हैजाको प्रकोपविरुद्ध प्रभावकारी कार्यक्रम ल्याऊ

कोरोना महामारीको पछिल्लो संस्करण फेरि देशभर प्रभावित बन्दै जाँदा राजधानी सहरमा देखा परेका हैजाका बिरामी थपिन छाडेका छैनन् । दुई साताअघि टेकु अस्पतालमा देखिएका हैजा संक्रमित बिरामी छिट्टै निको हुने र यसलाई नियन्त्रण गरिने भनिए पनि हैजा किटाणु संक्रमित बिरामी अस्पतालमा आउन नछाडेपछि यसले ठूलो चिन्ता र भय सिर्जना गरिरहेको छ । अस्पतालमा भर्ना भएका हैजा किटाणु संक्रमित बिरामीमध्ये धेरै निको भएर आआफ्ना घर फर्किए पनि यसले जुनसुकै समयमा पनि महामारीको रूप धारण गर्न सक्ने खतरापूर्ण सम्भावनालाई भने नकार्न सकिँदैन । यसका वस्तुगत आधार पनि छन् । पहिलो कुरा त उपत्यकामा वितरण हुने पानीको जाँच गरिएको छैन । खानेपानीको पाइप र ढल एकै ठाउँमा जोडिएका छन् । घर र टोलमा खस्ने पानी धारामा कोलिफर्मको मात्रा बढी नै भेटिने गरेको छ । कोलिफर्म भनेको दिसाजन्य फोहोर हो । पिउने पानीमा भेटिने दिसाजन्य फोहोर त्यही ढल फुटेर वर्षौंदेखि जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपभित्र मिसिने गरेका छन् । यसको जाँच र नियन्त्रणमा सम्बन्धित निकाय गम्भीरताका साथ लाग्नु जरुरी छ ।

यसका साथै बजारमा रहेको दैनिक उपभोग्य वस्तुहरूमा पनि हैजाका किटाणु छन कि छैनन् भनी जाँच गर्नु जरुरी हुन आएको छ । बजारमा आउने सबै सामान देश र विदेशका विभिन्न ठाउँहरूबाट आउने गरेका छन् । फलफूल, तरकारी, खाद्यवस्तु, पिउने पानी तथा खानका लागि तयार गरिएका वस्तुहरूमाथि आवश्यक जाँच र नियन्त्रण जरुरी छ । मनसुन सुरु भइसकेकाले पानी चारैतिर जम्दै र छताछुल्ल हुँदै बगिरहेको छ । यसले थुप्रिएका फोहोरबाट विषाणु, दुर्गन्ध र जीवाणु सहरभरि फैलने वातावरण सिर्जना गरेको छ । भिजेका कपडा लत्ता, हातगोडा र जुत्ता चप्पलबाट पनि हैजाका किटाणु ओसारपसार हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन । यसका साथै झिंगा र लामखुट्टे आदि हैजा ओसारपसार गर्ने माध्यम हुन जाने कुरालाई पनि हेक्का राखिनुपर्छ । साथै, अत्यधिक गर्मी हुने, कतै पानी पर्ने त कतै चर्को घाम लाग्ने, फोहोर नियमित रूपमा उठ्न नपाउने आदि कारणले पनि हैजा फैलन सक्ने वातावरण अनुकूल रहेको देखिन्छ । सडकमा अविराम गाडी गुडिरहने र मानिसको बाक्लो आवतजावतका कारण पनि महामारी फैलन कत्ति पनि समय नलाग्ने कुरामा निकै सचेत हुनुपर्छ ।

हैजा आफंैमा निकै डरलाग्दो महामारी हो । सानो कमजोरीले ठूलो जोखिम निम्त्याउँछ यसले । हाल संघीय, प्रादेशिक तथा स्थानीय सरकारले व्यक्तिगत सरसफाइमा ध्यान दिन सतर्क गराइरहेका छन् । दैनिक खानेकुराको सरसफाइ गर्न, खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुन पानीले हातधुन सबैलाई सचेत बनाउने प्रयास गरिएको छ । तथापि, यसमा जनस्वास्थ्यसँग सम्बन्धित सबै संस्थाहरूले सचेतना अभियान देशव्यापी चलाउनु जरुरी छ । स्थानीय जनताले पनि आफ्नो स्वास्थ्य सुरक्षाका लागि आफंै सचेत हुनु जरुरी छ । यति बेला नागरिक समाज, अधिकारकर्मी तथा अभियानकर्मी सबैले आआफ्नो तर्फबाट हैजा जस्तो सम्भावित महामारीबाट बच्न र बचाउन सचेतनामूलक कार्यक्रम गाउँगाउँ र टोलटोलमा पु¥याउनुपर्छ । ‘एकले थुकी सुकी, सयले थुकी नदी’भने झैं यतिबेला सबैले आआफ्नो कर्तव्य सम्झेर एकढिक्का भएर हैजाजस्तो सम्भावित महामारीविरुद्ध सबै जनाले अभियान सञ्चालन गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज ?

कुरी-कुरी