गण्डकीको नीति तथा कार्यक्रम : शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको हो ।

संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याएको हो ।

प्रदेश सरकारको प्रतिबद्धता : मर्यादित महिनावारी र स्वच्छता भन्ने नारा लिँदै किशोरीको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण र विसर्जनको सुविधा उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै, सुत्केरी आमा पोषिलो खाना कार्यक्रम तय गरी अति विपन्न सुत्केरीलाई ४५ दिनसम्मका लागि स्थानीय तहसँगको सहकार्यमा पोषण भत्ता उपलब्ध गराइनेछ । सरकारले स्थानीय तहबाट ५० वर्ष उमेर पूरा भएका नागरिकको लागि प्रत्येक महिनामा निशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ ।

निःशुल्क रगत, महिलाको पाठेघरको मुखको निःशुल्क शल्यरक्रिया, कोभिडमा अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता, निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि नीति, कार्यक्रममा प्राथमिकता दिइएको छ ।
कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङले बताए । नीति तथा कार्यक्रममा उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ ।

कार्यान्वयनमा लिंग पहिचान गरी भ्रुण हत्याबिरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबालिका तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रदेशको कार्यक्रममा मूलप्रवाहिकरण गर्ने उल्लेख छ ।

सरकारले ज्येष्ठ नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, प्रदेश सरकारसँग ‘बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । मानव सेवा आश्रम तथा वृद्धाश्रमहरुमा आश्रित दीर्घरोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने जनाएको छ । पर्यटन क्षेत्रको विकासमा विभिन्न प्याकेजसमेत प्रस्तुत गरेको छ ।

प्रदेश नीति तथा कार्यक्रममा पुराना प्रदेश गौरवका योजनाहरुलाई निरन्तरता दिएको छ । कतिपय योजनाहरुलाई दोहोरिएको छ । कार्यक्रममा युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । ‘प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ ।’ वैज्ञानिक क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको समेत आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गरिने बताइएको छ ।

शिक्षातर्फ एक विद्यालय–एक नर्स कार्यक्रम लागु गर्ने, प्राविधिक एसइई अध्ययन गर्ने दलित समुदायका छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम क्रमशः सुरु गरिने जनाइएको छ । दलित बस्तीमा भौतिक र सामाजिक सुधार कार्यक्रममार्फत नमुना आदर्श बस्ती निर्माण गर्न आवश्यक व्यवस्था मिलाइने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा