जुम्ला । खलंगाबाट कचौरा आकारको विशाल फाँट गुठीचौर हुँदै दूधकुण्डली तालबाट बगेको खोला पछ्याउँदै ३ घण्टाको मोटर यात्रापछि जुम्लाको अन्तिम गाउँ चोत्रा पुगिन्छ ।
टाढैबाट मुगाल समुदायको पहिचान झल्किने ध्वजाले स्वागत गर्छन् । यो गाउँ पुग्दा हुल महिला भेटिए । उनीहरूले खस्रुको जंगलबाट संकलन गरिएका ढोकाया साग बाकेका छन् । ‘जंगलमा पाइने रुगासाग, न्युटो, ढोकाया, निगली साग यहाँका अतिरिक्त सागपात हुन्,’ ती महिलाले सुनाइहाले, ‘सुख्खा हिउँद कटाउन वर्षायाममा संकलन गर्नुपर्नेहुन्छ ।’
ढोकाया अर्थात् जंगली साग । वर्षायाममा संकलन गरिएको सागले सुख्खा हिउँदमा चोत्राबासीको चुलो स्वादिलो बनाउँछ । त्यसो त, जंगलमा पाइने सागदेखि जडीबुटी खाएका चोत्राबासी अरूभन्दा बलिया लाग्छन् ।
समुद्री सतहबाट ३ हजार मिटर उचाइमा अवस्थित चोत्रा गाउँमा चिसोका कारण वर्षमा एक मात्रै बाली पाक्छ । यहाँ जीविकोपार्जनका लागि दुई विकल्प मात्रै छन्– जडीबुटी संकलन र व्यापार ।
‘बढी हिउँ पर्ने, चिसो अत्यधिक हुने हुँदा १२ महिनामा एक बाली मात्रै पाक्छ, झन्डै दशक भयो, गाउँमा परम्परागत खेती त्यागेर सबै व्यापार र जडीबुटी संकलनमा लागेका छन्,’ स्थानीय हिमा रोकाया भन्छिन् ।
असोज–कात्तिकमा सेतो चिनी संकलनको चटारो हुन्छ भने वैशाख लाग्नासाथ चोत्रा गाउँ सुनसान बन्छ । यार्सा संकलनका लागि सबै महिला–पुरुष पाटन पुग्छन् । महिनामा लाखौं आम्दानी हुन्छ । तर, कतिपयले पाटनमै कमाई खर्च पनि गर्छन् । पुरुषको ‘फजुल खर्च’ रोक्न भए पनि ‘महिला साथमै पाटन पुग्ने गरेको’ निमा महातारा बताउँछिन् ।
चोत्राबासीको रहनसहन र भाषा आफ्नै छ । उनीहरूको खामभाषा अन्य भाषीलाई बुझ्न भने कठिन हुन्छ । उनीहरू नेपाली भाषा बोल्छन् र सहजै बुझ्छन् पनि ।
चोत्रा गाउँका पुरुषको अर्को परम्परागत पेसा हो, चीनसँगको व्यापार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’मा जस्तै चोत्रा गाउँका ‘मदन’हरू व्यापार गर्न तिब्बत पुग्छन् ।
‘चीनको भाषासँग चोत्रावासीको भाषा हुबहु मिल्दैन तर चिनियाँले भनेको हामी बुझ्छौं, उनीहरूले पनि आंशिक बुझ्दा सजिलै व्यापार गर्न सकिन्छ, चिनियाँ र हामीलाई आवश्यकताले जोडेको छ,’ स्थानीय फुर्वाछिरिङ महातारा सुनाउँछन् । चीनसँग हुबहु भाषा नमिले पनि आवश्यकताले जोडेको उनको अनुभव छ । यार्सा, लत्ताकपडा व्यापार गर्न चीन पुग्ने त्यहाँको वातावरण, व्यापारशैलीसँग परिचित छन् ।
गुठीचौर गाउँपालिका–१ चोत्रालगायत उपल्ला बस्तीलाई विकास र प्रविधिमा जोड्न पालिकाले विशेष प्राथमिकता दिने अध्यक्ष दानबहादुर बुढा बताउँछन् । ‘गुठीचौर गाउँपालिकाका उपल्ला बस्तीको जनजीवन निकै कष्टकर छ,’ उनी भन्छन्, ‘प्राकृतिक रूपमा धनी यी बस्ती शिक्षा, स्वास्थ्य, सञ्चारलगायत सुविधाबाट टाढा छन्, यी क्षेत्रलाई पाँच वर्षको कार्यकालमा विशेष प्राथमिकतामा राखिनेछ ।’
प्रकृतिको बरदान जडीबुटीले सप्रिएको गाउँमा बाहिरका मान्छेले ‘अव्यवस्थित जडीबुटी संकलन गरिदिँदा भण्डार रित्तिने’ चिन्तामा छन्, चोत्रावासी । जडीबुटी उचित संरक्षण र समुचित प्रयोग हुने वातावरण तय गरिदिन उनीहरूको माग छ ।