बुद्धकालीन कपिलवस्तुको शासनव्यवस्था र समाज

रानी महामाया शिशु जन्माउन भनी कपिलवस्तुबाट माइतीदेश देवदहतर्फ प्रस्थान गरिन् । लुम्बिनी वनमा पुग्दा उनलाई व्यथा लाग्यो । रानी पीडामा अशोक वृक्षको हाँगो समातेर उभिइन् । त्यहीँ उनले एउटा दिव्य शिशुलाई जन्म दिइन् । सहायिकाहरूले शिशुलाई मनतातो पानीले नुहाइदिएर नरम रेसमी कपडामा बेरे । अब माइती जानुको प्रयोजन थिएन । उनीहरू कपिलवस्तु फर्के । पुत्र प्राप्तिका लागि लामो प्रतीक्षा गरेका राजा सुद्धोदनको इच्छा सिद्ध भयो । उनले बालकतर्फ हेर्दै भनेका थिए–सिद्धार्थ !

युवराज जन्मेको केही दिनपछि कपिलवस्तु राजप्रासादमा आएका कालदेवल ऋषि नवजात शिशुलाई देख्नासाथ निकै प्रसन्न भए । किन्तु, ऋषिको त्यो प्रसन्नता धेरै समय टिकेन । उनी भावुक भएर रुन थाले । ऋषि बलिन्द्र धारा रोएको देखेर अत्यन्त हतप्रभ भएका राजाले भने, ‘हे ऋषिवर ! के मेरो पुत्रमा कुनै अपशकुन छ ?’ ऋषिले भने, ‘राजकुमार बत्तीस लक्षणले युक्त छन् । सुरुमा म खुसी भएँ, किनकि तपाईंको घरमा मानव मात्रलाई दुःखबाट मुक्तिको मार्ग देखाउने महामानवको अविर्भाव भएको छ । म रुँदै छु, किनकि यस बालकले मानव जातिलाई सत्यको मार्ग देखाउने बखतसम्म म जीवित रहनेछैन ।’ संसारका सबै मातापिता सन्त, महन्त र भिक्षुका प्रशंसक हुन्छन्, परन्तु कोही पनि आप्mनो सन्तान महान् सन्त या साधक बनोस् भन्ने चाहँदैनन् । राजा सुद्धोदनलाई पर्नु पिर प¥यो ।

तत्कालीन कपिलवस्तुमा खेती गर्ने समय सुरु हुनुअघि शुभ साइतको रूपमा कर्षण महोत्सव (हलो जोत्ने समारोह) मनाउने परम्परा थियो । सिद्धार्थ सानै थिए । राजा, रानी र राजपरिवारका सदस्य कर्मचारी एवं सैनिकलाई सँगै लिएर खेतमा गए । ब्राह्मणहरू वर्षाका देवता ईन्द्रलाई खुसी पार्ने वैदिक मन्त्र पढिरहेका थिए । जिज्ञासु सिद्धार्थले आमा प्रजावतीलाई सोधे, ‘आमा यो के गरेको ?’ आमाले स्नेहपूर्वक जवाफ दिइन्, ‘बिस्तारै तिमी यी कुरा बुझ्दै जानेछौ । यो पुस्तौंदेखि चलिरहेको परम्परा हो ।’ बालक राजकुमारले फेरि सोधे, ‘मेरो पिताले मन्त्र पढ्नुपर्दैन ? यो अधिकार ब्राह्मणलाई मात्र प्राप्त छ । ब्राह्मण सबैका पूज्य हुन्छन् ।’

पुत्र प्राप्तिका लागि लामो प्रतीक्षा गरेका राजा सुद्धोदनको इच्छा सिद्ध भयो, उनले बालकतर्फ हेर्दै भनेका थिए–‘सिद्धार्थ’

बलिया राँगाहरूले हलो तानिरहेका थिए । हलोको डोबमा ससाना किरा र गँड्यौला निस्किरहेका थिए । ती कीरा र गँड्यौलाहरूलाई ससाना चराले खाइरहेका थिए । एउटा ठूलो चरो आएर किरा खाने सानो चरोलाई टिपेर आप्mनो आहारा बनायो । राजकुमारले आमातर्फ मुखातिब हुँदै भने, ‘ब्राह्मणको मन्त्रपाठले यी ससाना प्राणीलाई कुनै फाइदा भएन ।’ सिद्धार्थले अलि पर उभिएर भयभीत नजरले आफूतर्फ हेरिरहेका बालकलाई देखे । चिथरा लुगा, दुब्ला शरीर एवं मटमैला र दयालाग्दा अनुहारहरू ! बालक सिद्धार्थलाई आफू सम्पन्न र सुकिलो हुन पाएकोमा लज्जाबोध भयो ।

चौध वर्षको हुँदासम्म सिद्धार्थ इतिहास, भाषाविज्ञान र गणितमा पोख्त भइसकेका थिए । ऋग्वेद र अथर्ववेदमा विशेष दख्खल थियो । कुस्ती, तरबारबाजी र भारोत्तोलनमा पारंगत थिए । बाँसुरी बजाउनमा उनको समकक्षी कोही थिएन । उपनिषद्को राम्रो अध्ययन र अनुशीलन गरेका थिए । खेलकुदलगायत भाग लिए जति सबै विधामा प्रथम भएका उनले कोलीय राज्यकी राजकुमारी यशोधरा (पछि धर्मपत्नी)बाट एउटा हात्ती पारितोषिक पाएका थिए ।

‘ब्राह्मणोद्रस्य मुखमासीद्बाहू राजन्यः कृतः ।।
ऊरु तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोद्रजायतः ।।’

ऋग्वेदको यो मन्त्र’bout उनले गुरुहरूसँग अनेकौं प्रश्न गरेका थिए । चलिरहेका परम्परा, धर्म, पूजाविधि र कुरीति सम्बन्धमा प्रश्नैप्रश्नले हैरान पार्थे सिद्धार्थ । झन्डै त्यही कालखण्डमा युरोपमा सुकरातले युवाहरूलाई हरेक सन्देहास्पद कुरामा प्रश्न गर्न र जाँच परख गरेर मात्र विश्वास गर्न उत्प्रेरित गर्दै थिए ।

सिद्धार्थ साधारण वस्त्र पहिरेर गाउँतिर घुम्न जान्थे । सर्वसाधारण प्रजामाथि ब्राह्मणको प्रभुत्व थियो । जन्म, विवाह र मृत्यु संस्कारका विधि पूरा गर्न साह्रै कठिन थियो । गरिबलाई पूर्वजन्ममा अनुचित कर्म गरेको हुँदा यो जन्ममा अकिञ्चन हुनुपरेको र यो जन्ममा पनि त्यस्तै कर्म गरे अर्को जन्ममा फेरि दरिद्र र नीच योनीमा जन्मनुपर्नेछ भनेर विश्वस्त तुल्याइएको थियो । कर्मकाण्डका अनेकौं विधिको पालना गर्दा हैरान र लखतरान थियो सारा समाज । समग्र ब्राह्मण समुदाय पथभ्रष्ट र स्वार्थी तŒवमा परिणत भएको थियो । पुरोहितलाई पैसा र अन्न दिएर मात्र सन्तुष्ट पार्न कठिन थियो । वैदिक रीति पूरा गरेर चोख्याइदिएबापत् ब्राह्मणकहाँ मजदुरी गर्न जानुपथ्र्यो । गरिब प्रजा कहिल्यै टाउको उठाउन नसक्ने अवस्थामा थिए ।

एक दिनको कुरा हो । गाउँतिर घुम्दै जाँदा सिद्धार्थले एउटा घरको आँगनमा मानिसहरू रोइरहेको देखे । दुब्ला, पातला र हेर्दै टिठलाग्दा दरिद्र हातहरू एक जना पुरोहितलाई पुकारा गर्दै नमस्कार मुद्रामा उठिरहेका थिए । किसानको बाबु मरेको हुँदा उसको परिवार आशौचमा थियो । आशौच फुकाउन पुरोहितले मन्त्र पढ्नु आवश्यक थियो । अन्तिममा केही सीप नलागेर पुरोहितको बारीमा रहेका ढुंगा फुटालिदिने र निश्चित परिमाणमा दाउरा चिरिदिने शर्तमा किसान चोखियो । गरिब किसान चोखिन त चोखियो, तर उसको त्यही पुरोहितकहाँ काम गर्दागर्दै देहान्त भयो ।

किशोर सिद्धार्थ आप्mनो अधिराज्यभित्रका तमाम गाउँमा घुमे । रोहिणी र वाणगंगा नदी अधिराज्यका वरदान थिए । धान, गहुँ र जौको प्रशस्त खेती हुन्थ्यो । परन्तु, त्यो उत्पादनको ठूलो भाग बसीबसी खानेकहाँ पुग्थ्यो । समाज अन्धविश्वासले ग्रस्त थियो । शिशिरको ठन्डीमा मानिस पूर्वजन्म र वर्तमानको पाप पखाल्ने उद्देश्यले वाणगंगामा स्नान गर्न जान्थे । एक दिन सिद्धार्थले आप्mना सारथी छन्दकलाई सोधेका थिए, ‘यसरी नुहाएर पाप पखालिन्छ होला ?’ छन्दकको जबाफ थियो, ‘पाप पखालिने भएरै त हजारौं मानिस यस्तो ठन्डीमा नुहाउन आएका होलान् ।’ जन्म जन्मान्तरको सञ्चित पाप पखालेर पवित्र हुने कति सजिलो उपाय ! सिद्धार्थ विस्मित भए ।

साधारण प्रजाका ससाना सन्तति भोक र रोगले ग्रस्त थिए । आँखा पाक्ने रोग र रुघाखोकी साधारण मानिन्थे । जुका परेका र कुपोषणले आक्रान्त बालबालिकाका तिघ्रा मसिना र पेट ठूला देखिन्थे । एक दम्पत्तीका दशबाह्र जना केटाकेटी, त्यसमाथि चरम दरिद्रता ! मागेर खान अभिशप्त चाण्डाल भनिने अछूत जातिका सन्तान एवं अपांग र परित्यक्तको संख्या ठूलो थियो । गुहार माग्ने ठाउँ कतै थिएन । राजाको द्वारमा पुगेर हात फैलाए पनि राहत पाउने कुनै सम्भावना थिएन । शासन र प्रशासन भ्रष्ट थियो । राजा लाचार थिए । जनताको यस्तो बेहाल थियो । उता सम्भ्रान्त परिवारका निवास र राजमहलमा भने बराबर भोजभतेर र मनोरञ्जनका कार्यक्रम आयोजना भइरन्थे । किमती उपहार आदानप्रदान हुन्थे । पाहुनालाई मिठो संगीतले स्वागत गरिन्थ्यो । धन हुनेले वाराणसीबाट आयात गरेका लुगा, जुत्ता र गहना लाउँथे ।

सिद्धार्थले दरबारी दाउपेच र षड्यन्त्र देखे, भ्रष्ट अफिसर र राजसेवकहरूको बेइमानी एवं निर्दयी र करुणाहीन मानसिकताले भरिएको राजकाज देखे

सिद्धार्थ साधु, सन्यासी र जोगीलाई भेट्थे । सन्यासीहरू विरक्त थिए तर मानव कल्याणको मार्ग’bout पूर्णतः अनभिज्ञ ! युवराजको यस्तो प्रवृत्ति देखेर राजा निराश थिए । राजालाई युवराजको विवाह गरिदिन पाए यिनको मन संसारी विषयभोगमा प्रवृत्त हुन्थ्यो कि भन्ने सुझाव प्राप्त भयो । राजा सुद्धोदनकी बहिनी प्रमिताको विवाह कोलीय राजा दण्डपाणीसँग भएको थियो । सिद्धार्थको विवाह तिनै फुपुकी छोरीसँग धुमधामले भयो । कपिलवस्तुका सडक झन्डा र फूलमालाले झकिझकाउ भए । नवदम्पतीको ऋतुअनुसार निवासका लागि एउटा ‘समर प्यालेस’ पहाडी इलाकामा र दुईवटा महल तराईमा बने ।

दरबारमा काम गर्ने सारा भारदार भ्रष्ट थिए । सबैलाई आप्mनो सम्पत्ति र पदको मात्र चिन्ता थियो । राजा शुद्धोदन भ्रष्ट भारदारको अगाडि सम्मानित कैदीजस्तै लाचार थिए । त्यो सबै देखेर सिद्धार्थले मनमनै सोचे, जबसम्म शासक र प्रशासकको मनमा शक्ति, सत्ता र सम्पदाको आशक्ति रहन्छ, तबसम्म लोककल्याणका खातिर केही काम हुन सक्दैन । राजा बनेर पिताजस्तो विवश हुनुभन्दा मानिसको सोचमै परिवर्तन ल्याउने अभियानमा लाग्नु उपयुक्त छ । सिद्धार्थ र यशोधराले प्रजाको दुःखका घाउमा मलम लगाउने भरसक प्रयत्न गर्थे तर त्यो स्थायी समाधान थिएन । समाज रोग, गरिबी, रूढिवाद र अन्धविश्वासका साथै मानसिक दरिद्रताले समेत आक्रान्त थियो ।

प्रजाहरू त दुःखी र दरिद्र थिए नै । अपितु, राजा, रानी, भाइभारदार र साहुमहाजनसमेत कुनै न कुनै कारणले दरिद्र थिए । कोही शक्तिका लागि आपसी षड्यन्त्रले, कोही वैवाहिक जीवनको समस्याले, कोही कारोबारी कारणले र कोही इष्र्या, द्वेष, क्रोध, लोभ, रोग र मृत्युका कारण दुःखी थिए । सिद्धार्थले दरबारी दाउपेच र षड्यन्त्र देखे ! भ्रष्ट अफिसर र राजसेवकको बेइमानी एवं निर्दयी र करुणाहीन मानसिकताले भरिएको राजकाज देखे ।

एक दिन राजाले राजकुमारलाई भने, ‘किन केही बोल्दैनौ ? किन चुप मात्र लागिरहन्छौ ?’ सिद्धार्थले भनेका थिए, ‘म केही नबुझेर चुप लागेको होइन । यी सरकारी मानिसहरू समस्या खडा गरेर राजालाई तर्साउने काम मात्र गर्छन् । राजकाजको यो स्वार्थी चक्रव्यूह तोड्न सहज छैन ।’ पितालाई बुद्धिमान् युवराजले आफूले भन्दा सक्षम तरिकाले राजकाज चलाउलान् भन्ने आशा थियो । तर, युवराजको भनाइ थियो, ‘मेरा लागि राजगद्दीमा बस्नु भनेको आगोको ज्वालामाथि बस्नुसरह हो । म मुक्तिको मार्गको खोजीमा जानेछु । म यो राज्य र राज्यको सीमाबाहिर बस्ने समस्त मानव जातिको कल्याणको उपाय खोज्न चाहन्छु । म मनुष्यको हृदय परिवर्तन गराई पवित्र तुल्याउने मार्गको खोजीमा प्रस्थान गर्नेछु ।’

एक दिन युवराज्ञी यशोधरालाई प्रसव वेदना भयो । दरबारमा सबै जना शिशुको आगमनको व्यग्र प्रतीक्षामा थिए । सिद्धार्थलाई नवयुवराजको जन्म भएको शुभ समाचार सुनाइयो । पुत्र प्राप्तिको खबर सुन्नासाथ सिद्धार्थले भनेका थिए–राहुल !

तपाइको प्रतिक्रिया
(Visited 607 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व