काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अनलाइन प्रणालीबाटै दिन थालिएको छ । अनलाइन प्रणालीबाट सेवा दिन थालेपछि सेवाग्राहीका रूपमा रहेका सञ्चारकर्मीलाई राहतैराहत मिल्न थालेको छ ।
सञ्चारकर्मीलाई राहतै राहत
विभागका महानिर्देशक गोगनबहादुर हमालले सञ्चारकर्मीलाई छिटो र छरितो किसिमले सेवा प्रदान गर्ने उद्देश्यले सबै सेवा अनलाइन प्रणालीबाट दिन थालिएको जानकारी दिए । उनले प्रविधिको उपयोगमा रमाउने सञ्चारकर्मीलाई सोहीअनुसार पूर्ण रूपमा प्रविधिमार्फत नै सेवा दिन सबै प्रणालीलाई ‘डिजिटलाइज्ड’ गरिएको बताए ।
महानिर्देशक हमालका अनुसार जब उनी १६ महिनाअघि विभागको महानिर्देशकका रूपमा आए, त्यसपछि उनले सञ्चारकर्मीले दुःख र सास्ती भोग्नुपरेको देखे ।
सरकारी निकायलाई सकारात्मक रूपमा झकझकाउने र जनतालाई सुुसूचित पार्ने सञ्चारकर्मी नै समस्यामा परेको देखेपछि उनलाई त्यस्तो समस्या हटाउनुपर्छ भन्ने लाग्यो । त्यसैले उनले विभागबाट दिने महत्वपूर्ण सबै सेवा अनलाइनमार्फत दिने र सेवालाई जिल्ला तहमा नै पु¥याउनेगरी गृहकार्य अघि बढाए र उनी सफल पनि भए ।
महानिर्देशक हमालका अनुसार ताप्लेजुङ, हुम्ला, जुम्ला, कालिकोटलगायतका विकट जिल्लाबाट हजारौं रुपैयाँ खर्चेर सञ्चारकर्मी प्रेस पास बनाउन तथा अनलाइन दर्ता गराउन आएको देख्दा उनलाई त्यस्तो समस्या हटाउनुपर्छ भन्ने लाग्यो ।
‘सञ्चारकर्मी प्लेनमा चढेर आउनुपर्ने, काठमाडौंमा हप्तौंसम्म बस्नुपर्ने तर पनि सेवा नपाउने स्थिति रहेको पाएँ,’ महानिर्देशक हमालले भने ।
जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेका पत्रकारले नै सरकारी निकायबाट प्रभावकारी सेवा नपाउँदा उनीहरूको दिमागमा सरकारप्रति नकारात्मक सोच उत्पन्न हुन सक्छ भन्ने विश्लेषण गरेरै अनलाइनबाट सेवा दिने प्रणालीको विकास गरिएको महानिर्देशक हमालले बताए ।
महानिर्देशक हमालका अनुसार यसअघि केही सञ्चारकर्मीले विकट गाउँबस्तीबाट विमान चढेर ३ सय रुपैयाँ लाग्ने प्रेस पास लिन आउँदा ५०–६० हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता सुनाएका थिए । सञ्चारकर्मीको सो बाध्यता र पीडालाई महसुस गरी अनलाइन प्रणाली र जिल्लाबाटै सेवा दिने व्यवस्था मिलाइएको महानिर्देशक हमालले जानकारी दिए ।
जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेका पत्रकारहरूले नै सरकारी निकायबबाट प्रभावकारी सेवा नपाउँदा उनीहरूको दिमागमा सरकारप्रति नकारात्मक सोच उत्पन्न हुन सक्छ भन्ने विश्लेषण गरेरै अनलाइनबाट सेवा दिने प्रणालीको विकास गरेका हाैं
– गोगनबहादुर हमाल, महानिर्देशक सूचना तथा प्रसारण विभाग
अहिले विभागले सबै सेवा अनलाइनबाट दिन थालेपछि विकट गाउँबस्तीबाट प्रेस पास लिन र अनलाइन पत्रिका दर्ता गर्न काठमाडांै आउने झन्झटबाट सञ्चारकर्मीले मुक्ति पाएका छन् । महानिर्देशक हमालले अनलाइनमै फर्म भर्ने र जिल्ला हुलाकबाटै सबै काम हुनेगरी व्यवस्थापन गरिएकाले सञ्चारकर्मीहरूले सबै सेवा जिल्ला तहबाटै पाइरहेको जानकारी दिए ।
इन्जिनियरसमेत रहेका उनलाई प्रविधियुक्त सेवा दिनेगरी नीति बनाउन सहज भएको हो । इन्जिनियरिङ सेवामा रहेका उनी खुला प्रतिस्पर्धाबाट प्रशासनतर्फको सहसचिवमा उत्तीर्ण भएका थिए । उनी आफ्नो ब्याचका टपर सहसचिव हुन् ।
सूचना विभागले रेडियो, टेलिभिजन दर्ता गर्ने कार्य पनि अनलाइन प्रणालीमार्फत नै थालेको छ । विभागले यसरी सबै कार्य अनलाइनमार्फत गर्न थालेपछि विभागको नेतृत्वलाई नीति निर्माण कार्यमा सहजता भएको छ ।
अहिले सबै प्रकारका सेवा अनलाइन प्रणालीबाट दिन थालिएको र कतिपय अधिकार जिल्लामा नै प्रत्यायोजन गरिएकाले महानिर्देशकलगायतको समूह सानातिना कार्यमा अल्झनुपर्ने अवस्था छैन । ‘सानातिना काममा अल्झिन नपर्दा महत्वपूर्ण नीतिगत विषयमा छलफल गर्न पाइएको छ, यसले विभागमा झनै सुधार आउने विश्वास लिएका छौं,’ महानिर्देशक हमालले राजधानीसँग भने ।
महानिर्देशक हमालकै योजनाअनुसार विभागले बीआरएलएमएस, डीएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको सुरुवात गरेको छ । ती सेवाको केही दिनअघि मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुभारम्भ गरेका थिए ।
विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गत वर्षदेखि सुरु गरेको थियो । चालू आर्थिक वर्षमा ९ सय २७ पत्रपत्रिका, ३८ टेलिभिजन, २ सय ५१ रेडियो र १ हजार ४ सय ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ । हालसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको संख्या ३१ हजार २५ रहेको विभागका महानिर्देशक हमालले जानकारी दिए ।
चालू आवमा २ हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार ५ सय ५७ प्रेस पास नवीकरण गरिएको छ । त्यसैगरी चालू आवमा दर्ता ६ सय ६२ र नवीकरण ६ सय ७७ गरी हालसम्म ३ हजार ४ सय ६३ अनलाइन दर्ता भइसकेको विभागले जनाएको छ ।