कपिलबस्तु । कपिलबस्तुका स्थानीय तहमा ७३ करोड रुपैयाँ बढिको बेरुजु देखिएको छ । ६ नगरपालिका र ४ गाउँपालिका गरी दशवटा स्थानीय तह रहेको कपिलबस्तु जिल्लामा स्थानीय तहहरुले गर्ने खर्चमा वार्षिक रूपमा बेरुजुको सीमा नाघ्दै गएको छ ।
महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन अनुसार कपिलबस्तु जिल्लामा मात्रै रु ७३ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । बेरुजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधिभन्दा बाहिर गएर सीमा मिची मनपरी खर्च गर्दा कपिलबस्तुमा एउटै पालिकामा रु १७ करोडसम्म बेरुजु निस्किएको छ ।
स्थानीय तहहरुले खर्च प्रणाली पारदर्शी नगर्ने, विधि प्रक्रियाभन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्नेजस्ता कार्यले गर्दा कपिलबस्तुको स्थानीय तहहरुमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ ।
जिल्लाको दश स्थानीय तहमा यो वर्ष महालेखाले कूल रु १७ अर्ब ६७ करोड ४६ लाख ९७ हजारको लेखापरीक्षणमा रु ७३ करोड ४७ लाख ७४ हजार बेरुजु देखाएको छ । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा कूल ७३ करोड ४७ लाख ७४ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । आव ०७६/७७ मा भन्दा ०७७/७८ मा जिल्लाका पालिकाहरुमा रु १८ करोड ४३ लाख ४१ हजार बढि बेरुजु आएको छ । आव ०७६/७७ मा जिल्लाका १० पालिकामा ५५ करोड ४ लाख ३३ हजार बेरुजु आएको थियो ।
बेरुजु सबैभन्दा बढी रहने स्थानीय तहमध्ये मायादेवी गाउँपालिका र सबैभन्दा कम बेरुजु रहने शिवराज नगरपालिका रहेको छ । जिल्लाका सबै स्थानीय तहहरुमध्ये मायादेवी गाउँपालिकामा बढी बेरुजु देखिएको छ । एक अर्ब ३१ करोड ७६ लाख ७० हजारको लेखापरीक्षण गर्दा १७ करोड ९५ लाख ६ हजार बेरुजु देखिएको छ । समग्रमा १३.६२ प्रतिशत बेरुजु यस पालिकाको छ । मायादेवीमा ०७६÷७७ मा तीन करोड ६५ लाख ५० बजार बेरुजु देखिएको थियो ।
मायादेवीपछि महाराजगञ्ज नगरपालिकामा बढी बेरुजु आएको छ । एक अर्ब ८१ करोड १६ लाख ६५ हजारको लेखापरीक्षण गराएको महाराजगञ्जमा १६ करोड ८३ लाख ६५ हजार बेरुजु देखिएको छ । जुन ९.२९ प्रतिशत बेरुजु रहेको छ । नगरपालिकामा आव ०७५÷७६ मा एक करोड ५७ लाख ५३ हजार बेरुजु आएको थियो ।
दुई अर्व ५२ करोड ७५ लाख १८ हजारको लेखापरीक्षण गराएको बाणगंगा नगरपालिकामा एघार करोड ६२ लाख ८ हजार बेरुजु देखिएको छ । यो कुल परीक्षण ४.६० प्रतिशत रहेको छ । नगरपालिकामा आव ०७५÷७६ मा एक करोड ६६ लाख ६० हजार बेरुजु आएको थियो ।
कृष्णनगर नगरपालिकाले बेरुजु रकम उल्लेख्य मात्रामा घटाएको छ । एक अर्व ७३ करोड ५३ लाख १८ हजारको लेखापरीक्षण गर्दा नगरपालिकामा पाँचकरोड ६७ लाख ७० लाख रकम बेरुजु देखिएको छ । जुन प्रतिशतमा ३.२७ हुन आउँछ । आव ०७५/७६ मा कृष्णनगरमा बीस करोड ७८ लाख ९७ हजार बेरुजु देखिएको थियो । जुन लुम्बिनी प्रदेशमै उच्च बेरुजु रकम थियो । कृष्णनगरले आव ०७६÷७७ मा भन्दा ०७७÷७८ मा पन्ध्रकरोड ११ लाख २७ हजारले बेरुजु घटाएको छ । जुन प्रशासनिक क्षेत्रमा भएको सुधार हो ।
२ अर्ब ३१ करोड ४ लाख ९२ हजारको लेखापरीक्षण गराएको कपिलबस्तु नगरपालिकामा छ करोड ९० लाख ३० हजार बेरुजु देखिएको छ । यो कुल परीक्षण रकमको २.९९ प्रतिशत हो । जुन आव ०७५÷७६ मा भन्दा ११ करोड ९० लाख १९ हजारको बेरुजु रहेको थियो ।
बुद्धभूमि नगरपालिकामा कूल एक अर्व ९९ करोड १२ लाख ८५ हजारको लेखापरीक्षण गराएकोमा ५ करोड २२ लाख १ हजार बेरुजु देखिएको छ । नगरपालिकाले आव ०७६/७७ मा एक अर्व ४३ करोड ६ लाख १४ हजारको लेखापरीक्षण गर्दा तीन करोड ८६ लाख ७४ हजार बेरुजु देखिएको थियो ।
कूल दुईअर्ब १४ करोड ७ लाख ४१ हजारको लेखापरीक्षण गराएको शिवराज नगरपालिकामा एक करोड ९५ लाख ५५ हजार बेरुजु देखिएको छ । आव ०७६÷७७ मा एक अर्ब ६४ करोड ९४ लाख १ हजारको परीक्षण गराउँदा शिवराजमा ८२ लाख ४४ हजार बेरुजु देखिएको थियो ।
एक अर्ब २३ करोड ५ लाख ९५ हजारको लेखापरीक्षण गराएको यशोधरा गाउँपालिकामा दुई करोड ३४ लाख ८३ हजार बेरुजु देखिएको छ । आव ०७६/७७ मा ७२ करोड ७१ लाख ७३ हजारको परीक्षण गराउँदा यशोधरामा चार करोड ७० लाख ९६ हजार बेरुजु देखिएको थियो ।
बिजयनगर गाउँपालिकामा तीन करोड ४१ लाख ३९ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले एक अर्ब ३३ करोड ९७ लाख ३३ हजारको परीक्षण गराएको थियो । ०७६/७७ मा भन्दा ०७७/७८ मा गाउँपालिकामा एक करोड ४४ लाख ६६ हजार रकम कम बेरुजु देखिएको छ ।
एक अर्ब २६ करोड ९६ लाख ८० हजारको परीक्षण गराएको शुद्धोधन गाउँपालिकामा एक करोड ५५ लाख १७ हजार बेरुजु देखिएको छ । जुन आव ०७६/७७ भन्दा ३४ लाख ८३ हजारले बढी हो ।