व्यापार घाटा र शोधनान्तर घाटा बढेको बढ्यै

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ भने शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ ।

नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको वढोत्तरीका कारण व्यापार घाटा वढेको हो । आयातबाट विदेशी मुद्रा बाहिरिने वढी र विदेशी मुद्रा भित्रिनै कमी भएका कारण शोधानान्तर घाटा भएको हो ।

रेमिट्यान्सबाट, पर्यटकको आगमनबाट र गैरसरकारी संघसंस्थाबाट भित्रिने विदेशी मुद्राको कमीका कारण नेपालमा विदेशी मुद्राको सञ्चिति पनि घटिरहेको छ । सरकारले विदेशी ऋण र अनुदानबाट विदेशी मुद्रा आर्जन गर्न नसकेका कारणले पनि शोधानान्तर र विदेशी मुद्रामा मुलुकलाई दबाब पर्दै आएको छ ।

चालु वर्षको ११ महिनामा चालु खाता घाटा पनि थप बढेर गएको छ। यो अवधिमा चालु खाता घाटा पाँच खर्ब ९५ अर्ब ७३ करोड पुगेको हो।

समीक्षा अवधिमा चालु खाता रु.५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता घाटा २ खर्ब ९८ अर्ब ११ करोड थियो। तर अर्थतन्त्रका सूचकांकहरु बिग्रँदो स्थितिमा जाँदै गर्दा चालु खाता घाटा र शोधनान्तर घाटा करिब एक वर्षको अवधिमा थप गहिरिएको छ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

विदेशी मुद्रा सञ्चितिले ७ महिनामात्रै धान्ने

आर्थिक सुचकांकहरु नकारात्मक भइरहँदा खुद प्रत्यक्ष वैदेशिक लगानी भने ७.१ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब ३५ करोड पुगेकोबाट केही सकारात्मक पक्ष देखिएके छ । गत वर्षको ११ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २० करोड रहेको थियो ।

११ महिनामा शोधनान्तर स्थिति रु.२ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५ अर्ब १५ करोडले मात्र घाटामा रहेको थियो ।

गत वर्षको असार मसान्तमा रु.१३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा रु.११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई रु.१० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई रु.१ खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ ।

  • समग्र मुल्यवृद्धि ८.५६ प्रतिशत रहेको छ ।
  • आयात २७.५ प्रतिशतले, निर्यात ५३.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि
  • रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ३.८ प्रतिशतले बढेको र अमेरिकी डलरमा १.५ प्रतिशतले वृद्धि ।
  • शोधनान्तर स्थिति रु.२ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा
  • कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४५ करोड अमेरिकी डलर मात्र
  • संघीय सरकारको खर्च रु.१० खर्ब ३५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.९ खर्ब ४२ अर्ब १३ करोड
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले बृद्धि

एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सञ्चितिमा दबाब ज्युँका त्युँ रहकेो छ। दबाब कायम रहेकाले मौद्रिक नीतिमार्फत केही वस्तुमा आयात कडाइ नै गर्ने संकेत राष्ट्र बैंकले दिएको छ ।

चालु आर्थिक वर्षको ११औँ महिना (जेठ)मा रेमिट्यान्स आय ९२ अर्ब ३९ करोड रुपैयाँले भने बढेको छ । गत महिनाको तुलनामा रेमिट्न्यास ९२ अर्बले बढ्दा विदेशी मुद्रा संचिति पनि १७ करोड डलरले बढेको छ ।

विदेशी मुद्रा सञ्चिति अघिल्लो महिना (वैशाख)को तुलनामा जेठमा ९ अर्ब २८ करोड डलरबाट बढेर ९ अर्ब ४५ करोड डलर पुगेको छ ।

अघिल्लो वर्षको जेठमा रेमिट्यान्स आय १०.५ प्रतिशतले बढेको थियो । चालु आवको जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेर ३ लाख १३ हजार ३६७ पुगेको छ ।

जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । पछिल्लो एक महिनामा मात्रै मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । मुद्रास्फितिलाई सामान्य रुपमा मुल्यवृद्धिसँग तुलना गर्ने गरिन्छ । यस हिसाबले गत वर्ष ४ प्रतिशतले मात्र मुल्य वद्धि भएकोमा अहिले ९ प्रतिशतले वढेको देखिन्छ ।

खाद्य तथा पेयपदार्थ समूहको मुल्यवृद्धि ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहका मुल्य वृद्धि ९.४४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८-७९ को ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८-७९ को ११ महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो ।

सरकारले आगामी वर्ष मुद्रास्फीति ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ। तर आपूर्ति श्रृंखलामा व्यवधान, इन्धनको ठाडो मूल्यवृद्धि र अमेरिकी डलरको महँगिदै गएका कारण यसलाई नियन्त्रण गर्न सकिने अवस्था छैन ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै