नुवाकोट । मंगलवार राति वर्षासँगै तादी खोलामा बाढी आउँदा जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । तादी खोलामा बाढी आउँदा ५ वटा पक्की पुल, धानखेती तथा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले जिल्लाकै प्रसिद्ध जालपादेवी मन्दिरमा क्षति पु-याएको छ ।
वर्षाको कारण राजधानी काठमाडौ जाने छोटो मार्ग छहरे–टोखा सडक खण्डको ढिकुरे बजारमा रहेको पक्कीपुलमा क्षति पुगेको छ । पुलको एकापट्टिट्टो भाग बगाउँदा अवरुद्ध भएको पुल अपरान्हपछि अस्थायी रुपमा सञ्चालनमा आएको छ । ढिकुरेबजार नजिकै रहेको पुलको ढिकुरेतिरको भागमा जाली हालेर बनाइएको सडक खोलाले कटान गरेपछि अवरुद्ध भएको हो ।
तादी खोलामै आएको बाढीका कारण तादी गापा र पन्चकन्या गाउँपालिका जोड्ने आँप्रबजारमा रहेको पक्की पुलमा पनि क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मानवीय क्षति नभएपनि भारी वर्षाले जिल्लामा पु-याएको क्षतिको विवरण संलकन भइरहेको बताए ।
दुप्चेश्वर गाउँपालिका वडा नं. ३ राउतबेसीमा सिम्ले र कसेरी धानखेत बाढीले बगाएको छ । यस्तै तादी खोलाले बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकामा पनि क्षति पु-याएको छ । बेलकोटफाँट, घोरघाटफाँट, मालाकोटलगायतका फाँटहरुमा पनि धान खेत बगाएको छ । बाढी र पहिरोले पु-याएको क्षतिको एकीन तथ्याङक संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तादी गाउँपालिका वडा नं. ४ र दुप्चेश्वर गाउँपालिका वडा नं. ५ मा निर्माण भएको बुद्धभूमि हाईड्रोपावरमा पनि बाढीले क्षति पु-याएको छ । बाढी फसेका तीन जना कामदारलाई प्रहरीले बुधवार विहान उद्दार गरेको थियो । जल विद्युतको बाधस्थलमा बाढीले क्षति पु-याएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए । भीषण वर्षाका कारण त्रिशूली–धुन्चे सडक खण्डको उत्तरपौवाको बनुवा नजिकै पहिरो जाँदा सो सडकखउण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि हरेक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका भक्तजनहरु समस्यामा परेका छन् ।