पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपमेयर नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार आचार्यले गएराति सम्पन्न अन्तिम मतपरिणाममा आफ्ना निकतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गरेका हुन् । पोखराको १५ औं मेयरमा निर्वाचित आचार्यले कुल खसेको मतमा ५८ हजार ८ सय ९३ र थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखराले जनाएको छ ।
राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार गनेस पौडेलको ३ हजार ३० मत आयो ।
यसैगरी, उपमेयरमा एमालेकी मञ्जुदेवीले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मतअन्तरले पछि पार्दै निर्वाचित भएकी हुन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित गुरुङले कुल खसेको मतमा ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी हुन् । राप्रपाबाट उपमेयर उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् ।
मेयरमा पराजित एमालेका कृष्ण थापाले निर्वाचित आचार्यलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन् । २०७४ सालको चुनावमा एमालेले मेयर र उपमेयर दुवै जितेकोमा यसपालि मेयर गुमायो । २०५४ सालमा कृष्ण थापा नै पोखराको मेयर थिए । पोखराका ३३ वटा वडामध्ये एमालेले मात्र ९ वडा जितेको छ । २३ वटा वडा कांग्रेसले जित्दा १ वटा वडा (वडा २२) अध्यक्षमा स्वतन्त्रका उम्मेदवार हिमलाल बराल निर्वाचित भए । पोखराले १२ दिनमा मतगणना सम्पन्न गरेको हो ।