काठमाडौं । चलचित्र छक्का पञ्जाको तीन वटा सृँखलाको सफलता पछि सोमबारबाट ‘छक्का पञ्चा ४’ को छायाँकन सुरु भएको छ । छक्का पञ्जाका तीन वटै सृँखलाका निर्माता र अभिनेता रहेको जितु नेपाल अन्तत छक्का पञ्जा ४ मा अटेनन् । यसमा आफ्नो कुनै गुनासो नरहेको अभिनेता नेपालले बताएका छन् ।
छक्का पञ्जा ४ को सोमबार बिहान भक्तपुरको कमल बिनायक गणेश मन्दिरमा शुभ साईट गरियो । जितु नेपाल सो कार्यक्रममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’लाई शुभकामना दिन पुगे । सो शुभकामना दिने क्रममा उनले यो चलचित्रमा आफु कलाकारको रुपमा नरहे पनि यो टिकको साथमा रहेको बताए । अहिले आफुहरुबीच कुनै पनि प्रकारको प्रतिस्पर्धा तथा इगो नरहेको पनि जितुले बताए । छक्का पञ्जा ४ को लागि बाहिरै बसेर पनि आफुले गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धता उनले सो क्रममा जनाए ।
गत वर्ष अभिनेता जितुले ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौलालाई हटाएका थिए । उनले दीपाको ठाउँमा अभिनेत्री करिश्मा मानन्धरलाई राखेका थिए । त्यसपछिबाट उनीहरुको सम्बन्ध चिसो भएको थियो । दीपाश्री अहिले हास्य सृँखला कमेडी क्लब च्याम्पिएनको अध्यक्षमा छिन् ।
अभिनेता जितुको भनाईलाई आत्मसाथ गर्दै छक्का पञ्जा ४ का निर्माता अभिनेता दीपकराज गिरीले ब्यबसायिक रुपमा आफुहरु अहिले फरक भए पनि मित्रतामा कुनै कमी नरहेको बताएका छन् । उनले सिनेमालाई एउटा व्यबसायको रुपमा हेरिदिन पनि आग्रह गरेका छन् ।
छक्का पञ्जाका तीन वटै सृँखलाको निर्देशन गरेकी दीपाश्री निरौलाले यसपटक छक्का पञ्जा ४ को निर्देशन जिम्मा हेमराज बिसीलाई दिएकी छिन् । यसपटक आफु निर्मातासँगै केही महत्वपूर्ण भूमिकामा रहेको उनको कथन छ । सोही कारण पनि निर्देशनको जिम्मेवारी हेमराजलाई सुम्पेको पनि उनको कथन छ । यस अघिको चलचित्र छ मायाँ छपक्कैको निर्देशन पनि उनले दीपेन्द्र लामालाई दिएकी छिन् ।
बिगतमा १६ देखि २० करोडसम्मको व्यापार गर्दै आएको छक्का पञ्जाको निर्मातामा यसपटक दीपक राज, दीपाश्री, केदार घिमिरेसँगै निर्मल शर्मा ‘गैंडा’ पनि थपिएका छन् । पहिलो र दोश्रो सृँखलामा निर्माता रहेको निर्मल तेश्रो सृँखलामा निर्माणसँगै कुनै पनि जिम्मेवारीमा थिएनन् ।
छक्का पञ्जा ४ मा यसपटक अभिनेत्रीहरु पनि सबै परिवर्तन भएका छन् । नायिकामा बेनिशा हमाल, मलिना जोशी र दीपाश्री आफैं रहेका छन् । यो चलचित्रमा यि नायिकासँगै दीपकराज गिरी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायतको कलाकारको मुख्य भूमिका रहने मुहुर्त समारोहमा जानकारी गराईयो । मुहुर्तसँगै चलचित्रको छायाँकन सोमबारबाटै सुरु गरिएको छ ।