काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमै व्यापार घटेको छ ।
चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार वैदेशिक व्यापारमा नकारात्मक सूचकसहित चुकेको छ ।
भन्सार विभागले चालू आवको सुरुवाती महिना साउनमा गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक व्यापार घटेको देखाएको छ । विभागका अनुसार गत साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजारबराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४ दशमलव ८१ प्रतिशतले कम हो ।
– साउनमा कुल १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात
– विमानस्थल भन्सारबाट पनि निर्यात घट्यो
गत आर्थिक वर्ष २०७८÷७९ मा कुल १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजारबराबरको वैदेशिक व्यापार भएको थियो । निर्यातसँगै आयात पनि घटेकाले यो महिनामा व्यापार घाटा भने १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजारबराबरको भएको छ । यो गत साउनको तुलनामा १० दशमलव ३८ प्रतिशत कम हो ।
गत आव साउनमा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको थियो । हाल, १ सयबराबर वैदेशिक व्यापार भएमा ८९ दशमलव ८६ प्रतिशत आयात र १० दशमलव १४ प्रतिशत निर्यातको हिस्सा रहेको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार चालू आवको साउनमा मात्र कुल १४ अर्ब ८० करोड ९७ लाखबराबरको वस्तु निर्यात भएको छ । यो गत आवको सोही महिनाको तुलनामा २८ दशमलब ६८ प्रतिशतले न्यून हो ।
गत आवको साउनमा २० अर्ब ७६ करोड ५१ लाखबराबरको वस्तु निर्यात भएको थियो । यस अवधिमा नेपालबाट सबैभन्दा धेरै वनस्पति तेल निर्यात भएको छ । यस्तो निर्यात ५ अर्ब ४२ करोडबराबर भएको विभागले जनाएको छ ।
समीक्षा अवधिमा निर्यात व्यापारसँगै आयातसमेत घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनमा कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाखबराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही महिनाको तुलनामा १२ दशमलव ९० प्रतिशतले न्यून हो ।
गत आव साउनमा १ खर्ब ५० अर्ब ७३ करोडबराबरको वस्तु तथा सामान आयात भएको थियो । आयात घटेसँगै अब बाह्य क्षेत्रमा परेको दबाब भने केही कम हुनेछ । जसले विलासिताका सामान भनेर सरकारले मह“गा सवारीसाधन र विदेशी मदिरा तथा विद्युतीय सामग्रीमा लगाएको अंकुशकै परिणामजस्तो देखिएको छ ।
विगतका वर्षको तुलनामा अहिले आयात घटेको देखिए पनि चालू आवको पहिलो महिना साउनमा नेपालले २५ अर्बबराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । यसअघि, नेपालले औसतमा करिब मासिक ३० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गर्दै आएको थियो ।
गत साउनमा करिब ५ अर्बको पेट्रोलियम पदार्थ आयात कम भएको देखिएको छ । यसले समग्र आयात कम गर्न सहयोग पुगेको विभागको भनाइ छ । यसैगरी, साउनमा फलाम र स्टिलजन्य वस्तु आयातमा ११ अर्ब २३ करोड बाहिरिएको छ ।
चोभार बन्दरगाहबाट ३ करोड व्यापार
सो अवधिमा नयाँ भन्सार बिन्दु काठमाडौं चोभार सुख्खा बन्दरगाहबाट करिब ३ करोडबराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९÷८० साउनको तथ्यांकअनुसार साउनमा २ करोड ९६ लाखबराबरको वैदेशिक व्यापार भएको हो ।
भन्सार विभागका अनुसार यस भन्सारबाट साउनमा ३३ लाख ८ हजारबराबरको वस्तु निर्यात भएको छ । आयात भने २ करोड ६३ लाख ९३ हजार रुपैयाँबराबरको भएको छ ।
यसैगरी, अर्को नयाँ भन्सार बिन्दु भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालू आर्थिक वर्ष पहिलो महिना साउनमा ५ लाख ९२ हजारबराबरको वस्तु आयात भएको छ । सो भन्सारबाट निर्यात भने शून्य भएको विभागले जनाएको छ ।
यसअघि, गत जेठ र असारमा भने यो भन्सार बिन्दुबाट वैदेशिक व्यापार हुन सकेको थिएन । नेपालमा हवाईमार्गबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र वैदेशिक व्यापारको बिन्दु रहेकोमा अहिले बल्ल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि थप भन्सार बिन्दु भएको छ ।
सो अवधिमा काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने ३ अर्ब १६ करोडको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २१ दशमलव ३७ प्रतिशत हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट आयात भने १२ अर्ब ७६ करोडबराबर भएको छ । यो कुल आयातको ९ दशमलव ७३ प्रतिशत भएको भन्सार विभागले जनाएको छ ।