कडा बन्दुक कानुन भएको जापानमा पूर्वप्रधानमन्त्रीको हत्या

काठमाडौं । बन्दुकसम्बन्धी कडा कानुन, प्रायः बिरलै राजनीतिक हिंसा हुने मुलुक । दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अंगालेको देश, एसियाली मुलुक जापानलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने शब्द हुन् यी । विभिन्न मुलुक हत्या हिंसाले ग्रस्त भइरहँदा जापानको अन्तर्राष्ट्रिय छवि भने ‘सुरक्षित समाज’का लागि उदाहरणीय नै मानिँदै आएको छ ।

तर, शुक्रबार बिहान जापानमा जे घटना भयो, यसले विश्वलाई नै अचम्ममा पारेको छ । जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय सिन्जो आबेको गोली प्रहारपछि भएको हत्याले विश्व नै स्तब्ध भएको छ । विभिन्न मुलुकका राष्ट्रप्रमुखले घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।

जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार, आफू आबद्ध राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको कार्यक्रममा सहभागी भइरहेका बेला स्थानीय समयअनुसार बिहान ११ बजे उनीमाथि एक व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहारको केही समयपछि उनको निधन भएको थियो ।

जापानमा आइतबार माथिल्लो सदनको निर्वाचन हुँदै छ । सोही निर्वाचनका लागि आफ्नो पार्टीका एक उम्मेदवारको पक्षमा नारा सहरको सडकमा भाषण गरिरहेका आबेमाथि पछाडिबाट गोली हानिएको थियो । गोली उनको छाती र घाँटीमा लागेको थियो । गोली लागेपछि उनी त्यहीँ ढलेर बेहोस भएका थिए । उनले लगाएको सर्टमा रगत देखिएको थियो । लगत्तै नारा मेडिकल युनिभर्सिटी लगिएका उनी त्यहाँ पु¥याउँदासम्म बोलिरहेका थिए । तर, मुख्य अंगहरूले काम गर्न छाडिसकेका थिए । केही घण्टाको उपचार प्रयासपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जापानमा यसअघि सन् १९९४ मा पूर्वप्रधानमन्त्री मोरिहिरो होसोकावामाथि एक होटलमा हत्या प्रयास भएको थियो । तर, उनलाई केही भएको थिएन । त्यसपछिका २८ वर्षमा शीर्ष नेतामाथि आक्रमण भएको यो नै पहिलो हो । र, यो आक्रमणमा पूर्वप्रधानमन्त्री आबेको ज्यान गएको छ । सन् १९९४ भन्दाअघि सन् १९६० मा जापान सोसलिस्ट पार्टीका प्रमुख इन्जेरिओ असानुमामाथि आक्रमण गरिएको थियो । चक्कु आक्रमणमा परेको उनको मृत्यु भएको थियो ।

को हुन् आबे ?
आबे सन् २००६ मा पहिलोपटक जापानको प्रधानमन्त्री बनेका थिए । दोस्रो विश्वयुद्धपछि सबभन्दा कम उमेरमा जापानमा प्रधानमन्त्री बनेको रेकर्ड उनकै नाममा छ । तर, त्यसबेला उनले लामो समय काम गर्न पाएनन् । प्रधानमन्त्री बनेको एक वर्षमै उनले राजीनामा दिनुपरेको थियो ।

लगातार सबैभन्दा बढी समय प्रधानमन्त्री बनेको रेकर्ड पनि आबेकै नाममा छ । सन् २०१२ मा उनको पार्टीले बहुमत ल्याएपछि आबे दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । पहिलोपटक एक वर्षमै प्रधानमन्त्रीबाट राजीनामा दिएका आबे दोस्रो कार्यकालमा भने ८ वर्षसम्म प्रधानमन्त्री भए । उनी अझै प्रधानमन्त्री रहिरहन सक्थे । तर, कार्यकाल सकिन बाँकी छँदै आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । प्रधानमन्त्रीबाट राजीनामा दिए पनि सत्तारूढ पार्टीभित्र उनको बलियो पकड थियो ।

आबेको परिवार नै राजनीतिमा होमिएको थियो । उनका हजुरबुवा पनि जापानका प्रधानमन्त्री भएका थिए । बाबु भने विदेशमन्त्रीसम्म भएका थिए ।

उनका हजुरबुबा किसी नोबुसुके सन् १९५७ देखि १९६० सम्म जापानका प्रधानमन्त्री बनेका थिए । आबेका हजुरबुवा किसी नोबुसुकेको पनि सन् १९६० मा हत्या प्रयास भएको थियो । नोबुसुकेले अमेरिकासँग सुरक्षा सन्धि गरेको एक महिनामै किसीमाथि चक्कु आक्रमण भयो । आक्रमणकारीले ६ पटक उनको तिघ्रामा चक्कु हाने पनि उनी बाँच्न सफल भएका थिए ।

जापानी जनता आबेको प्रधानमन्त्रीको दोस्रो कार्यकालको खुलेरै प्रशंसा गर्ने गर्छन् । आफ्नो कार्यकालमा उनले जापानी शासनलाई स्थायित्व दिनुका साथै जापानको अर्थतन्त्र र विदेश सम्बन्धलाई मजबुत बनाउन उल्लेख्य भूमिका खेलेका थिए । उनले लागू गरेका आर्थिक नीतिहरूलाई ‘आबेनोमिक्स’ पनि भन्ने गरिन्छ ।

अमेरिका, अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वाड बनाउन पनि उनको महत्वपूर्ण योगदान रहेको थियो । दोस्रो विश्वयुद्धमा पराजित भएपछि अमेरिकाले बनाएको शान्तिवादी संविधानमा अडिएको जापानमा उनले नै जापानी सैनिक अन्य देशको सहयोगका लागि बाहिर जान सक्ने कानुन ल्याएका थिए ।

जापान र चीनको लामो समयदेखि सम्बन्ध राम्रो छैन । प्रधानमन्त्रीको हैसियतमा आबेले सम्बन्ध सुधारका लागि पहल गर्नुका साथै चीनको भ्रमणसमेत गरेका थिए ।

घरमै निर्मित हतियारद्वारा आक्रमण, आक्रमणकारी पक्राउ
पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार गरी हत्या गर्ने व्यक्ति ४२ वर्षीय तेत्सुया यामागामी रहेको प्रहरीले जनाएको छ । उनलाई तत्कालै घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । उनी नारा सहरकै बासिन्दा भएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले सन् २००२ देखि २००५ सम्म जापानको म्यारिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेको खुलेको पनि प्रहरीले जनाएको छ । उनले घरमै बनाएको हतियार प्रयोग गरेको प्रहरीको भनाइ छ ।

बन्दुक राख्ने कानुन निकै कडा
जापानमा हतपत सर्वसाधारण बन्दुक राख्न चाहँदैनन् । कारण, बन्दुक राख्ने कानुन निकै कडा छ । यसका लागि इच्छुकले १३ वटा चरण पार गर्नुपर्नेहुन्छ । जुन सजिलो पनि छैन ।

समाचार एजेन्सीहरूका अनुसार, बन्दुक राख्न चाहनेले सुरुमा सुटिङ वा हन्टिङ क्लबमा भर्ना हुनुपर्छ । त्यसपछि इच्छुक व्यक्तिले बन्दुक चलाउने ज्ञान लिनुपर्छ र यस’bout लिखित परीक्षा पास गर्नुपर्छ । यति मात्र होइन मानसिक स्वास्थ्य ठीक हुनुपर्छ । कुलतमा नफसेको हुनुपर्छ । यसको प्रमाणीकरण चिकित्सकबाट हुनुपर्छ । साथै बन्दुक चलाउने र सुरक्षित राख्ने’bout छुट्टै पढ्नुपर्छ ।

बन्दुक राख्न चाहनेले राख्नुको कारण स्पष्ट खुलाउनुपर्छ । यसका लागि प्रहरीले अन्तर्वार्तासमेत लिने गर्छ । इच्छुक व्यक्तिको छिमेकीसँगको सम्बन्ध, पारिवारिक र आर्थिक अवस्थाको पनि प्रहरीले अध्ययन गर्छ । यति लामो प्रक्रिया पूरा गरेपछि मात्र बन्दुक राख्न पाइन्छ ।

राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोली प्रहारबाट शुक्रबार निधन भएका जापानी पूर्वप्रधानमन्त्री आवेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

सरकारले घटना निन्दनीय भएको भन्दै भत्र्सना पनि गरेको छ । नेपालका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र आवेको परिवारप्रति समवेदनासमेत व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार