टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा ठूलो मात्रामा अनुत्पादक क्षेत्रमा बजेट बिनियोजन गरेको पाइएको छ ।
स्वास्थ्य चौकी, अस्पताल, विद्यालयहरुको स्तरोन्नतीको रकम कटौती गर्दै शहिद स्मृति भवन, शहिद गेट, शालिक, मन्दिर, तालिम, सम्मेलन र मूर्तिहरु तथा सामुदायिक भवनहरुका नाममा एक अर्ब रुपैया भन्दा बढि बजेट बिनियोजन गरिएको छ ।
बिगतमा मन्दिरहरुमा पाँच देखि १० लाख रुपैया बिनियोजन गर्दै आएको प्रदेश सरकारले यस पटक एउटै मन्दिर र धामको निर्माणमा चार करोड रुपैयाभन्दा बढि बिनियोजन गरेको छ ।
प्रदेश सरकारले प्रदेशकै नमूना बयलापाटा अस्पतालको रकम ८ करोडबाट काटेर चार करोड रुपैया बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले कञ्चनपुरको भम्केनी धामका लागि बिभिन्न शिर्षकमा चार करोड रुपैयाँ भन्दा बढि बिनियोजन गरेको छ ।
यस्तै बजेटमा तालिम र सम्मेलनका नाममा दुई करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विषयक अनुसन्धान तथा विकास सम्बन्धि कार्यशालाका ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक मामिला मन्त्रालयले आर्थिक विकास तथा समृद्धि सम्बन्धि बहस, पैरवी तथा संवादका लागि ५० लाख रुपैयाँ, बजेट तर्जुमा सम्बन्धि छलफलमा १८ लाख रुपैयाँ, बजेट कार्यान्वयन दक्षता अभिवृद्धि कार्यक्रमका लागि १८ लाख, योजना तथा बजेट तर्जुमा सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रमका लागि ३६ लाख, पीएलएमबीआईएस सम्बन्धि अभिमुखीकरण तथा तालिमका लागि १८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसैगरी बजेटमा सुदूरपश्चिमका ९ वटै जिल्लाका विभिन्न स्थानमा पुष्पलाल र मदन–आश्रित स्मृति भवनका निर्माणका लागि तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । डोटीमा माक्सवादी अध्ययन फाउण्डेसनको ई–लाइब्रेरी र पुस्तकालय निर्माण व्यवस्थापनका लागि ५० लाख रुपैयाँ र भ्रमण र अनुगमनमा ५२ लाख ५० हजार रुपैया बिनियोजन गरेको छ ।
प्रदेश सरकारका मन्त्रीले मनपरी रुपमा बजेट विनियेजन गरेको भन्दै सत्ता गठबन्धन तथा प्रतिपक्षी दलका प्रदेश सांसदले बिरोध जनाउँदै आएका छन् । बजेट प्रदेशसभामा टेबुल भएपनि बिरोधका कारण प्रदेशसभा बैंठक बस्न सकेको छैन् ।