सुरक्षित गर्भपतन कति सञ्चारमैत्री ?

सुरक्षित गर्भपतन सञ्चारमैत्री पटक्कै पाइँदैन । सुरक्षित गर्भपतनलाई सञ्चारमाध्यमले प्रेरित गर्नुको सट्टा भ्रम छर्ने काम गरेका छन् । कुनै पनि राम्रा कुराको प्रचार र खराब कामको आलोचनाका लागि सञ्चारमाध्यम जत्तिको प्रभावकारी अरु माध्यम हुनै सक्दैन । सञ्चारका माध्यम पनि धेरै छन् । शब्द, भिडियो, तस्विर, कार्टुन र इन्फोग्राफी आदि ।

भनिन्छ हजार शब्द बराबर एउटा तस्विर काफी छ । यथार्थ पनि यही हो । हजार शब्दले व्यक्त गर्न नसकेको कतिपय प्रसँग एउटै तस्विरले प्रष्ट्याइदिन्छ । सञ्चारमाध्यममा लेखिएका कुनै पनि कुरा पढ्नका लागि अक्षर चिनेकै हुनुपर्छ तर, तस्विर मात्रै त्यस्तो चिज हो जुन बुझ्ने सामथ्र्य अक्षर नचिनेका मान्छेले पनि राख्न सक्छन् । त्यही कारण भनिन्छ तस्विर चयनमा सम्पादक चनाखो र सचेत हुनुपर्ने देखिन्छ ।

भिडियो सञ्चारको सशक्त माध्यम हो । आम मानिसले सजिलोसँग बुझ्न र बुझाउन सकिने भएकाले भिडियो सशक्त माध्यम बनेको हो । तर यो सशक्त माध्यम सुरक्षित गर्भपतनका लागि उपयोग भएको पाइँदैन । झन्डै ६ वर्षअघि एबीसी न्यूजले राखेको एउटा २८ मिनेटको भिडियोको थमबेल हेरियो भने भिडियो खोल्नै हात अघि बढ्दैन । भलै भित्रका सामाग्री उपयोगी छन् ।

सुरक्षित गर्भपतनका सन्दर्भमा नेपाली मिडिया नराम्ररी चुकेको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी बताउँछन् । ज्ञानको अभावमा सञ्चारमाध्यम चुक्नु दुखद् हो, महासचिव पुरीले भने, ‘सञ्चारकर्मीसँग सबै कुराको पूर्ण ज्ञान हुँदैन, सुरक्षित गर्भपतन समाजमा दूरगामी प्रभाव छाड्ने विषय हो, त्यसैले उनीहरुको सचेतना अभिवृद्धिमा ध्यान दिन त्यत्तिकै जरुरी हुन्छ ।’

मुलधारकै मिडियामा सुरक्षित गर्भपतनसँग सम्बन्धित समाचारमा यति विभत्स तस्विर (स्केच) राखिएको छ । त्यो तस्विर देख्ने जोसुकैले सुरक्षित गर्भपतनलाई आतंकको रुपममा बुझ्ने निश्चित छ । सञ्चार माध्यमले प्रकाशन गरेका ती तस्विर यस्तो छ भनेर पुनः प्रकाशन गर्नु उचित हुन्न । सुरक्षित गर्भपतनमा वास्तविक पात्र सार्वजनिक हुन नचाहने भएकाले प्रायः स्केच प्रयोग भएको पाइन्छ । स्केच यति दयनीय हुन्छन्, जुन हेरियो भने समाचार पढ्नै मन लाग्दैन । केही स्केचेको व्याख्या मात्रै यहाँ गरिएको छ ।

‘पितृसत्तात्मक सोचका कारण ‘गर्भपतन गर्नु सामान्य विषय नभई सामाजिक प्रतिष्ठाविरुद्धको अपराध’ जस्तोगरी गढेको छ । यसको प्रभावबाट सञ्चारकर्मीहरु पनि अछुतो रहन सकेका छैनन् ।

‘सुरक्षित गर्भपतन गराउने बढे’ शीर्षकमा गोरखापत्र दैनिकको २०७९ असार १ गते अनलाइन समाचार प्रोटलमा एउटा समाचार सम्प्रेषण भएको थियो । सोही समाचारमा जोडेर दुईवटा स्केच राखिएको छ । पहिलोमा गर्भवती महिला राखिएको छ भने अर्को स्केचमा महिलाको पाठेघरमा फलामको सुइरो घुसारेर घुमाउदै गरेको देखाइएको छ ।

अर्को एउटा अनलाइनमा ‘सुरक्षित गर्भपतन गराउने घटे’ शीर्षकमा बैतडी डेटलाइनमा समाचार छ । उक्त समाचारको स्केचमा गर्भमा रहेको भ्रुणलाई फलामको सनासोले च्यापेर निकाल्दै गरेको देखाइएको छ ।

‘नेपालमा प्रत्येक वर्ष ६८ हजार बढी महिलाले लिन्छन् सुरक्षित गर्भपतन सेवा’ शीर्षकको अर्को समाचार छ । जुन समाचारको स्केचमा दुई हातमा शिशुलाई राखेको स्केच बनाइएको छ ।

बराह क्षेत्र नगरपालिकामा रहेको चतर अस्पतालको वेभसाइटमा सुरक्षित प्रसुती तथा सुरक्षित गर्भपतन सेवा शीर्षकको सन्देशमा यति विभत्स स्केच राखिएको छ । जहाँ पाठेघरभित्र रहेको शिशुलाई टाउकोमा समातेर बाहिर तान्दै गरेको देखाइएको छ । इन्टरनेटमा सर्च गर्दै जाँदा यस्ता विभत्स भिडियो, तस्विर र स्केच प्रशस्त भेटिन्छन् । ती तस्विर र स्केचले कतैबाट पनि सुरक्षित गर्भपतनका लागि अभिप्रेरित गर्दैन ।

गर्भपतन अझै ‘असामान्य’
नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको दुई दशक बितिसकेको छ । गर्भपतनले १० असोज २०५९ बाट कानुनी मान्यता पाएसँगै २०६० मा सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति बनेको थियो । यही नीतिका आधारमा २०७३ देखि सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सेवा दिँदै आएका थिए । २०७५ मा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन जारी भयो । २०७७ मा नियमावली बनेर २०७८ मा ‘सुरक्षित गर्भपतन सेवा कार्यक्रम’ व्यवस्थापन निर्देशिकासहित जारी भयो ।

तर, अझै पनि गर्भपतनको सवाल समाजमा समान्य बन्न सकेको छैन । गर्भपतनपछि महिलाप्रतिको सामाजिक दृष्टिकोण अझै असामान्य छ । ‘पितृसत्तात्मक सोचका कारण ‘गर्भपतन गर्नु सामान्य विषय नभई सामाजिक प्रतिष्ठाविरुद्धको अपराध’ जस्तोगरी गढेको छ । यसको प्रभावबाट सञ्चारकर्मीहरु पनि अछुतो रहन सकेका छैनन् । यही प्रभाव उनीहरुको लेखन र तस्बीर छनोटमा देखिन्छ’, स्वस्थ्य पत्रकारिताका अग्रज तथा हेल्थ टुडेका प्रधान सम्पादक पदमराज जोशी बताउँछन् ।

गर्भपतनः प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित बृहत नेपाली शब्दकोषमा यसको अर्थ लेखिएको छ– गर्भ तुहाउने काम, अधिग्रो जाने काम । यसको आशय हो स्वेच्छाले वा आफैं कुनै कारण समय नपुग्दै गर्भ पाठेघरबाट बाहिरियो भने गर्भपतन भनिन्छ । यसरी तुहिने गर्भ सुरक्षित होस् र यही कारण महिलाको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भनेर सरकारले वृहत छलफलपछि सुरक्षित गर्भपतन सेवा सुरु गरेको थियो । तर सुरक्षित गर्भपतनको साबदिक अर्थ प्रज्ञा प्रतिष्ठानले बृहद नेपाली शब्दकोषमा अहिलेसम्म समावेश गरेको पाइँदैन ।

सुरक्षित गर्भपतनको सन्दर्भमा मिडियाकर्मीलाई ज्ञान नभएरै यस्ता तस्विर र स्केचले पटक–पटक निरन्तरता पाएका हुन् भन्ने कुरा पुष्टि भइसक्यो । यी विषयमा स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालिन विभिन्न निकायले मिडियालाई सुरक्षित गर्भपतन’bout साक्षर गराएको भए पक्कै यो स्थिति आउने थिएन । आशा गरौं आगामी दिनमा सुरक्षित गर्भपतनको विषयमा अझै धेरै बहस हुनेछ र सुरक्षित गर्भपतनले हाम्रै छोरी चेली सुरक्षित हुने हुने भन्ने मान्यता स्थापित हुनेछ । त्यसपछि सञ्चारकर्मी सचेत हुनेछन् । त्यसपछि असुरक्षित गर्भपतन सञ्चारमाध्यममा प्रेरणादायी भएर प्रस्तुत हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपा पनि चुनावी गठबन्धनतर्फ