कोरोना उपचार अस्पतालका चिकित्सक कर्मचारीलाई शतप्रतिशत भत्ता

भरतपुर महानगरपालिका–१० स्थित चितवन प्रदर्शनी केन्द्र । यहाँ भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउन लागिएको छ । बहत्तर घण्टाभित्र ७० शय्याको अस्पताल बनाउने तयारी गरिएको छ । तस्वीरः रासस

चितवन । भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ ।

सङ्घीय सरकारले यसअघिनै कोरोनाको उपचारमा संलग्नलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिसकेको छ । सो रकममा महानगरपालिकाले थप २५ प्रतिशत गरी शतप्रतिशत पु-याउने भएको हो ।

महानगर प्रमुख रेनु दाहालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सङ्घीय सरकारबाट दिइने रकममा थप गरी शतप्रतिशत पुर्याउन लागिएको बताइन् । उनले भनिन्, ‘सङ्घबाट रकम नआएमा पनि महानगरले ७५ प्रतिशत प्रोत्साहन भत्ता दिन्छ, आएमा शतप्रतिशत पु-याउँछौँ ।’

अस्पतालमा महानगरका स्वास्थ्यकर्मीका अतिरिक्त जिल्लाका सरकारी र नीजि अस्पताल एवं मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिने उनले जानकारी दिइन् । अस्पताल सञ्चालन गर्न गठित कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार हाल कार्यरत चिकित्सक, कर्मचारीले नपुगेमा बाहिरबाट पनि जनशक्ति भर्ना गरिने छ ।

अध्ययन गर्दै गरेका नर्स र चिकित्सकलाई पनि अस्पताल सञ्चालनका क्रममा नियुक्त गर्नुपर्ने हुनसक्ने भन्दै तयारी थालिएको छ । बहिरङ्ग सेवा र ५० श्ययाको जनरल वार्ड आज साँझसम्ममा तयार गरिँदै छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसबाट श्यया सङ्कलन गरी साँझसम्ममा तयार गरिने अधिकारीले जानकारी दिए ।

यससँगै ती श्ययामा आवश्यक सामाग्री उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यवस्थापन गरिँदै छ । बिहीबार दिनभरमा १० श्ययाका सघन उपचार कक्ष र १० श्ययाको हाई डिपेन्डेन्ट यूनिट (एचडियू) तयार गरी शुक्रबारदेखि अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ । सोका लागि आवश्यक प्रयोगशाला, एक्सरे, औषधि, शौचालय, बारबेर, विद्युत्, खानेपानीलगायतका काम भइरहेका छन् । आज बिहान नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अस्पताल बनाउन लागिएको क्षेत्र सरसफाइ गरिसकेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जुट्न नसकेका खरिद गर्नुपर्ने सामग्री महानगरले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याउने बताए । महानगर प्रमुख दाहालको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले मङ्गलबार बिहान ७२ घण्टाभित्र अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको थियो । जिल्लामा हालसम्म चार शङ्कास्पद कोरोनाका बिरामी भरतपुर अस्पतालमा भर्ना भएकामा उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी