काठमाडौं । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
सोमबार निगम मुख्यालयमा अध्यक्ष अधिकारीकै अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक साताभित्र स्पष्टीकरण बुझाउन माग गरिएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । बैठकमा अध्यक्षबाहेक सबै सदस्यले एकमतले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।
आफ्नै अध्यतामा बसेको बैठकद्वारा स्पष्टीकरण, नोट अफ डिसेन्ट
तर, अध्यक्ष अधिकारीले भने सो निर्णयविरुद्ध नोट अफ डिसेन्ट लेखेका छन् । अधिकारीको अध्यक्षतामा रहेको सञ्चालक समितिका पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल, अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली, तथा सदस्यहरू सन्तोष डिसी, अमृतमान श्रेष्ठ र सुधीर राई रहेका छन् ।
स्पष्टीकरणमा कमिसनको प्रलोभनमा आठ महिनादेखि निगमको न्यारोबडीको इन्जिन मर्मत नगरी भाडामा ल्याइएको, सो इन्जिन आठ महिनादेखि स्थानीय एजेन्ट खडा गरेर दैनिक ३ लाख रुपैयाँ (२ हजार ३ सय डलर)मा भाडामा चलाउनुको कारण, सर्वसाधारणलाई टिकट बिक्री गरेर जहाज चार्टर उडानमा लगाइएको, करार र ज्यालादारीमा प्रक्रिया उल्लंघन गरेर भर्ना गरिएको, विदेशमा कर्मचारी पदस्थापनमा पक्षपात तथा प्रक्रिया उल्लंघन गरिएको, पाँचवटा चिनियाँ जहाजको व्यवस्थापन गर्न नसकेको, हवाई टिकटलाई अनलाइनबाट बिक्री गर्न नसकेकोलगायतका आरोप लगाइएको छ ।
पर्यटन मन्त्रालयले अधिकारीसँग दुईपटक स्पष्टीकरण र एकपटक बयान लिएको थियो । त्यस्तै, पर्यटन सचिवको संयोजकत्वमा उनीमाथि छानबिन गर्न समितिसमेत गठन गरिएको थियो । मन्त्रिपरिषद्ले उनलाई एकपटक निलम्बन र बर्खास्त गरेको थियो ।
मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको साउन १९ गतेको अल्पकालीन अन्तरिम आदेश देखाउँदै अधिकारी निगम फर्किएका छन् । यो मुद्दाको पेसी आउँदो शुक्रबारका लागि तोकिएको छ ।