देशको सबैभन्दा सघन बस्ती भएको काठमाडौं महानगरपालिकामा बिरामी परेका विभिन्न स्थानका चार जना नागरिकमा हैजाको जीवाणुफेला परेको पुष्टि भएपछि यसलाई फैलन नदिन स्वास्थ्य सतर्कता अपनाउन कडाइ गरिएको छ । हैजाका जीवाणु भेटिएका चारै जनाको उपचार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भइरहे पनि बाहिर जनमानसमा भने यसले महामारीको रूप लिने हो कि भन्ने निकै जगजगी भइरहेको छ । जनस्वास्थ्यविद् तथा जनस्वास्थ्यकर्मी भने बिरामी अस्पतालमा रहेकाले यसलाई बेलैमा नियन्त्रणमा लिन सकिने विश्वासमा छन् । बिरामी बागबजारका २ जना, भोटेबहाल र डिल्लीबजारका एक÷एक जना रहेकाले ती ठाउँ बढी निगरानीमा राखिएका छन् । के कारणले हैजाको जीवाणु देखियो भन्ने कुरा अहिलेसम्म पत्ता लागि नसकेकाले मानिसमा एक खालको संशय पैदा हुन गएको छ । यसले मानसिक रूपमा तनाव उत्पन हुन पुगेको र स्वास्थ्यकर्मीलाई थप अन्योलतामा समेत पारिदिएको छ । बिरामी भेटिएका ठाउँमा खानेकुरा, पानी, उपभोग्य सामान तथा फोहर आदिमा निगरानी राखिए पनि यही वस्तु र यही ठाउँबाट यो हुन गयो भन्ने कुरा ठम्याउन गाह्रो हुन गएको छ ।
एकताका लामो समयसम्म फोहर उठ्न नसक्दा काठमाडौंमा अबका दिनमा हैजा महामारीका रूपमा फैलने भयो भन्दै निकै चिन्ता व्यक्त हुने गरेको थियो । तर, त्यसपछिलगत्तै फोहर उठाउन सुरु गरियो । फोहर उठ्ने प्रक्रिया तीव्रतामा भइरहेको र हाल हैजाको जीवाणु देखिएका ठाउँमा फोहर उठाइसकिएकाले हैजाको जीवाणु अरू कुन कारणले देखिन पुगेको हो, सोको खोजी भइरहेको छ । फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्ने पूर्वानुमान गरिए पनि त्यसको पुष्टि हुन भने बाँकी छ । तर, पनि काठमाडौं महानगरपालिका हैजाको जोखिममा रहेको देखिएकोमा चिन्ता भने सर्वत्र छाएको छ । राजधानी सहर भएकाले दिनका १०औं हजार मानिस भित्रने र बाहिरिने गर्दा हैजाले देशव्यापी रूपमा आतंक सिर्जना गर्न पनि सक्छ । यस’bout बेलैमा ख्याल गर्नु जरुरी छ । केहीका अनुमानमा लामो समयसम्म फोहोर नउठेको कारणले हैजाको प्रकोप बढेको हुन सक्ने भनिए पनि हैजा पुष्टि भएका ठाउँमा हैजाको लक्षण भएका बिरामी छन् कि छैनन् भनी खोजी भइरहेको छ ।
अहिले धारा,पानीको जार, टुबेल, मूल, उपभोग्य सामान आदिको नमुना परीक्षण गरिए पनि हैजाको जीवाणु कहाँबाट आयो, एकीन विवरण प्राप्त हुन सकेको छैन । यसले आशंकाको दायरालाई फराकिलो बनाउन पुगेपछि कतै पत्ता नलाग्दै यसले महामारीको रूप लिने त होइन भन्ने आशंकामा बल पु¥याएको छ । जनस्वास्थ्यविद् पनि परीक्षण रिपोर्ट नआउँदासम्म केही भन्न सक्ने अवस्थामा छैनन् । मुख्य गरी फोहर, खाना र पानीबाट सर्ने यो रोग क्षणभरमा फैलने प्रकृतिको हुन्छ । बजारमा सरकारी निकायका तर्फबाट शुद्ध खानेपानी खाना, प्रदूषित खानेकुरा तथा झिंगा भन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ गरे पनि जीवाणु यही ठाउँबाट र यसै कुराबाट फैलिएको रहेछ भने एकिन नहुँदासम्म मात्र अँध्यारोमा हवाइफायर गरेसरह हुने देखिन्छ । त्यसैले तीव्रतामा यसको परीक्षण सम्पन्न गरी यथार्थता पत्ता लगाई राजधानीबासीको स्वास्थ्य बर्बाद हुनबाट जोगाउने हर प्रयत्नजारी राखौं । साथै, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र शौचालयको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुने गरी प्रचारप्रसारलाई तीव्र बनाऔं ।