असारे भाका गाउँदै धान रोपाइँ गर्ने बेठी परम्परा लोप

संखुवासभा । संखुवासभामा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ ।

नौमती बाजा बजाएर असारे भाकामा दोहोरी सहित बेठी लगाउँदै धान रोपाइँ गरिन्थो । तर पछिल्लो समय बेठी इतिहासमा सिमित हुन पुगेको छ । वर्षौँअघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एक देशको कथाजस्तो भएको स्थानीयवासीको भनाइ छ । पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक शुरु हुन्छ । मानव जीवन र हिलो माटोबीचको सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन थियो ।

नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ । सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिन्छ । रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पछिल्लो समय पर्वका रूपमा मनाउन थाले ।

बेठीको दिन आफ्ना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन छ । नौमती बाजा, दर्जनौँ हलगोरु, सयौँ रोपाहार र बाउसेहरुले एकै दिन रोपाइँ गरेर उनीहरुले यसलाई पर्वका रूपमा मनाउने गरेका थिए । अरुबेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकाहरुलाई पैसा दिनुपर्ने भए पनि बेठीमा आएकाहरुको पर्म तिर्नु पर्दैन तर रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाएर रोपाहार र चेलीबेटीलाई दक्षिणास्वरुप पैसा दिने चलन छ । देशमा भूमिसम्बन्धी जिम्मावाल व्यवस्था कायम रहुञ्जेलसम्म जिम्मावालको सान र रवाफको पर्याय बन्दै आएको बेठी परम्परा विसं २०२१ मा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वा गाउँका धनीमानी वा मुखियाहरुकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आयो ।

बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी