स्वतन्त्र उम्मेदवारी फेसन मात्रै कि अर्थपूर्ण ?

सागर पण्डित

स्थानीय तहको दोस्रो निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले काम गर्न थालेसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था थप सृदृढ र संस्थागत भएको छ । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले जनताको भावना बुझेर काम गर्न सकेको खण्डमा संघीय शासन प्रणाली अझै सशक्त र प्रभावकारी भएर अघि बढ्छ । त्यसैले पनि जनप्रतिनिधिले सबै खाले लोभ र लालच त्यागेर काम गर्नुपर्छ ।

स्थानीय तहमा काठमाडांै, धरान र धनगढीलगायतका केही स्थानको मेयरमा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेपछि त्यसलाई विभिन्न अर्थमा हेर्न थालिएको छ । विशेषगरी राजनीतिक दल र तिनका नेतामा देखिएको विकृति, विसंगति र भ्रष्ट प्रवृत्तिका कारण स्वतन्त्र रूपमा उम्मेदवारी दिएकाले जितेको अर्थमा हेरिएको छ । तर, समग्र राजनीतिलाई त्यो रूपमा हेरिनु गलत हो । केही स्थानमा स्वतन्त्रले जितेको भए पनि देशभरका अधिकांश स्थानमा विभिन्न राजनीतिक दलका उम्मेदवारले नै निर्वाचन जितेका छन् । हो राजनीतिक दल र तिनका नेता सच्चिनुपर्छ । उनीहरू सुशासनमैत्री हुनैपर्छ । तर, अहिले देखिएको केही खराब प्रवृत्तिका कारण सिंगो राजनीति नै प्रदूषित भएको भनी विश्लेषण गर्नुचाहिं गलत हुन्छ । हामीले दलका नेतालाई लगातार खबरदारी गर्दै सच्चिन दबाब दिने हो तर राजनीतिक प्रणाली र संघीय शासन प्रणाली नै खराब भयो भन्ने सन्देश चाहिं कसैले पनि कतैबाट दिनुहुँदैन ।

अब मुलुक बिस्तारै बिस्तारै संघीय निर्वाचनतर्फ होमिँदै छ । सम्भवतः आगामी कात्तिक अन्तिम तथा मंसिरको दोस्रो सातासम्म संघीय निर्वाचनको मिति तोक्ने गरी सरकारअघि बढिरहेको छ । यस्तो माहोलमा राजधानी काठमाडांैलगायत देशका विभिन्न भागमा राजनीतिक दलइतरका व्यक्तिले स्वतन्त्र रूपमा उम्मेदवारी दिनेगरी घोषणा गर्न थालेका छन् । स्वतन्त्र उम्मेदवारी दिने काम फेसन जस्तै बन्न पुगेको छ । हिजोका दिनमा कुनै प्रकारको सामाजिक सेवामा नलागेका, जनताका पिरमर्कालाई वास्तविक रूपमा आत्मसात गर्न नसकेमा, आफ्नो स्वार्थलाई पूरा गर्न बाहिरी रूपमा समाजसेवा गरेको भान पार्न सफल भएका केही व्यक्तिले संघीय निर्वाचनमा उम्मेदवारीको घोषणा गरिरहेका छन् । हुन त हरेक नेपाली नागरिकलाई निर्वाचनमा भाग लिन र चुनाव लड्न पाउने अधिकार छ । त्यो अधिकारअनुसार जसले पनि उम्मेदवारी घोषणा गर्न सक्छ ।

हामीले दलका नेतालाई लगातार खबरदारी गर्दै सच्चिन दबाब दिने हो तर राजनीतिक प्रणाली र संघीय शासन प्रणाली नै खराब भयो भन्ने सन्देश चाहिं कसैले पनि कतैबाट दिनुहुँदैन ।

यसलाई सामान्य रूपमा लिनुपर्छ । तर, हिजोको दिनमा बालेन, हर्कहरूले स्वतन्त्र रूपमा निर्वाचन जितेकाले हामीले पनि जितिहाल्छांै भनेर कसैले उम्मेदवारी दिने रहर गर्छ भने त्यो रहरले सफलता हासिल गर्न निकै कठिन हुनेछ । काठमाडौंको स्थानीय तहको निर्वाचनमा यहाँका जनताले हिजो बालेनलाई भोट हालेकै भरमा अन्य स्वतन्त्रलाई भोट हाल्छन् भनेर विश्वास गर्न सकिँदैन । अहिले जसरी स्वतन्त्र संघीय निर्वाचनमा लड्ने भन्दै फेसनका रूपमा आइरहेका छन् यस्तो प्रवृत्तिले बालेन र हर्कहरूको धरातललाई नै धुमिल बनाइदिन सक्छ ।

यद्यपि, प्रमुख राजनीतिक दलले हिजो काठमाडांैको मेयरमा उम्मेदवारी दिँदा गम्भीर ध्यान पु¥याउन नसक्नु, युवालाई उठाउन नसक्नु र आफ्नो पकेटको व्यक्तिलाई हुचुवामा नै टिकट दिने काम गर्नुले पनि दलीय उम्मेदवार पराजित भएका हुन् । तर, आगामी प्रतिनिधिसभाको निर्वाचनमा दलले पुरानो प्रवृत्ति सच्याएर जनतामा राम्ररी भिजेको, वास्तविक अर्थमा राजनीति र समाजसेवा गरेको सकेसम्म युवापुस्ताका व्यक्तिलाई टिकट दिन सके भने स्वतन्त्रले अवसर नपाउने अवस्था रहन्छ तर पुरानै ढर्राअनुसार आफ्ना पकेटका तर जनताबाट तिरस्कारमा परेका व्यक्तिलाई उम्मेदवार बनाइएको खण्डमा दलका त्यस्ता उम्मेदवार पराजित हुने देखिन्छ ।

प्रमुख राजनीतिक दलले अझै पनि स्थानीय तहको निर्वाचनमा राजधानी काठमाडांैलगायत अन्य केही प्रमुख सहरमा किन स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे ? भन्ने’bout गहन रूपमा विश्लेषण गरेका छैनन् । यो उनीहरूको कमजोरी हो । राजनीति गरेर आएका व्यक्ति खारिएका हुन्छन्, कुनै न कुनै रूपमा समाजसेवा गरेका हुन्छन् । गाउँठाउँको समस्या उनीहरूले राम्ररी बुझ्नेगर्छन् भन्ने सोचाइ यतिखेर दलका केही नेतामा देखिएको भ्रष्ट प्रवृत्ति र चरित्रका कारण गलत सावित हुन पुगेको छ र यो पनि दुःखद हो । दलमा देखिएको यस्तो प्रवृत्तिका कारण इनिगिनेहरूले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएर दललाई चुनौती दिएका छन् ।

यदि स्वतन्त्रहरूले वास्तविक रूपमा समाजसेवा गर्नकै लागि निर्वाचनमा भाग लिन लागेका हुन् भने उनीहरूले सुरुदेखि नै दलका उम्मेदवारभन्दा पृथक शैलीमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । उनीहरूले आफ्नो र परिवारको नाममा रहेका सबै सम्पति विवरण सार्वजनिक गर्नुपर्छ ।

यो राजनीतिक दल र तिनका नेताका लागि लाजमर्दो कुरा हो । राजनीतिक दलका नेता भ्रष्ट भए भनेर विकल्प खोज्ने जनताले स्वतन्त्रका नाममा कतै त्यस्तै भ्रष्ट र आडम्बरी व्यक्तिलाई त जिताउँदै छैनौं ? भन्ने’bout पनि गम्भीर चिन्तन मनन गर्नुपर्छ । स्वतन्त्रबाट उम्मेदवारी दिएकाको सात पुस्ते विवरण हेर्नुपर्छ । राजनीतिक दलबाट गल्ती गरेका व्यक्तिको जवाफदेहीता त राजनीतिक दलले नै लिन सक्छन् तर स्वतन्त्रका नाममा निर्वाचन लडेकाको जवाफदेहीता कसले लिने ? यो गम्भीर प्रश्न हो ।

यदि स्वतन्त्रले वास्तविक रूपमा समाजसेवा गर्नकै लागि निर्वाचनमा भाग लिन लागेका हुन् भने उनीहरूले सुरुदेखि नै दलका उम्मेदवारभन्दा पृथक शैलीमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । उनीहरूले आफ्नो र परिवारको नाममा रहेको सबै सम्पति विवरण सार्वजनिक गर्नुपर्छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिन सक्नुपर्छ र आगामी दिनमा त्यसलाई व्यवहारमा उतार्ने गरी अहिलेदेखि नै त्यसको प्रत्याभूति दिन सक्नुपर्छ । दलका उम्मेदवार खराब र भ्रष्ट भए भन्दैमा त्यसविरुद्ध उम्मेदवारी दिनेहरू सामाजिक तथा नैतिक रूपमा पनि निश्कलंक हुनुपर्छ ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका व्यक्ति नैैतिकवान, इमानदार र कुनै विवादमा नपरेका छन् भने त्यस्ता व्यक्तिलाई भने जनताले जिताउन पनि सक्छन् तर विवादित र भ्रष्ट प्रवृत्तिका व्यक्ति स्वतन्त उम्मेदवारको फेसनका आधारमा मात्रै उम्मेदवारी दिएको खण्डमा त्यस्ता व्यक्तिको हार निश्चित छ । स्वतन्त्र हुँदैमा जित्छौ भन्ने मनोविज्ञान गलत हो । राजनीतिक दलले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएभन्दा असल र अझै युवा पंक्तिलाई अवसर दिने हो भने स्वतन्त्र उम्मेदवारबाट डराउनुपर्ने अवस्था रहँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस