जनकपुरधामको दशरथ तलाउमा स्नान गर्नेको भिड

जनकपुरधाम । नेपालगञ्जका निरा खनाल घरका सबै सदस्यका साथ जनकपुरधामको दशरथ तलाउमा स्नान गर्न एकदिन अघि नै आएका थिए । उनको सपरिवारले दशराहा तिथिका दिन दशरथ तलाउमा स्नान गर्नुका साथै दशरथ मन्दिरमा विशेष पूजापाठ गरे । कुनै नजिकका नातेदारले दशराहा पर्व र दशरथ तलावको महत्व बताएपछि जनकपुरधाम आएको उनको भनाई छ । सिन्धुलीका मोहन कार्की पनि दशराहामा नुहाउन आज जनकपुरधाम आएका छन् । भारतको मधुवनीका सीता देवी प्रत्येक बर्ष यसमा यो कार्यक्रममा सहभागी हुने गरेकी छिन् ।

सबै प्रकारको कष्ट निवारणका लागि गंगा दशराहामा दशरथ तलाउमा नुहाउन भक्तजनहरु आउने गर्छन् । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवका अनुसार जनकपुरधाम आउने व्यक्तिहरु गंगा सागर, धनुष सागर र दशरथ तलाउमा एक पटक नुहाउने गर्छन् ।

दशरथ तलाउमा नुहाउँदा गंगामा नुहाउँदा फल प्राप्त हुने बताउछन् । भारतको सीतामढीबाट गंगा दशराहामा नुहाउन जनकपुरधाम आएकी मधुवनी बाली भन्छिन, ‘म त २० वर्षदेखि दशराहामा लगातार जनकपुरधाम आउँदै गरेकी छु ।’

गंगा दशराहाको महत्व

गंगा दशराहा गंगासंग सम्बन्धित रहेको छ । जेष्ठ शुक्ल दशमीका दिन माता गंगाको पृथ्वीमा अवतरण भएको थियो । त्रेता युगमा अयोध्याक राजा सागरको ६० हजार पुत्रको मृत्युपछि गंगा पृथ्वीमा अवतरण भएकी थिइन् । उनलाई सूर्यवंशी राजा भागिरथले धेरै तपस्या पश्चात पृथ्वीमा ल्याएका थिए ।
यही अवसरमा दशराहा मनाउने गरिन्छ । यसदिन गंगा नदीमा उभिएर ‘ऊँ नमो भगवती हिलि हिलि मिलि मिलि गंगे माँ पावए पावए स्वाहा’ मन्त्र पढदा सबै प्रकारको कष्ट निवारण हुने स्कन्द पुराणमा उल्लेख रहेको छ ।

स्कन्द पुराणका अनुसार यो मन्त्र पढदा दश पाप नष्ट भएका कारण यसलाई दशराहा भनिन्छ । ब्रह्म पुराणमा यसदिन मनसा–वाचा–कमर्णा तीनै प्रकारले हुने दश दोषको निवारण गंगा स्नानले हुँदै आएको उल्लेख रहेको छ ।
जानकारहरु भन्छन गंगा मन्त्रको अर्थ हुन्छ हे भगवती गंगा मलाई पटक पटक दर्शन दिनुस, पवित्र गर्नुस, पवित्र गर्नुस ।

गंगा दशराहाको रामयणक प्रसंग

गंगा दशराहाबाट रामायणको प्रसंग पनि जोडिएको छ । सीता हरणपछि भगवान श्रीराम लंका जानुपूर्र्व पुल बनाउने समय दशराहाको तिथिमा पूजा अर्चना गरेकोे रामायणमा उल्लेख रहेको छ ।

यो पर्व जेष्ठ शुक्ल प्रतिपदादेखि शुरु भई दशमीसम्म भएको कारण पनि दशराहा पर्व भनिएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ । धेरै व्यक्ति यसैकारणले होला दशराहामा दश दिनसम्म विशेष पूजापाठ गर्ने गर्छन । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव दश दिनसम्म जनकपुरधामको दशरथ तलावमा नुहाएर रामजानकीको पूजापाठ गर्ने परम्परा रहेको उल्लेख गरे ।

दानको महत्व

गंगा दशराहामा आफ्नो इच्छानुसार दान गर्ने चलन रहेको छ । जनकपुरधाममा मुख्य रुपले आँप, च्यूरा, सतु, पंखा, कपड़ा दान गर्ने गरिन्छ ।
दानको विषयमा संस्कृतिविद् चन्द्रमोहन झा ‘पडवा’ भन्छन् ‘जनकपुरधाममा दशरथ तलावमा नुहाएर केही व्यक्ति गरीवलाई त केही व्यक्तिले ब्रह्मणलाई दान गर्ने गर्छन ।’ आफूले दशरथ मन्दिरमा रहेका गरिवहरुलाई आँप च्यूरा र कपडा दिएर आएको सीता देवीले बताइन ।

दशरथ मन्दिरको प्रसंग

दशरथ तलाउको पश्चिम उत्तर घाटमा रहेको दशरथ मन्दिरमा यस अवसरमा पूजापाठ गर्ने चलन छ । भगवान श्रीरामको बुवा दशरथको जन्मदिन पनि यसै तिथिमा रहेको छ ।

भगवान श्रीरामको बुवाको नाउँमा स्थापित यस मन्दिरमा दशरथका अतिरिक्त रामजानकीको मूर्ति पनि रहेको छ । भारतको विहार राज्यको दरभंगा जिल्लाका पचारी मठबाट जनकपुरधाम आएका वनवारी दास वि.स. १९५८मा यस मन्दिरको निर्माण गरेका थिए ।

उनी जनकपुरधामका महन्थहरुमा सबैभन्दा जानकार महन्थको रुपमा चर्चित थिए । वनवारी बाबाद्वार बनाइएको मन्दिर भत्किए पनि अहिलेपनि भग्नावशेष कायमै रहेको छ । सो मन्दिरलाई मटिहानीका मानमहन्थ स्व. कौशलकिशोर दास वैष्णवले जिर्णोद्धार गरेका थिए ।

दशरथ मन्दिरको जनकपुरधाममा विशेष महत्व रहेको छ । इतिहासकार स्व. शिवेन्द्र लाल कर्ण लेखेका छन् ‘दशरथ मन्दिरमा दशराहामा पूजा पाठ गर्नुका साथै रामजानकी विवाहपञ्चमीको बेलो स्वयंवरभन्दा राम मन्दिरको डोला दशरथ मन्दिरमा विहेको अनुमति लिन पुग्ने गर्छन योे दृष्य धेरै महत्वपूर्ण हुने गर्छन ।’

असोज शुक्ल विजया दशमीका दिन बाजागाजाका साथ राम मन्दिरबाट भगवानको डोला दशरथ मन्दिरमा टिका लगाउन आउने गर्छन् ।

दशराहामा आँप च्यूराको महत्व

दशराहामा दशरथ तलाउको स्नानपछि तलाउकै किनारामा आँप च्यूरा खाने गर्छन् । जनकपुरधामका स्थानीय व्यक्ति होस वा बाहिरवाट आएकाहरु आँप च्यूरा खाने गर्छन । एकातिर नुहाउनेहरुको भीड थियो भने अर्कोतर्फ खानेहरुको पनि कम भीड थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी