काठमाडौं । दुई वर्षपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नाटक महोत्सव गर्ने भएको छ । २०७६ अन्तिममा आयोजना गर्न लागिएको राष्ट्रिय र भाषाभाषीसहित दुवै नाटक महोत्सव कोरोना महामारीका कारण रोकिएको थियो । जसमध्ये यस पटक भाषाभाषीसम्बन्धी महोत्सव आयोजना हुने भएको छ ।
प्रतिष्ठानले यही १२ असारबाट १८ असारसम्म सप्ताहव्यापी ‘नेपाल बहुभाषिक नाट्य महोत्सव–२०७९’ आयोजना गर्ने भएको छ ।
महोत्सव संयोजक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी नाट्य तथा रंगमञ्च विभाग प्रमुख प्राज्ञ परिषद् सदस्य निशा शर्माले यस पटक महोत्सवका लागि प्राप्त दुई दर्जन नाटकबाट उत्कृष्ट सात नाटक चयन गरिएको बताएकी छन् ।
‘महोत्सवका लागि चयन भएका नाटकमा खस भाषा, लेप्चा भाषा, तामाङ भाषा, थारू भाषा, वाम्बूले राई भाषा, पुमा राई भाषाका रहेका छन् । नेपाली भाषाका नाटक महोत्सव प्रायः हुने तर भाषा भाषिकाका नाटकको मञ्चन नेपालमा निकै कम हुने भएकाले हामीले यस पटक महोत्सवमा भाषा भाषिकाका नाटकलाई महत्व दिएका हौं,’ प्राज्ञ परिषद् सदस्य तथा नाट्यकर्मी निशा शर्माले भनिन् ।
काठमाडौंको थापा गाउँमा रहेको आरोहण गुरुकुलको नाटक घरमा यो महोत्सव आयोजना हुने भएको छ । महोत्सवमा पहिलो दिन १२ गते लाप्चा भाषाको नाटक मञ्चन गरिने भएको छ । फिक्कलमा रहेको लाप्चा उत्थान मञ्च इमालले यो नाटक प्रस्तुत गर्दै छ ।
यस्तै दोस्रो दिन १३ गते रौतहटको थारू समुदायको नाटक कनन लता मञ्चन हुने भएको छ । यो नाटकलाई कुन्दन थारूले मञ्चन गर्दै छन् । पुरानो घर समूहले यो नाटक प्रस्तुत गर्दै छ ।
यस्तै, १४ गते महोत्सवमा ओखलढुंगाबाट वाम्बूले राई भाषाको नाटक कथा मञ्चन गरिने भएको छ । यो नाटकलाई कविराज राईले निर्देशन गर्दै छन् । वाम्बूले राई समाज ओखलढुंगाको प्रस्तुतिमा यो नाटक मञ्चन हुने भएको छ ।
महोत्सवको चौथो दिन १५ असारमा धरानबाट तामाङ भाषाको नाटक डम्फुला मञ्चन गरिने भएको छ । रंगभूमि एकेडेमी धरानको प्रस्तुति रहने यो नाटकलाई विष्णु मोक्तानले निर्देशन गर्नेछिन् ।
यस्तै, १६ असारमा महोत्सवमा पुमा राई भाषाको नाटक होङ्छा मञ्चन हुनेछ । यो नाटकलाई प्रवीण पुमाले निर्देशन गर्दै छन् । नाटक पुमा राईहरूको संस्कृतिमा आधारित हुने प्रवीणले बताएका छन् ।
यसैगरी, १७ असारमा यो महोत्सवमा इलामबाट प्रतिनिधित्व गर्दै लिम्बू भाषाको नाटक सुबिउ चरी मञ्चन गरिने भएको छ । यो नाटकलाई चेतन आङथुपो र बनेम फागोले निर्देशन गर्दै छन् । नाटकलाई चुलाचुली रंगमञ्च इलामले प्रस्तुत गर्दै छ ।
महोत्सवको अन्तिम दिन १८ असारमा जुम्लाबाट खस भाषाको नाटक कुटिरो मञ्चन गरिने भएको छ । दीपेन्द्र उपाध्यायको निर्देशनमा तयार गरिने यो नाटकलाई कर्णाली खस संस्कृति संरक्षण मञ्चले प्रस्तुत गर्ने भएको छ ।
महोत्सवलाई नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूले संयुक्त उद्घाटन गर्ने पनि संयोजक शर्माले जानकारी गराएकी छन् । महोत्सवमा सहभागी हुने नाटकलाई प्रतिष्ठानले मञ्चन खर्च स्वरूप प्रतिटोली ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । महोत्सवमा सहभागी नाट्य टोलीलाई काठमाडौंमा बस्ने र खाने व्यवस्था आफूहरूले गर्ने पनि शर्माले बताएकी छन् । महोत्सवको सहआयोजकमा आरोहण गुरुकुल रहेको पनि शर्माले जानकारी गराइन् ।