पद्धतिको अनुमोदन र अतृप्तलाई उपेक्षा

हालै सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले निर्लज्जता, ढाँट, तिलस्मी लफ्फाजी र बतासे गफ्फाजीलाई तिरस्कार गरेका छन् । बाबुबाजेको नामको ब्याज खान उत्सुकले चोटिलो जवाफ पाए । जनताले अभिमान र अहंकारलाई अस्वीकार गरेका छन् । अतृप्त र अनन्त आशक्तिको तिरस्कार भएको छ । निर्वाचनले युवा नेतृत्वको चाहना देखाएको छ । निर्वाचनमा अभिमान, एकलौटी, लोभानीपापानी र एकाधिकारको उपेक्षा भएको छ । ठाउँठाउँमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनतालाई हेप्ने प्रवृत्तिलाई दरो जवाफ दिइएको छ । समग्रमा यस निर्वाचनले प्रचलित राजनीतिक पद्धतिको अनुमोदन गर्दै हाल नेतृत्वमा रहेका वयोवृद्ध नेताप्रति उदासिनता प्रकट गरेको छ । किन्तु, त्यो उदासीनतालाई बुझेर अघि बढ्ने क्षमता र इरादा वर्तमान नेतामा छैन ।

भारतका सुप्रसिद्ध जैनमुनि तरुण सागरले ‘आपकी अदालत टीभी’ कार्यक्रममा भनेका थिए, ‘म भगवान पाउन घरबार छाडेर हिडें, तपाईं घरबार पाउनका लागि भगवान छाडेर हिंड्नुभयो ।’ हाम्रा कतिपय वयोवृद्ध नेता आफ्नो जल्दोबल्दो युवावस्थामा जनअधिकारका लागि लड्न घरबार छाडेर हिंडेका थिए । परन्तु सत्तामा पुगेपछि त्यो त्याग आशक्तिमा परिणत भयो । युवावस्थामा घरबार त्याग्नेले बुढेसकालमा आएर दरबारका लागि लोकतान्त्रिक संस्कृति त्यागे । उनीहरू जुन प्रवृत्तिविरुद्ध लडेका थिए, आज त्यही प्रवृत्तिका संवाहक बन्न पुगे ।

यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दुःखद पक्ष हो । यिनै अतृप्त आशक्तिका प्रतीकको क्रियाकलापका कारण जनता निराश भए । लोकतान्त्रिक प्रणालीलाई जीविकोपार्जनको जरिया बनाउन उद्दत केही व्यक्तिको स्वार्थी प्रवृत्तिले जनतालाई विरक्त बनायो । जनता चाहन्थे कि कसैले तिनीहरूको झाँको झारोस् । कतिपय मानिसले ती आशक्त, अहंकारी र गैरजिम्मेवार नेताको खेदो गर्दा जनताले निकै वाहवाही पनि गरे । त्यस्ता व्यक्तिलाई सुन्ने र थपडी बजाउनेको जमात पनि ठूलो हुँदै गयो । त्यो प्रचलित पद्धतिको विरोध नभई कुमार्गी नेताप्रतिको सांकेतिक विद्रोह मात्र थियो । तर, ती झाँको झार्ने व्यक्तिले त्यो विद्रोहलाई पद्धतिकै विकल्प खोजेको रूपमा बुझे ।

युवावस्थामा घरबार त्याग्नेले बुढेसकालमा आएर दरबारका लागि लोकतान्त्रिक संस्कृति त्यागे

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एक अन्तर्वार्तामा भनेका थिए, ‘सबै दलको स्थित लथालिंग छ । हामी एक सय एक प्रतिशत सफल हुन्छौं । जसले भ्रष्टलाई भोट दिन्छन्, तिनका परिवारले दुःख पाउँछन् । देशको मूल नीति राजनीति नै भ्रष्ट छ । राजनीतिको रूपान्तरण नगरी देश बन्दैन ।’ रविन्द्र मिश्र निकै पढेलेखेका, प्रबुद्ध र राष्ट्रप्रति इमानदार मानिस हुन् । उनी प्रभावशाली व्यक्तित्वका धनी छन् । उनीसँग देश निर्माणको सानो ‘आइडिया’ पनि छ । उनी इमान, जमान र सदाचार पालन गर्ने असल मानिस हुन् । उनलाई मन पराउने व्यक्तिको संख्या पनि ठूलो छ । मिश्रले काठमाडौं महानगरपालिकाको मेयर पदमा सक्षम र भिजन भएकी महिलालाई उम्मेदवार बनाएका थिए । महानगरको विकासका लागि उनले प्रस्तुत गरेको खाका अरूको भन्दा आकर्षक थियो । ती उम्मेदवारको प्रस्तुतिको प्रशंसा पनि भयो । तर, त्यो सारा प्रयत्न मतदानको बखतमा साकार हुन सकेन । राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफ्नै रहेको स्वीकार गर्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिए ।

लोकतन्त्रमा व्यक्ति असल र सक्षम हुनु मात्र पर्याप्त हुँदो रहेनछ । रविन्द्र मिश्रलाई सर्वसाधारण जनताले मन पराए । वर्तमान सत्ता र शक्तिको केन्द्रबिन्दुमा रहेका नेताको उनले सबल रूपमा उछितो काढे । उनको त्यो प्रखर आलोचनात्मक चेत देखेर मानिस निकै प्रभावित पनि भए । परन्तु, त्यो प्रशंसा र वाहवाही ऐन मौकामा काम लागेन । जनतालाई उनी त मन परे, तर उनले अंगीकार गर्न खोजेको पद्धति मन परेन । उनलाई माया गर्ने मतदाताले उनले माया गरेको ‘राजसंस्थासहितको हिन्दु अधिराज्य’को अवधारणालाई माया गर्न सकेनन् । भनिन्छ, राजनीति भ्रष्ट भयो भने आन्दोलनको जन्म हुन्छ र त्यही आन्दोलन नै भ्रष्ट राजनीतिको पतनको कारण बन्दछ । रवीन्द्र मिश्रमा त्यो ल्याकत त थियो, किन्तु उनले समयको पदचापलाई चिन्न सकेनन् । अंग्रेजी, पत्रकारिता र अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका प्रबुद्ध व्यक्तिले प्रस्तुत गरेको ‘राजनीतिक पद्धतिको मेनु’ अस्वीकृत भयो । मिश्रकै शब्दमा जनताले फेरि पनि ‘मम’ नै मन पराए ।

अहिले हाम्रो पद्धतिमा अनेकौं विसंति छन् । नेतामा दम्भ र स्वेच्छाचारिताको प्रचुरता छ । वृद्धावस्थामा पुगेका, रोगले ग्रस्त भएका, स्मरणशक्ति क्षीण भएका र बारम्बार हार बेहोरेका मानिसहरू पनि मैदानमा डटिरहेका छन् । सत्ता र शक्ति पाए सम्पदा हात लाग्छ भन्ने मानसिकता छ । लोलुपता, आशक्ति र लिच्चडपनाको सीमा छैन यहाँ । जनतामा आक्रोश छ । परन्तु, जनताको त्यो आक्रोश प्रणालीप्रति नभई नेताप्रति हो । पद्धतिको विकल्प खोज्नेका कुरा सुनेर स्यावास् स्यावास् भन्नु त फगत आफ्ना स्वेच्छाचारी नेताप्रतिको विद्रोह मात्र थियो । वैकल्पिक राजनीतिक पद्धतिको वकालत गर्ने लाखौं ‘फलोवर’हरू रहेका कथित प्रखर नेता निर्वाचन परिणाम देखेर हेरेको हे¥यै भए ।

पार्टीका जुझारु स्थानीय नेता वडामा समेत प्रतिस्पर्धा गर्न वञ्चित हुनुका साथै हातै भाँचिदिएसरी मन नपरेको चुनाव चिह्नमा भोट हाल्ने उर्दी जारी गर्न बाध्य भए

उनीहरूको राजनीतिक सोच मतको माध्यमबाट अस्वीकृत भयो । वैकल्पिक राजनीतिक पद्धतिको वकालत गर्ने युवा नेताले बुझ्नुपर्छ कि व्यक्तिगत लोकप्रियता राजनीतिक पद्धति नै परिवर्तन गर्ने अभियानको संवाहक बन्न सक्दैन । उनीहरूले पद्धतिको अगाडि व्यक्ति गौण हुन्छ भनेर बुझ्नु आवश्यक छ । लोकतन्त्रको अर्को सुन्दर दृश्य देख्न पाइयो यस निर्वाचनमा । मै हुँ भन्ने दिग्गज आफ्नै घरमा बेस्मारी चुटिएका छन् । आफ्नै टोल छिमेकका जनताले गोप्य मतदानको मौका छोपेर मिठो थप्पड हानेका छन् । मैले जस्तोसुकै उम्मेदवार उठाए पनि सबैले मान्नुपर्छ भन्ने अहंकारले धूलो चाटेको छ ।

लोकतन्त्रमा स्वतन्त्र उम्मेदवार हुन पाइन्छ । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी पनि भए । अत्यन्तै धेरै ठाउँमा स्वतन्त्रले जित्न पुगे भने पद्धतिको असफलता भनेर बुझ्नुपर्ने हुन्छ । अहिले केही पालिकामा मात्र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अहंकारी र स्वेच्छाचारी नेताका लागि यो ठूलो सबक हो । यो जनप्रहार अत्यन्त आवश्यक थियो । दलीय पद्धतिले स्वतन्त्र उम्मेदवारलाई स्वीकृति मात्र दिन्छ, तर प्रोत्साहित गर्दैन । संगठनबिनाको जनप्रतिनिधिलाई काम गर्न कठिन हुन्छ । यसको एउटा राम्रो पक्ष के छ भने संगठनको अभाव हुने हुँदा नीतिगत बदमासी हुने डर कम हुन्छ ।

आज वामपन्थी पार्टी टुटफुटको घाउले पीडित भएका छन् । आन्तरिक प्रतिस्पर्धामा हारे पनि निर्णायक हैसियत नै चाहिने र भरसक आजीवन पदमै रहने आशक्ति छ । निर्वाचनमा पराजित हुनेले पार्टी फुटालेर सानो झुन्डकै भए पनि नायक हुने प्रवृत्ति छ । मतदाता तितरबितर हुन बाध्य पारिएका छन् । उम्मेदवारवादमा विश्वास गर्ने गैरकम्युनिस्ट मतदाताको सीमित विकल्पको फाइदा नेपाली कांग्रेसले खुब उठाइरहेको छ । लुसुक्क गएर रुखमा भोट हाल्ने लाखौं असंगठित मतदाता खाए खा नखाए घिचको अवस्थामा परे । यस परिस्थितिमा नेपाली कांग्रेसका नेता प्रसन्न हुनु बेकार हो । यसबाट उनीहरूलाई व्यक्तिगत लाभ त भयो होला तर पार्टीको गुणात्मकतामा ठूलो ह्रास आएको छ ।

आफ्ना समर्थक र मतदातालाई सबैभन्दा ज्यादा हेप्ने पार्टी नेपाली कांग्रेस हो । अहिलेको राजनीतिक परिदृश्यमा रहेका सबै वयोवृद्ध नेता राजनीतिबाट पन्छिएर बसे भने मात्र कम्युनिस्ट पार्टीको एकीकरण र नेपाली कांग्रेसको सुदृढीकरणमा सहयोग पुग्नेछ । वर्तमान नेताको युग चाप्लुस, लफ्फाज र पैसावालका लागि स्वर्णयुग भयो । अनेकौं पार्टीका जुझारू स्थानीय नेता वडामा समेत प्रतिस्पर्धा गर्न वञ्चित पारिए । हातै भाँचेर दिएसरी मन नपरेको चुनाव चिह्नमा भोट हाल्ने उर्दी जारी भयो । यस्तो अवस्थामा मतदाता विचलित हुनुलाई अन्तर्घात भन्न मिल्दैन । त्यो विचलन अन्तर्घात नभई एक सभ्य विद्रोह हो ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी