बझाङ । थलारा गाँउपालिका वडा नम्बर ७ किरमुलीखेतकी भानमतीदेवी उपाध्याय भनेर चिनिने प्यान्टुदेवी उपाध्याय अहिले ७० वर्ष पुगिन् । घरमै बसीबसी खानुपर्ने उमेरमा उनले आफ्ना लागि र ९६ वर्षीया वृद्धा सासू देउसरादेवी उपाध्यायका लागि सकी नसकी हातखुट्टा टेकेर भए पनि एक छाकको जोहो गरिरहेकीे छन् । उनको घरमा दुई सासूबुहारी छन् । २०४७ सालमा श्रीमान्को निधनपछि एकल बनेकी भानमती उपाध्यायलाई समस्यामाथि समस्याले पिरोलिरहेको छ ।
जेठो छोरा र दुई कान्छी छोरी गरी तीन सन्तानकी आमा बनेकी भानमती, श्रीमानकाे निधनपछि त्यही छोराछोरीको मुख हेरेर बुढेसकालको सहारा सम्झँदै बसिन् । तर, उनको त्यो सपना लामो समयसम्म टिक्न सकेन । २०५७ सालमा उनका जेठा छोरा रामप्रसाद उपाध्यायले बेपत्ता भएपछि उनी झन् एक्लै भएकी छन् । रोजगारीका लागि घरबाट भागेर छिमेकीसँग १८ वर्षको उमेरमा भारततर्फ लागेका रामप्रसादको अहिलेसम्म अत्तोपत्तो छैन । उनीसँगै भारत गएका साथीसंगी सयौंपटक घर फर्किए होलान् तर रामप्रसाद भने अहिलेसम्म फर्किएका छैनन् ।
एसएलसी पास गरेर भागेर भारत लागेको छोराको बाटो हेर्दाहेर्दै बुढेसकालले छोएको पत्तोसमेत नपाएकी भानमतीले छोरा घर फर्कने आशामा देवीदेउतालाई सुन, घोडा, बोका, पूजाआजा र व्रत बस्नेजस्ता थुप्रै कार्य गरिन् । तर पनि छोरो फर्किएका छैनन् । छोराकै आशामा घर कुरेरै बसेकी भानमतीका आशा डुब्न लागेको घामजस्तै निराशामा परिणत हुन थालेका छन् । उनले पुज्ने देवीदेउता तथा भगवान्प्रति पनि विश्वास गुम्न थालेको छ । छोराका लागि घर कुरेर बसेको बताउने भानमती भन्छिन्, ‘देवीदेउतालाई भाकल गरी पूजापाठ गरियो । उनकै आशामा बसेकी हुँ । अब त छोरो आउने आश पनि मरिसक्यो । बुढेसकालको सहारा छोराको अत्तोपत्तो छैन । छोरीहरू पराइघर गइसकेका छन् । यो अवस्थामा आएर एक्लै बन्नु परेको छ ।’
गहभरि आँसु पार्दै भनिन्, ‘सिलेट (ढुङ्गा)ले छाएको घर पनि बर्खा पानी परेको समयमा बस्न लायक हुँदैन । बाहिरबाट आएको सबै पानी घरभित्र पस्छ । मृत्युको मुखमा पुगेकी हामी सासूबुहारी घरभित्र पनि छाता ओडेर बस्नुपर्ने बाध्यता छ । छोरा भइदिएको भए घर बनाउँथ्यो होला । मर्ने उमेरसम्म छोरालाई कुरेर बसियो । छोरा घरमा आइपुगेन । अब त मर्ने बेला चितामा आगो लगाउने मान्छे पनि छैन । एउटै छोरा थियो । उनको अत्तोपत्तो छैन ।’ यदि कतै भए म मर्न लागेँ, छोरा घर फर्क भन्दै आफ्नो शिर दुई खुट्टाको बिचमा राख्दै उनी डाको छाडेर रोइन् । घुक्क घुक्क गर्दै भनिन्, ‘हे भगवान्, मेरोजस्तो कसैलाई पनि नहोस, मर्ने बेलामा पनि चितामा आगो लगाउने मान्छे छैन ।’
रुढीवादी परम्पराले थला परेको समाजमा अहिले पनि छोरा मान्छेले नै काजकिरिया गर्नुपर्छ भन्ने मान्यता बझाङ जिल्लाका सबै ग्रामीण बस्तीमा छ । छोरी मान्छेले आफ्नै जन्म दिने बुबाआमा तथा आफन्तको चिहानसम्म पुग्ने अनुमति अहिले पनि समाजले दिएको छैन । कानुनी मान्यताका आधारमा महिलापुरुष सबै समान रहे पनि सामाजिक मान्यता र विभिन्न धार्मिक संस्कार तथा ठाउँअनुसार फरकफरक धार्मिक मान्यता रहेका छन् ।
रामप्रसाद उपाध्याय घरबाट बेपत्ता भएको २२ वर्ष पूरा भयो । ४० वर्ष उमेर पुगेका रामप्रसादको अहिलेसम्म अत्तोपत्तो छैन । उनका आफन्त छरछिमेकीले पनि खोजी गरे तर फेला पार्न सकेनन् । जीवित छन् वा केही भयो, कसैलाई जानकारीसम्म पनि छैन । छोराको बाटो कुरेर बसेकी रामप्रसादकी आमालाई भने आफ्नो चिता जलाउन छोराको बाटो हेर्दाहेर्दै छोरा आउने आशा पनि निराशामा परिणत हुन थालेको छ ।
कोखबाट जन्मिएका अरू दुई छोरीसमेत पराइघर गएपछि अहिले आमाको घरमा फर्केका छैनन्् । अहिले सामान्य सहयोग छिमेकीले गर्दै आएको भए पनि सासूबुहारीले भ्याएसम्म सबै ठाउँ छोराको खोजी गरेको स्थानीय समाजसेवी युवा नारायणप्रसाद उपाध्यायले बताए । एउटै सन्तान, त्यो पनि बेपत्ता भएपछि दुवै जनाको बुढेसकालको सहारा कोही नभएको उनको भनाइ छ । गाउँमा कोही नयाँ मान्छे आउँदा र चाडबाड आउँदा उनको घर मात्रै अँध्यारो हुन्छ । रोजगारीका लागि सुरुमा भारतको मनसुरी पहाड गएका रामप्रसाद त्यहाँबाट भारतकै देहरादुन पुगेको र त्यसपछि कहाँ गए भन्ने कुराको जानकारी कसैलाई नभएको छिमेकी धर्मदेव उपाध्यायले बताए ।