शैक्षिक क्षेत्रको लाजमर्दो उपहास

नेपाल विद्यार्थी संघले लामो समयदेखि गर्दै आएको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालय बन्धक बनिरहेको छ । देशकै जेठो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय यसरी कुनै पार्टीनिकट विद्यार्थी संगठनको पेलाइ र हेपाइमा लामो समयसम्म बन्धक बनिरहेको यो पहिलोपटक हो । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कारण ३ सय दिनदेखि त्रिभुवन विश्वविद्यालय निरन्तर बन्धक बन्दै आएको छ । यस प्रकारको विकृति रोक्न सबैले सबैतिरबाट निरन्तर आवाज उठाउँदै आइरहेका पनि छन् । शैक्षिक क्षेत्रमा भएको बेथितिका कारण देशको अन्तर्राष्ट्रिय बेइज्जत पनि भइरहेको छ । तर, यस’bout चासो लिनुपर्ने मुख्य सरोकारवाला नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत घाम तापेर बसिरहेका छन् । प्रधानमन्त्री तथा गठबन्धनका मुख्य नेता नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा आफंै सिंगो देश र त्रिभुवन विश्वविद्यालयका कुलपतिरूपी हर्ताकर्ता हुन् । आश्चर्यको विषय त के हुन गएको छ भने उनकै पार्टी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले ३ सय दिनदेखि निरन्तर त्रिविमा तालाबन्दी गरी सिंगो शैक्षिक क्षेत्र बन्धक बनाउँदा पनि प्रधानमन्त्री मूकदर्शक बनेर बस्नु घोर विडम्बना भएको छ ।

नेविसंघले हातमा कानुन लिएर देशको शैक्षिक क्षेत्र अस्तव्यस्त बनाएको अवस्थाप्रति जिम्मेवार भनिनेहरू न त बोल्न सकेका छन्, न त पहलकदमी लिन सकिरहेका छन् । तालाबन्दी कहिले खुल्ने हो ठेगान छैन । जनसाधारणबीच योजनबद्ध रूपमा सत्ताधारी पार्टीले नै यसो गर्न लगाएको त होइन भन्ने प्रश्न उठ्न पनि थालिसकेको छ । त्यसो त त्रिवि पूर्ण रूपमा असफल गराउन शैक्षिक माफियाहरूको चलखेल बढिरहेको भन्ने कुरा पनि प्रचारमा आइरहेका छन् । यस्ता माफिया कतै सत्ताधारी गठबन्धनको लगाम हातमा लिएर अघि बढिरहेका त छैनन् भन्ने प्रश्न पनि जनतामाझ उठिरहेको छ । नेविसंघले तालाबन्दीका लागि उठाएका माग हेर्दा केही जनविश्वास जित्ने खालका नारा पनि उठाएको छ । त्रिविमा भ्रष्टाचार, अनियमितताजस्ता मुद्दा उठाएर राम्रो गरेको जस्तो पनि पारेको छ । तर, लामो समयदेखि त्रिविलाई बन्धक बनाएर प्रशासनिकलगायत शैक्षिक जगत् र शैक्षिक मनोविज्ञानमा पर्न गइरहेको असरको लेखाजोखा कसले गर्ने र त्यसको जिम्मा कसले लिने हेर्दा अगाडि एउटा कुरा होला तर त्यसको पछाडि लुकेको नियतको जिम्मेवार को हुने ? सरकार स्वयं यस’bout पन्छन सक्ने अवस्था छैन । बिनाप्रशासन शैक्षिक क्षेत्र कसरी सुचारु होला र त्यसले के कस्तो प्रतिफल देला !

हाँसो र उदेकलाग्दो कुरा त के छ भने विश्वविद्यालयमा कुलपति पनि छन्, सहकुलपति पनि छन् । उनीहरू स्वयं प्रधानमन्त्री र मन्त्री पनि छन् । उनीहरू सत्ता गठबन्धनका गठबन्धक पनि हुन् र छन् पनि । उनीहरूकै विद्यार्थी संगठनले त्रिविमा ३ सय दिनदेखि निरन्तर तालाबन्दी पनि गरिरहेको छ । उनीहरू समस्या समाधान गर्ने हैसियतमा छन् । त्यहीँ ओहदा ओगटेर बसेका छन् । फेरि तिनीहरूकै मातहतबाट यी सबै काम भइरहेका छन् । आखिर यस्ता कामका लागि जिम्मेवार को त ? नेविसंघले आफ्ना माग सम्बोधनका लागि संघर्षको विकल्प नभएको भनिरहेको छ । संघर्षका फरक वैकल्पिक कार्यक्रम लिएर जान पनि सहमत देखिँदैन । तालाबन्दी नै निर्विकल्प बनाउँदै आएको छ । कुलपति, सहकुलपति कुम्भकर्ण निद्रामा छन् । प्रायः त्रिवि परिसरमै झडप हुन्छ । त्रिवि परिसर रणमैदान बन्छ । प्रहरी तिनै कुलपतिले सञ्चालन गर्छन् । उता विद्यार्थी पनि तिनै कुलपतिले सञ्चालन गर्छन् । त्रिवि प्रशासन बन्दको बन्दै छ । तमासा दोहरिएको दोहरियै छ । अब बिनाढिलाइ त्रिवि शैक्षिक क्षेत्रमा भइरहेको लाजमर्दो उपहास तुरन्त बन्द गर !

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित