझै सकिएको छैन । कास्कीका ५ पालिकामध्ये अन्य ४ पालिकाको अन्तिम मतगणनासँगै जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् ।