- किर्ते गर्न खोज्ने चार पक्राउ
- काठमाडौं । भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन खोज्ने चार जना पक्राउ परेका छन् । फर्जी कागजातका आधारमा नागरिकता बनाउन खोज्ने काठमाडांै टोखा नगरपालिका–३ का रेशमलाल गुरुङ, कल्पना गुरुङ, उर्मिला गुरुङ र मधुविलास अधिकारी पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडांै हाताभित्रैबाट पक्राउ गरिएको हो । भारतीय नागरिकसँग विवाह गरेकी कल्पना गुरुङले तिनै भारतीय नागरिकबाट दार्जिलिङमा जन्मिएकी आफ्नी छोरी उर्मिलाको नेपाली नागरिकता बनाउन खोज्दा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नक्कली कागजात लिएर नागरिकता बनाउन आएका चार जनालाई पक्राउ गरिएको जानकारी दिए । आचार्यका अनुसार उर्मिला आफ्नी आमाका दोस्रा पति रेशमलाल गुरुङसँग नागरिकता बनाउन आएकी थिइन् । जबकि, उनी भारतीय नागरिककी छोरी हुन् । उनकी आमाले भने उनी जन्मिएपछि भारतीय नागरिकलाई छोडेर नेपालकै रेशमलालसँग दोस्रो विवाह गरेकी थिइन् ।
भारतीय नागरिकबाट जन्मिएकी भए पनि उर्मिलाको नागरिकताका लागि तयार पारिएको सिफारिसमा बाबुको नाम रेशमलाल उल्लेख गरिएको थियो । जिल्ला प्रशासन कार्यालका अधिकारीले नागरिकता का लागि उर्मिलासँग बाबुका ’bout सोधीखोजी गर्दा उनले कुन बाबु ? पहिलो कि दोस्रो भनेर जवाफ दिएपछि उनी भारतीय नागरिक भएको खुलेको थियो । त्यसलगत्तै उनीहरूलाई पक्राउ गरिएको थियो । उर्मिला भारतीय नागरिकबाट जन्मिएकी भएकाले उनलाई नागरिकता दिने नमिल्ने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
प्रहरी नियन्त्रणमा रहेका चारै जनालाई २५ माघसम्मको म्याद थप गरी अनुसन्धान जारी राखिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबेन्द्र बोगटीले जानकारी दिए । यस प्रकरणमा नागरिकताका लागि सिफारिस गर्नेहरूमाथि समेत प्रहरीले छानबिन थालेको छ । यस प्रकरणमा टोखा नगरपालिका– ३ का अध्यक्ष सिंहराज श्रेष्ठमाथि समेत छानबिन थालिएको प्रहरीले जनाएको छ । अध्यक्ष सिंहले भने आफूमाथि छानबिन नगरिएको दाबी गरे । श्रेष्ठले निज उर्मिला र कल्पना’bout आँबुखैरिनी गाउँपालिका तनहुँले जन्म र बसाइँसराइ दर्ता गरेको पत्रको आधारमा सिफारिस गरेको बताए । ‘आँबुखैरेनी गाउँपालिकामा बुझ्दा सरजमिन गरेरै सिफारिस गरेको भनेका छन्,’ अध्यक्ष श्रेष्ठले भने ।
बाबु बनेका रेशमलाल गुरुङको स्थायी ठेगाना आँबुखैरिनी गाउँपालिका–१ भएको हुनाले उनीहरूले उर्मिलाको जन्म दर्ता र बसाइँसराइ त्यहाँबाटै बनाएर ल्याएका थिए । तर, बसाइँसराइ र जन्म दर्ता ल्याएपछि टोखाका वडा अध्यक्षले सहजै सिफारिस दिएको देखिएको छ । २०५२ साल २५ भदौमा जन्मिएकी भनिएकी उर्मिलाको भने जन्म दर्ता २०७४ साल १४ माघमा मात्रै बनाइएको छ । यति धेरै समय पछि नागरिकता बनाउन आउँदा पनि कुनै निकायले ध्यान नदिँदा समस्या आएको जिल्ला प्रशासन कार्यालय काठमाडांैले जनाएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ (३) कसैले नेपाली नागरिकताको भूmठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनेछ ।तर उनीहरूले नागरिकता बनाई नसकेको हुँदा भूmठो वा किर्ते उद्योगअन्तर्गत आधा सजाय हुने प्रहरी परिसरले जनाएको छ ।
को हुन् नागरिकता बनाउने ?
प्रशासन स्रोतका अनुसार आमा बन्ने कल्पना गुरुङ नेपालमा जन्मिएकी हुन् । उनको विवाह दार्जिलिङका भारतीय नागरिकसँग भएको थियो । भारतीयसँग रहँदा कल्पनाकी एक छोरी थिइन् । उनले फेरि नेपाली नागरिकसँग विवाह गरिन् । नेपालीसँग विवाह गर्दा छोरी पनि साथै लिएर आइन् । तिनै भारतीय नागरिक बाबुबाट जम्मिएकी छोरीको नागरिकता बनाउने क्रममा बाबु बनेका रेशमलाल गुरुङ, आमा कल्पना गुरुङ, उर्मिला गुरुङ र बिचौलिया मधुविलास अधिकारी पक्राउ परेको प्रशासन स्रोतले जानकारी दिएको छ ।