भित्रियो मनसुन, औसतभन्दा बढी पानी पर्ने

काठमाडौं । यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो ।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९÷०२÷२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ, ‘नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’

अर्थतन्त्रमा मनसुनको प्रभाव
नेपालको सन्दर्भमा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने काम मनसुनले गर्ने गरेको छ । जनताको जीविकासँग जोडिएको मनसुन यो वर्ष एक साताअघि आउँदा कृषि क्षेत्रमा ठूलो राहत पुग्ने अनुमान गरिएको छ । नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ ।

त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ । मनसुन समयमै आए बालीनाली सप्रिन्छ । खाद्यान्न उत्पादन बढ्छ । त्यसले देशको कुल गार्हस्थ उत्पादन बढाउँछ । मनसुनले बालीनालीको उत्पादकत्व मात्र बढाउँदैन, धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ । रनअफ दि रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ । बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन् । अर्थतन्त्र चलायमान हुन्छ ।

कहाँबाट भित्रिन्छ मनसुन ?
नेपालमा मनसुन बंगालको खाडीबाट आउने धेरैले भन्ने गरेका छन् तर यो शतप्रतिशत सही होइन । बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन । बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ ।

भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरु हुन्छ, नेपाल आइपुग्ने मनसुन । त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ । पूर्वी अफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावा’bout बुझ्नुपर्छ ।

भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ । उत्तरी र दक्षिणी गोलाद्र्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ । त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ । दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए । एउटा ध्रुवमा तीनवटासम्म यस्ता जेट स्ट्रिम हुन्छन् । जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन् । मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरकफरक भइरहन्छ ।

दुवै ध्रुवनजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ । ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ । चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन् । जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलाद्र्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर नयाँ जेट स्ट्रिम बन्छ ।

जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालियानजिक हुन्छ । ‘सोमालियानजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ उनले भनिन्, ‘सोमालियाबाट उत्तरपूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ ।’

३० वर्षको तथ्यांकलाई आधार मान्दा…
नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरु हुन्छ । मौसम विभागले पछिल्लो ३० वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ । केरलाबाट पनि मनसुन सिधै नेपाल आउँदैन ।

केरलाबाट यो दुईतिर बाँडिन्छ । एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न । अर्को समुद्र हुँदै बंगालको खाडी आइपुग्छ । यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ ।

बंगालको खाडी आएको मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन । त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायुले बाटो खाली गरिदिनुपर्छ । नेपालमा हिउँदका ६ महिना पश्चिमी वायुको दबदबा हुन्छ । पश्चिमी वायु उत्तर नसरेसम्म मनसुनको केही चल्दैन । ‘ऊ कि त उतै केरला रोकिएर बस्छ नभए बंगालको खाडीबाट यहाँ आउन खोजे पनि सक्दैन,’ मौसमविद् मानन्धरले भनिन्, ‘अप्रिल र मेमा नेपालमा यी दुई वायुको झगडा नै पर्छ ।’

‘दुवैका विशेषता फरक–फरक छन् । एउटा माथिबाट आउँछ सुख्खा हुन्छ, कम पानी पार्छ । अर्को तलबाट आउँछ धेरै जलवाष्प ल्याएको हुन्छ,’ उनले भनिन्, ‘यो झगडामा मनसुन जति बलियो र पश्चिमी वायु जति कमजोर भयो हामीलाई त्यति फाइदा हुन्छ । नत्र पूर्वमा आएको मनसुन पनि पश्चिमतिर सर्नै सक्दैन ।’

पश्चिमी वायुसँगको लडाइँमा मनसुनलाई तिब्बती पठारले पनि साथ दिनुपर्छ । गर्मी सुरु भएसँगै सबट्रपिकल जेट स्ट्रिम ध्रुवतिर सर्छ । यसरी त्यो चिसो तर सुख्खा वायुमाथि सरेर चर्को घाम लागेपछि तिब्बती पठारको हावा तात्छ र माथि जान्छ । कुनै ठाउँमा सतहको हावा तातेर माथि गई बादल बन्यो भने त्यसलाई न्यूनचापीय प्रणाली भनिन्छ ।

‘गर्मीमा त्यस्ता न्यूनचापीय रेखा तिब्बतमाथि दिन्दिनै बनिरहेको हुन्छन् । तिब्बतमा जति छिटो न्यूनचापीय प्रणाली बन्यो नेपालमा त्यति नै छिटो मनसुन पस्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘तिब्बतमा खाली भएको त्यही ठाउँमा पुग्न मनसुनी वायु बंगालको खाडीबाट उकालो लाग्छ तर हिमालले छेक्ने भएकाले त्यो पारी जान सक्दैन । यतै झर्छ ।’

लालिनो र एललिनो
कुनै मनसुनमा धेरै पानी पर्छ कुनैमा थोरै । त्यसमा मनसुन र पश्चिमी वायुसँगै प्रशान्त महासागरमा हुने दुई मौसमी घटनाको पनि भूमिका हुन्छ । प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन् जहाँको पानी चिसो र तातो हुँदा विश्वभरिको मौसम असर पार्छ । महासागरको सतहको पानी औसतभन्दा चिसो र तातो हुने प्रक्रियालाई लालिनो र एललिनो भनिन्छ ।

स्पेनिस भाषामा लालिनो भनेको सानी केटी हो । प्रशान्त महासागरको ‘ट्रेड विन्ड’ बहने ठाउँमा कहिले एसियातिर त कहिले अमेरिकातिर लालिनो हुन्छ । लालिनो हुँदा त्यो ठाउँको पानी औसतभन्दा चिसो हुन्छ । स्पेनिसमा एललिनोको अर्थचाहिँ सानो केटो हो । एललिनो हुँदा सतहको पानी औसतभन्दा तातो हुन्छ । एललिनो हुन्छ भने सन् १६०० मा दक्षिण अमेरिकाका माझीहरूले पत्ता लगाएका थिए ।

‘प्रशान्त महासागरमा लालिनो र एललिनो हुने प्रक्रिया दुईदेखि सात वर्षमा दोहोरिरहन्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘हाम्रो मनसुनका लागि भने एसियातिर लालिनो भएको राम्रो । किनकि त्यसले मनुसनलाई सहयोग पुग्छ ।’

यी विभिन्न अवस्थालाई अध्ययन गरेर विभागले कुन वर्षको मौसम कस्तो हुन्छ भन्ने अनुमान गर्छ । यसपालि पूर्वी क्षेत्रमा औसतभन्दा कम र पश्चिमी नेपालमा औसत मनसुनी पानी पर्ने सम्भावना छ ।

तपाइको प्रतिक्रिया
(Visited 655 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिद्धार्थ नगरमा कांग्रेस र माओवादीबीच तालमेल सहमति