नेपाली भाषामै इम्बोस्ड प्लेट तयारी


काठमाडौं । लामो समयदेखि विवादित इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै राख्नेगरी सरकार तयारीमा जुटेको छ ।
इम्बोस्ड नम्बर प्लेट भाषा, शुल्क तथा गुणस्तर विषयमा विवादित बन्दै आएको छ । ‘नेपाली भाषामै नम्बर प्लेट राखिनुपर्ने’ माग चौतर्फी उठिरहेकै बेला पछिल्लोपटक सरकारले तयारी अघि बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसका लागि कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । यातायातमन्त्री मोहम्मद इस्तियाक राईले अंग्रेजी भाषामा जडान भइरहेको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा रूपान्तरण गर्नेगरी कानुन मन्त्रालयसँग संशोधनका लागि राय पठाउने तयारी गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पद्भार ग्रहण गर्दै मन्त्री राईले ‘इम्बोस्ड नम्बर प्लेटको भाषा, शुल्कदर र लाइसेन्स छपाइ विषयमा अध्ययन गर्न’ सहसचिवको नेतृत्वमा समिति गठन गराएका थिए । समितिले प्रतिवेदन दिन बाँकी नै छ ।

मन्त्री राईले इम्बोस्ड नम्बर प्लेटको भाषा विषयमा ‘धेरै कानुनी जटिलता रहेको’ बताउँदै ‘त्यसका लागि अन्तरमन्त्रालयस्तरमा छलफल भइरहेको र कानुन मन्त्रालयको तर्फबाट राय पठाउन लागेको’ बताएका छन् ।

मन्त्रालयले भाषा परिवर्तनका लागि पहलकदमी सुरु गरे पनि ‘शुल्क भने हेरफेर नहुने’ जनाएको छ । मन्त्रालयले ठेक्का प्रक्रियाबाट अघि बढेको विषय भएकाले ‘शुल्क दर हेरफेर नहुने’ प्रस्ट पारेको हो ।

गत महिना यातायात व्यवस्था विभागले असारभित्र ‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान नगरिए कारबाही हुने’ आशयको सूचना जारी गरेको थियो । सूचना जारी भएपछि देशव्यापी रूपमा इम्बोस्ड नम्बर प्लेटको भाषा र शुल्क विषयमा विवाद उत्पन्न भएको थियो ।
सम्झौताअनुसार पा“च वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भए पनि सर्वोच्च अदालतमा परेको मुद्दाका कारण हालसम्म ३० हजार सवारीमा मात्रै जडान भएको छ ।

अदालती विवादका कारण जडानमा ढिलाइ भएपछि विभागले इम्बोस्ड नम्बर प्लेट छपाइ र जडान ठेक्का पाएको मलेसियन कम्पनी डेकाटुर टिइगर कम्पनीलाई २२ महिना समय थप गरेको थियो । सम्झौताअनुसार अब १२ महिना मात्रै बाँकी छ । तर, २४ लाख ७० हजार हाराहारी सवारीसाधनमा प्लेट छपाइ गर्नुपर्ने देखिएको छ ।

सरकारले गत २०७८ कात्तिकमै सूचना जारी गरेर तत्कालीन अवस्थामा नाम टुंगो लागिसकेका बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ५ प्रदेशमा १ मंसिर २०७८ बाट नयाँ दर्ता हुने सवारीमा, १ फागुन २०७८ बाट नामसारी गरिएका सवारीसाधनमा र १ जेठ २०७९ बाट नवीकरण गरिने सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
याङवरक–३ मा नेकपा एमालेका उम्मेदवार २ मतको अन्तरले बिजयी