स्थिर शासन पछ्याउँदै श्रीलंका

आर्थिक संकट चरम चुलीमा पुगेपछि अस्थिरता, अराजकता र असफलताको बाटोतिर धकेलिइरहेको श्रीलंका नयाँ राष्ट्रपतिको चयनसँगै सापेक्ष स्थिर बाटोमा जान थालेको देखिन्छ । आर्थिक संकटका कारण लगातार विरोध प्रदर्शन थेग्न नसक्दा डेढ साताअघि देश छाडेर भागेका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपति बनेका रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपतिका लागि बुधबार कोलम्बो संसद््मा मतदान हुँदा विक्रमासिंघे १ सय ३४ मतसाथ विजयी भएपछि श्रीलंकामा अब स्थिरता आउने र आर्थिक संकट क्रमशः समाधान हुँदै जाने देखिएको छ । निर्वाचित नयाँ राष्ट्रपतिको कार्यकाल सन् २०२४ नोभेम्बरसम्म रहने भए पनि श्रीलंकाको इतिहासमा यो प्रक्रियासँगै नयाँ अध्याय सुरु भइसकेको छ । तथापि नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे श्रीलंकाको आर्थिक उथलपुथलसँग जोडिएर आएका छन् । गोटाबाया राजापाक्षे राष्ट्रपति हुँदा विक्रमासिंघे प्रधानमन्त्री थिए । हाल उनले कार्यकालका हिसाबले गोटावायाकै बाँकी रहेको राष्ट्रपतीय कार्यावधि पूरा गर्ने हुन् । श्रीलंकामा आर्थिक संकट कायमै छ । सडकमा निस्किएर राज्यसत्ताप्रति प्रश्न गर्ने जनताका जवाफ अब उनैले दिनुपर्नेछ ।

सडकमा उत्रिएका जनता राज्यसत्ताको उच्च निकायबाट गरिन थालेको देशको समस्या समाधानका प्रक्रिया नियालेर हेरिरहेका देखिन्छन् । जनताको मत प्राप्त सांसदहरूले नै संवैधानिक प्रक्रियाद्वारा नयाँ राष्ट्रपति चयन गरेपछि जनता अबका दिनमा देशमा व्याप्त आर्थिक समस्या समाधानका लागि चालिने नीति तथा कार्यक्रमको प्रतीक्षा गर्ने मुडमा देखिन्छन् । किनकि उनको विजयप्रति सडकमा जनताको विरोध प्रदर्शन देखिएको छैन । राष्ट्रपति विक्रमासिंघेको आफंैले ‘सबैसँग मिलेर’ र ‘सबैलाई साथ लिएर’ अघि बढ्ने भनी गरेको उद्घोषणले पनि केही समय सबैलाई चुप लाग्ने वातावरण सिर्जना गरिदिएको छ । श्रीलंकाको यो पछिल्लो बदलिएको परिवेशले पनि अन्तर्राष्ट्रिय दाता तथा सहयोगी राष्ट्रहरूलाई केही समय विचार गरिदिनुपर्ने अवस्थामा पु¥याएको छ । अन्तर्राष्ट्रिय जनमत पनि श्रीलंकाको आर्थिक संकट समयमै समाधान होस् भन्ने पक्षमा देखिएको छ । यसका साथै, दक्षिण एसियामा अमेरिका, चीन तथा भारतजस्ता महाशक्तिहरूको जमघट र तिनीहरूबीच शक्ति सञ्चयका लागि भइरहेको खिचातानीले पनि अन्तर्राष्ट्रिय जनतमतलाई आँखा च्यातेर हेर्ने र विश्लेषण गर्ने बनाएको छ । नियोजित प्रचारप्रसारमा महाशक्ति राष्ट्रहरूले जेसुकै ल्याऊन् तर अहिले श्रीलंकालगायतका दक्षिण एसियाली ससाना देशहरूमा आइरहेका संकटहरूको शृंखला महाशक्ति राष्ट्रहरूको चलखेलकै कारण हुन गएकोमा विश्व जनमतमा कुनै भ्रम छैन ।

हाल श्रीलंका अझैं पनि आफ्नो देशमा सिर्जित आर्थिक संकटलगायतका समस्या समाधानका लागि आफंैले स्वःपहल लिने र समाधानतिर अघि बढ्ने प्रयास जारी राख्ने प्रयत्नमा देखिन्छ । लंकाली संसद्द्वारा गरिएको नयाँ राष्ट्रपतिको चयन र नयाँ राष्ट्रपति विक्रमासिंघेको आह्वानले यही कुरा प्रस्ट पारेको छ । अर्कोतिर यो अवस्थासम्म आइपुग्दा जनस्तरमा पनि श्रीलंकाली आर्थिक संकटको जरो स्वदेशमा मात्र नरहेको स्पष्ट भइसकेको छ । यसका लागि स्वदेशी तथा विदेशी सार्थक पहलको जरुरी छ । यही कारण पनि अहिले सिंगो श्रीलंका शासनमा स्थिरता पछ्याउँदै नयाँ राष्ट्रपतिको चयन गरेर अघि बढ्न थालेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी