काठमाडौं । चलचित्र प्रेमगीत ३ नेपालमा नेपाली र भारत लगायत विभिन्न देशमा हिन्दी भाषामा आगामी ७ असोजबाट रिलिज हुने भएको छ । यो चलचित्रको नेपाली र हिन्दी दुबै भाषाको ट्रेलर बिहिबार रिलिज गरिएको छ ।
यो फिल्मलाई भारत लगायत अन्य देशमा ओटिटी प्लेटफर्ममा जी म्युजिकले प्रदर्शन गर्दैछ । सोही कारण यो चलचित्रको हिन्दी भर्सनको ट्रेलर जी म्युजिकले रिलिज गरेको छ । करिब दुई मिनटको यो भिडियोले तीन घन्टामै तीन लाख भन्दा बढी भ्युज पाएको थियो । प्रेमगीत ३ को नेपाली भाषाको ट्रेलरलाई ओएसआर डिजिटलले सार्वजनिक गरेको छ ।
यो चलचित्रको ट्रेलर रिलिजका लागि अभिनेता प्रदीप खड्का, निर्देशक निर्माता सन्तोष सेन, नायक शिब श्रेष्ठ, खल चरित्र सुनिल थापा दुई दिन अघि नै मुम्बई पुगेका थिए । यो फिल्मलाई भारतका सिनेमा हलमा रिलिजका लागि आफुहरु यतीबेला मुम्बईमा बसेर प्रचारमा जुटेको यसका अभिनेता प्रदीप खड्काले बताएका छन् । आफ्नो पछिल्लो चलचित्र प्रकाशको रिलिजका निम्ति एक साता नेपाल आएका उनी फेरी मुम्बई गएका हुन् । भारतमा सिनेमा हलमा प्रदर्शन पछि यो फिल्मलाई जी म्युजिक सहित अन्य प्लेटफर्मबाट रिलिज गरिने पनि निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रमा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको अभिनय छ ।
आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतम मिलेर सिनेमा लेखेका हुन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । सन्तोष सेनले स्व. छेतेन गुरुङसँग मिलेर निर्देशनमा समेत डेव्यु गरेका ‘प्रेम गीत ३’ हिन्दी र नेपालीमा आउने खबरले यतीबेला नेपाली दर्शकहरु पनि उत्साहित छन् ।