एमालेभित्रै ‘शकुनी, मिरजाफर र मिरकासिम’: ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका ‘शकुनी’हरूका कारण स्थानीय तह निर्वाचनमा धेरै पालिकामा पराजय बेहोर्नुपरेको टिप्पणी गरेका छन् ।

एमालेबाट जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, पालिकामा प्रमुख, उपप्रमुखमा विजयी भएकालाई पार्टीद्वारा बिहीबारदेखि काठमाडौंमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रैका शकुनीहरूका कारण धेरै ठाउँमा पराजय भोग्नुपरेको बताए ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात नभएको भए २ सय ९३ पालिकामा प्रमुख, उपप्रमुख विजयी हुने ठोकुवा उनको छ । बाह्य शक्तिसँग एमाले हराउने ताकत नभएको तर एमालेभित्रै शकुनी, मिरजाफर र मिरकासिम निस्किएको टिप्पणी उनले गरेका छन् ।

‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झन्डै दुई तिहाइमा थियौं । तर, भित्रबाटै शकुनीहरू निस्किए, मिरजाफरहरू निस्किए र मिरकासिमहरू निस्किए,’ ओलीले भने । अंग्रेजले बंगाल आक्रमण गर्दा बंगालका सेनापति मिरजाफर र मिरकासिमले अंग्रेजलाई सहयोग गरेको स्मरण गर्दै उनले यस्तो भनेका हुन् ।

एमालेभित्रबाट अन्तरघात नहुँदा २ सय ९३ पालिकामा जित्ने हिसाब अघि सार्दै ओलीले भने, ‘१९ वटा पालिकामा १ सयभन्दा कमले हारेका छौं । १८ वटा पालिकामा २ सयभन्दा कम, १५ वटा पालिकामा ३ सयभन्दा कम, १३ वटा पालिकामा ४ सयभन्दा कम र १५ वटा पालिकामा ५ सयभन्दा कम मतले पराजित भएका छौं । यदि साढे २ सय मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गथ्र्यौं ।’

पार्टी र नेतृत्वको आलोचना गरिरहेका एमाले स्थायी कमिटीका सदस्य घनश्याम भुसाललाई लक्षित गर्दै अध्यक्ष ओलीले समय आएपछि हिसाबकिताब हुने चेतावनीसमेत दिएका छन् ।

‘पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ ? कसरी विस्थापित गर्न सकिन्छ ? दानवीकरण गर्न सकिन्छ, अलोकप्रिय बनाउन सकिन्छ । एकथरि मान्छेले ती कामहरू पार्टीभित्र बसेर गरिरहेका छन् । त्यसको समय आउँछ हिसाबकिताब गरिन्छ,’ भुसालतर्फ इंगित गर्दै ओलीले भने ।

उनले एमालेका मान्छेलाई निष्ठाच्युत हुन सरम लाग्नुपर्ने बताए । पार्टीले दिएको पद, ओहोदा र सुविधा प्रयोग गरेर पार्टीविरुद्ध नै एकथरि लागेको बताउँदै उनले भने, ‘अहिले पनि देखिरहनुभएको छ । कतिपय व्यक्ति पार्टीमा बसेर विरोध गरिरहेका छन् । पार्टीले दिएको पद, ओहोदा र सुविधा पोको पारिरहेका छन् । त्यो हैसियत प्रयोग गरिरहेका छन् । कसरी पार्टी र नेतृत्वको अपमान हुन्छ, कसरी विरोध हुन्छ ? हो त्यही–त्यही काम गरिरहेका छन् ।’

अध्यक्ष ओलीले चुनाव नभई एमालेका प्रमुख, उपप्रमुखले महासंग्राम जितेको संज्ञा दिएका छन् । ‘तपार्इंहरू यसपल्ट चुनाव मात्रै लड्नुभएन, महासंग्राममा भाग लिनुभएकको हो । लडेर आउनुभएको हो, तपार्इं एउटा अधिनायकवादविरुद्ध लड्नुभएको हो । लोकतन्त्रको नाम जप्ने तानाशाही दमनकारी शासनविरुद्ध लड्नुभएको हो । सत्ताको आडमा सम्पूर्ण प्रतिक्रियावादी शक्ति एक भएर लागेको अवस्थामा, बुथ कब्जा गरिएको, प्रशासनको आडमा पैसा बाँडिएको र मतपेटिका फेरिएको अवस्थामा चुनाव लड्नुभएको हो,’ उनले भने ।

एमालेको अस्तित्व मेटाउन खोजिएको तर त्यसविरुद्ध जित हासिल गरिएको उनले बताए । आज पनि देशको प्रमुख राजनीतिक शक्ति भएर एमाले आएको बताउँदै उनले भने, ‘सिध्याइन्छ भनेको एमाले एकातिर अरू सबै शक्ति अर्कातिर थिए । एउटा महासंग्राम स्थानीय तहको निर्वाचनका रूपमा एउटा महासंग्राम आयो, हामीले लड्यौं ।’

उनले स्थानीय तहको निर्वाचनमा कुप्रचार, षड्यन्त्र, जालेझेलका हथकन्डा अपनाइएको आरोप लगाए । यसैगरी, अपहरण गर्ने, हत्या गर्ने, कुट्ने, पिट्ने, बुथ कब्जा गर्ने अनेक अपराधिक क्रियाकलाप र राज्यको कुपरिचालन तथा दुरुपयोग गरिएको ओलीले बताए ।

बिहीबारदेखि सुरु भएको प्रशिक्षण शुक्रबारसमेत हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी