महानगरमा छुट्टै कानुन हुनु पर्ने मेयरहरुको माग


पोखरा । महानगरका मेयरहरुले महानगरका लागि छुट्टै ऐन माग गरेका छन् । उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरमा संघीय संसदबाट छुट्टै ऐन जारी गर्नुपर्ने माग गरेका हुन् ।
नेपालका ६ महानगरका मेयरहरु सम्मिलित दुईदिने मेट्रो मेयर मिट पोखरा–२०७९ पछि सो मागसहित आइतबार सातबुँदे संयुक्त घोेषणापत्र जारी गरेका हुन् । आगामी सम्मेलन भरतपुरमा हुनेछ ।

घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, ‘महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवाप्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्नसमेत अनुरोध गर्दछौं ।’
पत्रकार सम्मेलनमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले १० लाख जनसंख्या रहेको महानगर र ५ सयमात्र जनसंख्या रहेको गाउँपालिकामा एउटै खालको कानुन हुन नहुने बताए ।

सम्मेलनमा खासगरी महानगरमा फोहोर व्यवस्थापन मुख्य चुनौती रहेको निष्कर्ष निकालिएको सम्मेलन आयोजक पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । उनले ६ महानगरमै मुख्य चुनौतीको रुपमा फोहोर डम्पिङको सट्टा व्यवस्थापन र प्रशोधन गर्दै जानुपर्ने विषयमा सम्मेलनको निष्कर्ष रहेको जानकारी दिए । उनले भने, ‘भौगोलिक हिसाबले फरक फरक रहे पनि सबै महानगरहरुमा फोहोर कसरी व्यवस्थापन गर्ने भन्नेमा गहन छलफल भएको र यसका लागि साझा अवधारणा बनाएर जाने भन्नेमा सबै एकमत भएका छौं ।’
यसैगरी, महानगरका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनालाई सम्मान र सम्बोधन गर्दै महानगरबीच पारस्परिक सम्पर्क सञ्जाल प्रबद्र्धन गरी आपसी सहयोग र सहकार्यलाई ‘महानगर मञ्च नेपाल’ माध्यमद्वारा संस्थागत गर्न प्रण गर्दछौं भनिएको छ । सो महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन नेपालको आयोजनासँगै त्यसका प्रतिबद्धताहरुको कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालय समेतको आवश्यक प्रबन्ध गर्न सहमति गरिएको छ ।

संघीय एवं प्रादेशिक योजना निर्माण प्रक्रिया र पद्दतिसँग समेत सामञ्जस्य हुने गरी महानगरीय नीति तथा योजना तर्जुमा र कार्यान्वयनको गतिलाई तीव्र बनाई व्यवस्थित शहरीकरण, तथ्यमा आधारित नीति निर्माण र उपलब्धिमूलक एवं जवाफदेही कार्यान्वयन प्रणाली सुनिश्चित गर्न हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने, महानगर, यसका पदाधिकारी पक्ष वा विपक्ष भै कानुनी रक्षा÷प्रतिरक्षा गर्नुपर्ने विषय जटिल बन्दै गइरहेकोमा संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्थाबमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्न सहमति गरेका छन् ।

महानगरका छिमेकी पालिकासमेत हरित तथा समावेशी आधार सुशासन तथा विकास, वित्तीय लगानी, आयोजना तर्जुमा र कार्यान्वयन एवं सेवा प्रवाहका क्षेत्रमा सहकार्य गर्ने, महानगरहरुका पारस्परिक सवाल, समस्या र चुनौती समन्वित ढंगबाट सम्बोधन गर्ने सन्दर्भमा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अंग र निकायहरुसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क समन्वय र सहकार्य गर्न ऐक्यबद्धता सम्मेलनले गरेको छ ।

‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नाराका साथ पोखराको पर्यटकीय क्षेत्र सराङकोटमा भएको सम्मेलनमा पोखरा, काठमाडौं, ललितपुर, विराटनगर, भरतपुर र वीरगञ्ज महानगरका मेयर, उपमेय र प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । पत्रकार सम्मेलनमा भने काठमाडौं र भरतपुरका मेयर उपस्थित थिएनन् । विराटनगरका मेयर नागेश कोइराला र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सम्मेलन उपब्धिमूलक भएको भन्दै अनुभव आदानप्रदानमा सघाउ पुगेको बताए ।

सम्मेलनमा सहभागीबीच अनुभव आदानप्रदान, आफ्नो महानगरका मुख्य योजनाहरू, कार्यान्वयनका चुनौतीहरु, प्रवाह हुने सेवा, काम, कारबाही तथा विकास, निर्माणका कार्यलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने सँगै महानगरका साझा सवाल तथा आगामी कार्यदिशालगायत विषयमा केन्द्रित रहेर छलफल गरिएको पोखराका मेयर आचार्यले बताए । सम्मेलनमा विभिन्न विषयमा विज्ञहरुले सहजीकरण समेत गरेका थिए ।

सम्मेलनमा पोखराका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी, विराटनगरका मेयर नागेश कोइराला र वीरगञ्जका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमसहित प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीको मोहन्यालका अधिकृत बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कुरी-कुरी