शिक्षाविद् स्मिथले ‘नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरणद गर्न मद्दत गर्ने ज्ञानको स्रोत हो,’ भनेका छन् । अहिले नेपाली समाज एकांगी बन्दै गइरहेको छ । व्यक्तिवादी चिन्तन, स्वार्थ, मपाईंत्वका साथै ‘मै खाऊँ मै लाऊँ, सुख सयल वा मोज म गरूँ’को व्यवहारमा अभ्यस्त देखिन्छ । समाजमा सम्बन्ध विच्छेदका घटना बढ्दै छन् । पारिवारिक मेलमिलाप खल्बलिएको छ । आत्महत्या बढिरहेको छ । हरेक क्षेत्र भ्रष्टचारले ग्रस्त छ । राजनीतिक दलहरू गालीगलौज र आपसी खिचातानीको भुमरीमा फसेका छन् । माता, पिता र गुरुको सम्मान घट्दो छ । वृद्धाश्रममा बस्न बाध्य बुबाआमाको संख्या बढ्दो छ । निजी फाइदाको खातिर मानिसले कुकर्म गर्दा हत्या, हिंसा, बलात्कार, तस्करी, कालोबजारी व्याप्त छन् । सामूहिक हितका कुरा छायामा पर्दै गइरहेका छन् । यसरी समाजलाई भोग्दा स्मिथले भनेजस्तो मानिस व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण हुन नसकेको प्रस्ट देखिन्छ । त्यसैले, समाजमा नागरिक शिक्षाको शास्त्रार्थ एवं अभ्यास आवश्यक भएको छ ।
नागरिक शिक्षा प्रजातान्त्रिक आचरण निर्माणको माध्यम हो । प्रजातान्त्रिक आचरण भन्नाले हरेक मानिसले आप्mनो र अरूको हक, अधिकार र कर्तव्यबोध गरेको लोकतान्त्रिक आचरण हो । समाजका प्रत्येक व्यक्तिमा सामूहिक निर्णय र नीतिअनुसार काम गर्ने क्षमता एवं आचरणको विकास गर्न नागरिक शिक्षाको ठूलो भूमिका हुन्छ । नागरिक शिक्षाले व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थका अगाडि त्याग गर्न सक्ने उदार भावनाको विकास गराउँछ । यसका साथै, समाजका विभिन्न तह, वर्ग र क्षमताका जनतालाई आ–आफ्नो काम, कर्तव्य, अधिकारका विषयमा सुसूचित बनाउँछ ।
प्रजातान्त्रिक आचरण र सामाजिक दायित्वको बोध भएका नागरिक नै लोकतान्त्रिक राज्यका गहना हुन् । हरेक व्यक्तिमा शान्ति, सद्भाव, सहयोग र परोपकारी भावनाको विकासले मात्र सभ्य एवं सिर्जनशील समाजको निर्माण हुन सक्दछ । नागरिकमा प्रजातान्त्रिक आचरण, असल स्वभाव, उदार व्यवहार र इमानदार चरित्रको विकास गर्नका लागि नागरिक शिक्षाको विषयवस्तुको शिक्षादीक्षा अपरिहार्य ठानिन्छ । नागरिक शिक्षाले हरेक व्यक्तिमा देशप्रतिको माया, इतिहासको गौरवको अनुभूति, सार्वभौमिकताको रक्षा, राष्ट्रिय भावनाको जागरण, स्वदेशीपनको भावनात्मक विकास गराउन सहयोग गर्छ । व्यक्ति–व्यक्ति मिलेर समाजको निर्माण हुने भएकाले हरेक घर परिवारका व्यक्ति शिष्ट, सभ्य, सहयोगी, कर्मशील एवं लोकहितमा काम गर्न सक्ने भएमा मात्र समाज व्यावहारिक रूपमा लोकतान्त्रिक बन्न सक्दछ ।
नागरिकमा प्रजातान्त्रिक आचरण, असल स्वभाव, उदार व्यवहार र इमानदार चरित्रको विकास गर्नका लागि नागरिक शिक्षाको विषयवस्तुको शिक्षादीक्षा अपरिहार्य ठानिन्छ
कस्तो शिक्षादीक्षा दिएर कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षाको मोडलले निर्धारण गर्दछ । इन्डोनेसियामा विद्यालय अध्ययन गर्ने विद्यार्थीलाई नागरिक शिक्षाअन्तर्गत महिनामा एक दिन आप्mना बुबाआमा वा अभिभावकलाई विद्यालयमा लिएर आउनुपर्ने र छोराछारीले अभिभावकका नङ काटिदिने, आपसमा अन्तर्वि्रmया गर्ने, बुबाआमाको महत्व’bout प्रशिक्षण दिने काम गरिन्छ । छोराछोरीले गर्नुपर्ने काम र कर्तव्य’bout विद्यार्थीहरू र अभिभावकलाई सँगै राखेर अभिमुखीकरण गर्नेजस्ता अभ्यासले पारिवारिक सम्बन्ध सुमधुर गराउनका साथै छोराछारीले बुबाआमाको महत्व बुझाउने र उनीहरूप्रति गर्नुपर्ने कर्तव्यबोध गराइन्छ । इन्डोनेसियामा हालसम्म कुनै पनि वृद्धाश्रम बनाइएको छैन । विद्यालय शिक्षामा नै बालबालिकाले नागरिक शिक्षाअन्तर्गत अभिभावकको महत्व र छोराछोरीको कर्तव्य’bout गहिरो अनुभूति हुनसक्ने भएकाले घरपरिवार र समाजमा सुमधुर सम्बन्ध छ ।
नागरिक शिक्षाले जन्मदिने मातापिता र शिक्षा दिने गुरुको आदेश र उपदेशलाई शिरोधार्य गर्नसक्ने सकारात्मक सोचको विकास गराउँछ । ठूलालाई इज्जत, सानालाई माया, सहिष्णु आचरण, लोककल्याणकारी चिन्तनको विकास गर्न मद्दत गर्छ । यसैगरी, आप्mनो भाषा, संस्कृति, धर्म, परम्परागत सामाजिक मूल्यमान्यताप्रतिको सकारात्मक सोचको विकास गर्नुका साथै समाजका भिन्न धार्मिक तथा सांस्कृतिक सम्प्रदायका मूल्यमान्यताप्रति सहानुभूति एवं समानुभूति राख्न सक्ने चिन्तनका दायरा फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
हाम्रो देशको शिक्षा प्रणालीमा पर्याप्त रूपमा नागरिक शिक्षाका विषयवस्तुलाई समावेश गरिएको छैन । शिक्षालयहरूले नागरिक शिक्षाको विषयवस्तुलाई व्यवहारमा लागू गर्ने अभिमुखीकरण कार्यव्रmम गरेको पाइँदैन । नैतिक शिक्षालाई पनि पठनपाठनको विषय बनाइएको छैन । फलतः अहिले घरपरिवार, समाज, राजनीतिक क्षेत्र, संघसंस्था एवं व्यक्तिहरूमा नैतिक आचरणको अभाव हुँदै गएको अग्रजको गुनासो छ । व्यक्ति र समाजमा सुविचारशील स्वभाव, सद्विचार, सद्भाव, गुणप्रतिको कृतज्ञता वा सदाचारको व्यवहार कमजोर हुँदै गएको छ । नैतिकता भनेको नीति हुनाको भाव व्यवहारमा आउनु हो । नैतिक व्यवहारको अभावमा समाजमा सद्भाव र सुविचारको कमी हुन्छ । आज यस्तै भइरहेको छ ।
नागरिक शिक्षाले व्यक्तिलाई आप्mनो घरपरिवार, समुदाय र जन्मभूमिप्रतिको कर्तव्यको बोध गराइदिन्छ । नागरिक शिक्षाको अभावमा समाजमा सहनशीलता, सामाजिक सद्भाव र सहिष्णु व्यवहार कमजोर हुन्छ । समानुभूति र सहकार्यको संस्कृति हराउँछ । द्वन्द्व, झंैझगडा, असमझदारी बढ्छ । वैज्ञानिक हेलेन केलरले शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो भनेकी छन् । व्यक्तिमा सहनशीलता, अहिंसा, कल्याणकारी व्यवहार अत्यावश्यक मानवीय गुण हुन् । नेपाली समाजले सज्जन, कल्याणकारी र सर्वहिताय चिताउने नेतृत्व खोजी गरिरहेको छ । त्यसैले, राज्यले नागरिक शिक्षालाई औपचारिक विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मको पठनपाठनको व्यवस्था गर्नुपर्छ भने अनौपचारिक रूपमा हरेक पालिककामा नागरिक शिक्षाका तालिम केन्द्र सञ्चालन गर्नुपर्छ ।
कर्तव्यबोध नभएको राजनीति, संघ, संस्था, राज्यका निकायले डेलिभरी दिन सक्दैनन् । यसर्थ, व्यक्ति र समाजलाई कर्तव्यनिष्ठ बनाउन नागरिक शिक्षा आवश्यक ठानिन्छ
अहिले समाजमा सामाजिक अपराध बढ्दो व्रmममा छ । सामाजिक कुरीति, कुसंस्कार, दुव्र्यसनी तथा कुलतमा लाग्ने युवा पुस्ताको संख्या दिनानुदिन बढिरहेको छ । शिक्षित छोराछारीबाट नै वृद्घ मातापिता अपहेलित हुनपरेको घटना बढिरहेका छन् । समाजमा भ्रष्ट आचार, लोभ, लालच, चोरीडकैती व्याप्त छन् । अधिकारका विषयले ठाउँ पाउने गरेका छन् । मानिसको कर्तव्य छायामा पर्दै गएको अवस्था छ । समाजमा अधिकार र पहिचानका विषयवस्तु उठान हुने गरेका छन् । कर्तव्य छायामा पर्दै गएको छ । अधिकारमैत्री वकालतले मात्रै व्यक्ति, समाज र देशको भलो हुन सक्दैन । कर्तव्यबोध नभएको राजनीति, संघसंस्था, राज्यका निकायहरूले डेलिभरी दिन सक्दैनन् । यसर्थ, व्यक्ति र समाजलाई कर्तव्यनिष्ठ बनाउन नागरिक शिक्षा आवश्यक ठानिन्छ ।
समयको परिवर्तनसँगै शिक्षा परिवर्तन हुनु स्वाभाविक हो । शिक्षा ज्ञान एवं सीप आर्जन गर्ने माध्यम हो । शिक्षाले मानिसको मानसिक, सामाजिक, सांस्कृतिक तथा नैतिक विकास गर्छ र गर्नुपर्छ । शिक्षाले मानिसलाई सही र गलत, नैतिक वा अनैतिक कार्य छुट्याउने विवेक दिनुपर्छ । शिक्षाले जीवन जिउने कला सिकाउन सकेन भने शिक्षा अधुरो हुन्छ । अपुरो हुन्छ । सामाजिक सद्भाव र देश विकासका लागि समाजका हरेक नागरिक अनुशासित, मर्यादित, कर्मशील तथा कर्तव्यनिष्ठ हुन आवश्यक हुन्छ । राज्यका हरेक निकायमा अनुशासन, जबाफदेहिता, पारदर्शीता, जिम्मेवारीबोध तथा सेवामैत्री कार्य हुन आवश्यक हुन्छ तर यसो हुन सकेको छैन । समाजमा आधुनिकताको नाममा व्यक्तिवादी चिन्तन र भौतिकवादी प्रवृत्ति हुर्किएको छ ।
अन्त्यमा जसरी शिक्षाको यात्रा ऋषिकूल, देवकूल, पितृकूल, राजकूल र गुरुकूल हुँदै आधुनिक चरणमा प्रवेश गरेको छ । त्यसरी नै व्यक्ति, समाज र सिंगो देशलाई समय सापेक्ष बनाउन सक्नुपर्छ । नेपाली समाज बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय एवं बहुभाषिक चरित्रको भएकाले समाजका आ–आफ्नै मूल्यमान्यता, भाषा, संंस्कति र संस्कार छन् । यस्तो बहुआयामिक देशका नागरिकमा बहुलवादी चिन्तन र तदनुरूपको नागरिक अभ्यास आवश्यक हुन्छ । यसको अर्थ समाजमा घरपरिवार र समाजमा मिलेर बस्न, काम गर्न, एकले अर्काको सम्मान गर्न, सबैका सांस्कृतिक र सामाजिक मूल्य एवं मान्यतालाई सामाजिक दाबबिना नै स्वतःस्फुर्त रूपमा स्वीकार गर्न सक्ने क्षमता र उदार व्यवहार भएका नागरिक भन्ने बुभ्नुपर्छ । यसर्थ, उल्लेखित गुण सम्पन्न व्यक्ति तथा समाज निर्माणका लागि नागरिक शिक्षाको विषयवस्तुको शास्त्रार्थ र व्यवहार अनिवार्य शर्त हुन आउँछ ।






