भैरहवामा पनि खुल्यो वैदेशिक रोजगार कार्यालय

काठमाडौं । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै मंगलबारदेखि वैदेशिक रोजगार व्यवस्थापन कार्यालयको शाखा पनि खुलेको छ । संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेका लागि पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । यो कार्यालय सञ्चालनमा आएसँगै श्रम स्वीकृतिका लागि काठमाडौं धाइरहनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने

बुधबार भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले यस वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गरेका हुन् । उनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सहजताका लागि अब मेनपावर कम्पनीलाई पनि भैरहवामा आफ्नो कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले बुधबार भैरहवाको कार्यालयबाट कतार जाने नेवाली कामदार अस्कर अली मियाँको श्रम स्वीकृति गरेर सो कार्यालयको सेवा औपचारिक रूपमा सुचारु गरेका हुन् ।

यो कार्यालय सञ्चालनमा आएसँग भैरहवावासीको वर्षौदेखिको सपना पूरा भएको छ । मन्त्री श्रेष्ठले पनि आफू यो कार्यालयको सेवा सञ्चालन गर्ने कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दी ल्याएर सेवाग्राहीको काममा थप सहजता प्रदान गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागिसकेको बताए ।

वैदेशिक रोजगारिमा जाने व्यक्तिलाई सीप सिकाउनका लागि आगामी बजेटमार्फत सातै प्रदेशमा सीपमूलक तालिमको कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने दाबी गरे ।

भैरहवामा कार्यालय खोलेर मात्रै नहुने भन्दै सांसद प्रमोद यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरी दिन आग्रह गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले अब यस कार्यालयको कामलाई सहज ढंगले अघि बढाउन मेनपावर कम्पनी पनि आवश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकाले सरकारले सुविधा दिएमा मेनपावर कार्यालय खोल्न तयार हुने बताए । उनले देशमा मेनपावर कम्पनीलाई बदमान गराउने गिरोह रहेकोले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारबाही गर्नुपर्ने बताउँदै मेनपावर कम्पनीले वैदेशिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकोले विचौलियाबाट जोगिन सर्वसाधारणलाई आग्रह गरे ।

भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले सातामा तिन दिन उडान भरिरहेको छ । माग बढ्दै गएको खण्डमा छिट्टै अन्य देशका नियमित उडान भर्ने तयारीमा सरकार लागि रहेको मन्त्रालयले जनाएको छ । यो विमानस्थल सञ्चालनमा आएपछि विदेशबाट आएका विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्न नसकेर भारतको दिल्ली जाने वा घन्टौंसम्म जोखिम मोलेर आकाशमा उडिरहनुपर्ने बाध्यता हटेको छ ।

सो कार्यक्रमा नेपाली कांग्रेसका नेता अष्ठभुजा पाठक, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी