बैतडी । बैतडी दशरथचन्द नगरपालिका– ७ सुर्कालका नन्दराज बडु द्वन्द्वपीडित हुन् । तत्कालीन विद्रोही नेकपा माओवादीमा संलग्न भएकाले उनका पितालाई बेपत्ता पारियो । उनको अवस्था अझै आज्ञात छ । २० वर्षअघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपुर जाँदै गरेका बुबा गंगादत्त बडु बाटोबाटै बेपत्ता भए ।
नेपाल र भारतका धेरै ठाउँ घुमे पनि भेटिएनन् । नन्दराजले पितामात्रै गुमाएनन् । आफू पनि माओवादी भएकै कारण प्रहरी र तत्कालीन शाही नेपाली सेनाबाट पटकपटक कुटाइ खाए । कैयौं पटक नाङ्गेझार पारेरसमेत कुटपिट गरियो । अहिले उनको शरीरका सबै अंगले राम्रोसँग काम गर्दैन । कटकटी दुखिरहन्छ, शरीर ।
उनका छोरासमेत अपांग छन् । छोराको उपचार गर्न र पैसा जुटाउन भारतका विभिन्न ठाउँमा मजदुरी गरे पनि सम्भव अभाव उस्तै छ । ‘द्वन्द्वकालका धेरै घाइते र बेपत्ता परिवारले सरकारबाट राहत प्राप्त गर्दा मैले केही पाएको छैन, पिता बेपत्ता भएको २० वर्षपछि बल्ल गएको मंसिरमा बेपत्ता परिवारको परिचयपत्र पाएँ,’ नन्दराज भन्छन्, ‘मजस्ता दर्जनौं साथीले १० देखि १५ लाख रकम बुझे, मैले भने सुक्को पाएको छैन ।’ नन्दराजले पार्टीका नेताबाट ‘आश्वासन’ पाए तर राहत अहिलेसम्म पाएका छैनन् ।
पीडित बडु अहिले पार्टी प्रदेश इञ्चार्ज खगराज भट्ट भेट्न घनगढी गएका छन् । दर्जनौंपटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी संस्था सबै ठाउँ धाए, तर रित्तै फर्किए । ‘पिताको मृत्यु भएको जानकारीमात्रै पाए पनि काजकिरिया गर्थें तर न सास, न लास भनेझैं केही खबर आएको छैन,’ नन्दराज भन्छन् । आफ्नो पितालाई तत्कालीन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ । अब नन्दराजको आशा भनेकै सरकारबाट राहत ‘पाउँछु’ भन्नुमात्रै हो । विपन्न परिवारका उनको आम्दानीको स्रोत केही पनि छैन । राहतका लागि धाउँदाधाउँदै मजदुरीसमेत गर्न पाएका छैनन् । शीर्ष नेताबाट ‘आश्वासन पाउने’ गरेका बडुको पीडा कहिले– कसले बुझिदेला ?