ऐतिहासिक कमल पोखरी व्यक्तिको नाममा, मंगलबार छिनोफानो

भक्तपुर । बिक्री भएर व्यक्तिको नाममा गएको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित सयौं वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक रूपमा रहेको कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिक रूपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकु दरबारमा दसैंमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छेड्ने जात्रा चलाउने परम्परा रहँदै आएको कमल पोखरी सार्वजनिक रूपमै फर्काउन स्थानीयले माग गरेका हुन् ।

कमल पोखरी सुटुक्क व्यक्तिको नाममा नामसारी गरी किनबेच भएको थाहा पाएपछि स्थानीयले भूमाफियासँग पोखरी सार्वजनिक सम्पत्तिकै रूपमा फर्काउन कानुनी लडाइँ लड्दै आएका छन् । तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नम्बर १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडेका बासिन्दाले सो पोखरी सार्वजनिक रूपमै फर्काइनुपर्ने माग राखेका छन् ।

३१ असार २०४२ मा सो पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २२ माघ २०५१ मा अधिकृत वारेसनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा नामसारी भएको हो । जसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पिनीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ ।

धार्मिक तथा सांस्कृतिक महŒव बोकेको कमल पोखरी जोगाउनुपर्ने माग गर्दै मध्यपुरथिमीका बासिन्दाले यसअघि पनि पटकपटक उच्च अदालत पाटनमा धर्ना दिँदै आएका छन् । धार्मिक एवं सार्वजनिक पोखरीको खरिद बिक्री हुँदै आए पनि कसैले उपभोग गर्न नआउँदा स्थानीयले पत्तो नपाएको अवस्थामा २०७० सालअगाडि पोखरीमा माटो पुरेर जग्गा टुक्र्याएर बस्ती विकास गर्न भन्दै डोजर आएपछि बल्ल पोखरी किनबेच भएको स्थानीयले थाहा पाएका थिए । स्थानीयले माटो पुर्न आएका डोजर र केही व्यक्तिलाई लछारपछार गर्दै लखेटेपछि पोखरी सार्वजनिक सम्पत्तिका रूपमा फर्काउन कानुनी लडाइँ सुरु भएको थियो ।

स्थानीयले ऐतिहासिक कमल पोखरी (पलिस्वाँ पुखुः) संरक्षण समिति नै गठन गरी पोखरीको धनीपुर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै आएको स्थानीय वीरेन्द्र जयनाले बताए । स्थानीयले जिल्ला अदालत भक्तपुरको फैसलालाई उच्च अदालतले सदर गर्ने विश्वासमा रहेकै बेलामा मिलापत्र गर्नेगरी प्रस्ताव आएपछि स्थानीय थप आक्रोशित बनेका छन् ।

मुद्दाको वारेस बसेका द्रव्यलाल जयनाले यही ३१ जेठमा मुद्दाको पेसी रहेको र सोही दिन फैसला हुन सक्ने भन्दै मुद्दा फैसलाबाट नभई मिलापत्रबाट टुंग्याउने प्रस्ताव आएको जानकारी दिए ।

यस’boutमा कमल पोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधरले मुद्दाको अन्तिम किनारा लाग्ने चरणमा पुगेको भन्दै पोखरी खरिद गर्ने पक्षबाट मिलापत्र गर्ने प्रस्ताव आएको बताए । त्यस’bout दुई पक्षबीच थप छलफल नभएकाले मिलापत्रभन्दा पनि उच्च अदालतको फैसला नै कुर्नुपर्ने बताए ।

मध्यपुरथिमी नगरपालिका–८ बोडेका वडाध्यक्ष रमेश थापा श्रेष्ठले दुई पक्षका कानुन व्यवसायीले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक गर्ने प्रस्ताव ल्याएको बताए । उनले भने, ‘हामीले पोखरी सार्वजनिक रूपमा नै ल्याउनुपर्छ भनेर कानुनी लडाइँ लडेका हौं, अहिले दुवै पक्षका वकिलले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाऔं भन्ने प्रस्ताव आएको छ, यो सकारात्मक हो तर यस’boutमा पछिल्लो समयमा थप छलफल हुन सकेको छैन । यस्तो अवस्थामा अब दुई दिनमा आउने अदालतको फैसला कुर्नु नै उपयुक्त होला ।’

पोखरीलाई सार्वजनिक बनाएर हारजित नगई आफ्नो पनि पोखरीमा योगदान रहेको सन्देश सार्वजनिक पोखरी किन्ने पक्षले दिन खोजेको हुन सक्ने उनको भनाइ छ ।

अदालतमा मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउने, पोखरी किन्ने समूहलाई क्षतिपूर्तिको व्यवस्था गर्ने र उनीहरूलाई मध्यपुरथिमीमा सम्मान गर्ने प्रस्ताव आएको स्थानीयले बताएका छन् । स्थानीयले यो प्रस्ताव अस्वीकार गर्दै व्यक्तिको नाममा पोखरी बिक्री गर्ने कार्यमा संलग्न सबैको राज्यले खोजी गरी कारबाही गर्नुपर्ने माग राखेका छन् । स्थानीयले भने सार्वजनिक पोखरी किन्नेसँग सहमति गर्ने र उनीहरूलाई आफ्नै बस्तीमा ल्याएर सम्मान गर्नु भनेको सार्वजनिक सम्पत्ति हडप्न प्रोत्साहन गर्नुसरह हो भन्दै यस्तो सहमति र मिलापत्र नगर्न खबरदारी गरेका छन् ।

जिल्ला अदालत, भक्तपुरले सो मुद्दामा १९ असार २०७५ मा वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमी–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको थियो । जग्गा खरिद गर्ने पक्षले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए ।

जिल्ला अदालतको फैसला आउनेबित्तिकै मध्यपुरथिमी नगरपालिकाले सो पोखरीको संरक्षण अभियान सुरु गरेको थियो । अदालतमा आफैं पनि प्ले कार्ड बोकेर धर्नामा बस्दै आएका नगरपालिकाका तत्कालीन नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि भोलिपल्ट नै नगरपालिकाबाट ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेर कमल पोखरी संरक्षण थालेका थिए । सो आदेशको भोलिपल्टै मध्यपुरथिमी नगरपालिकाले डोजरको सहायतमा पोखरीमा सफा गरी ७५ लाख रुपैयाँको लागतमा संरक्षणका कार्य गरिएको पूर्वनगरप्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाले पोखरीलाई ऐतिहासिकस्वरूपमै पुनर्निर्माण गरेको छ । पोखरीमा दाँची अप्पा, माँअप्पा इँट्टाको प्रयोग गरेर कलात्मक शैलीमा पुनर्निर्माण गरी वरिपरि बार लगाइएको छ । पोखरीमा रोपिएको कमलको बिरुवाबाट फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको विकासका लागि ५ लाख रुपैयाँको लागतमा दुईवटा डुंगा सञ्चालनमा ल्याउनुका साथै २ हजार माछाका भुरा पनि छाडेको छ ।

स्थानीय वीरेन्द्र जयना भन्छन्, ‘हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पौडी खेलिन्थ्यो, पछि पुरियो, फोहोर भयो, किनबेच भयो, बोडेका बासिन्दा पोखरी जोगाउन लागि रह्यौं, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ वाक, साँझ इभिनिङ वाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो ।’

पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँट्टा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको छ ।

पोखरीमा फुलेको कमलको फूल यहीँको लायकु दरबारमा दसैंमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको बताउँदै श्रेष्ठले उच्च अदालतले पनि जनताकै पक्षमा फैसला सुनाउने अपेक्षा गरेको बताए ।

बोडेका बासिन्दाले भने आगामी मंगलबार उच्च अदालत पाटनमा हुने फैसला सुन्न जान मध्यपुरथिमीका बासिन्दालाई आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 537 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं