इलाममा धमाधम उम्मेदवार छनोट गर्दै दल

Rajdhani Rastriya Dainik | Online Nepali News Portal



इलाम । नेकपा (एमाले) उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस भएका छन् ।

२ नम्बर क्षेत्रीय कमिटीले शनिबार नेम्बाङको नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको हो । अरूको नाम सिफारिस नभएकाले क्षेत्र २ मा एमालेबाट नेम्बाङको उम्मेदवारी निश्चित भएको छ ।

पार्टीमातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने जिल्ला कमिटी उपसचिव रविन्द्र सुवेदीले जानकारी दिए । नेम्बाङ २०५६ सालयताका सबै संसदीय/संविधान सभा निर्वाचनमा यही क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन् । उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए ।

एमालेले क्षेत्र २ (क)बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको छ । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुखसमेत रहेका बराल जिल्लाका शालीन नेता मानिन्छन् ।

यो क्षेत्रबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै रामबहादुर राना मगर विजयी बनेका थिए । क्षेत्र २ (ख)मा एमाले केन्द्रीय सदस्य राम राना उम्मेदवार बनाउने तयारी छ । उनी २०७४ सालमा इलाम क्षेत्र २ (क)बाट निर्वाचन जितेर प्रदेश १ को कृषिमन्त्री भएका थिए । उनै राना अहिले क्षेत्र २ (ख)मा चुनाव लड्न लागेका हुन् ।

यता, क्षेत्र २ मा प्रतिनिधिसभा निर्वाचनमा जिल्ला अध्यक्ष महेश बस्नेत उम्मेदवार बन्ने पक्का छ । यस क्षेत्रमा पटक पटक चुनाव जितेका झालनाथ खनाल एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएसँगै बस्नेत क्षेत्र १ मा चुनाव लड्ने तयारीमा लागेका छन् ।

इलाम नगरपालिकाका निवर्तमान नगरप्रमुखसमेत रहेका बस्नेतले कांग्रेसका हिमाल कर्माचार्यलाई हराएर नगरप्रमुख जितेका थिए ।
इलाम क्षेत्र १ (क) मा ७ जनाको चर्चा आएको छ । जसमा कृष्णप्रसाद सुवेदी, युवराज वासिष्ठ, शोभा पराजुली, नरेश तामाङ, खगेन्द्र घिमिरे, देवकुमार दाहाल र नोमनाथ खतिवडाको नाम सिफारिस भएको छ ।

त्यस्तै, क्षेत्र १ (ख)मा शनिबार बसेको बैठकले ध्रुव श्रेष्ठ, दीपक थेवे, दीपेन्द्र राई, विष्णुमाया रिमाल आचार्य, खड्ग आले मगर, तुलसीराम न्यौपाने (उपेन्द्र) सुजन नेपाल गरी ७ जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ रणबहादुर गुरुङ र कुमारी आलेमगर सिफारिस भएका छन् ।

यता, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले नाम सिफारिस गरिने उम्मेदवारको नाम टुंग्याएको छ । शनिबार बसेको जिल्ला समिति बैठकले प्रतिनिधिसभातर्फ क्षेत्र १ मा जिल्ला सभापति डम्बरबहादुर खड्का र क्षेत्र २ मा नेता भेषराज आचार्यको नाम प्राथमिकतामा सिफारिस गरेको छ ।

क्षेत्र १ मा खड्का र आचार्यपछि भूपेन्द्र कट्टेल, टीकाराम लेप्चा र सुजता परियारको नाम सिफारिस गरिएको छ । क्षेत्र २ मा पनि आचार्य र खड्कापछि केशव थापा, बेनुपराज प्रसाईं, नगेन्द्र कुमाल, सुजता परियार र रमेश लिङ्देनको नाम सिफारिस भएको पार्टी सचिव निरोज खड्गीले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा (क)मा खगेश्वरी पौडेल बन्दना, देवेन्द्र सुवेदी, उद्धव पौडेल, देवेन्द्रकुमार राई, हुकुमलाल थेवे, हरि लुइँटेल, सञ्जीव ढकाल, प्रकाश भट्टराई र मिलन क्षेत्रीको नाम छानिएको छ ।

क्षेत्र १ (ख) मा शमशेर राई, विष्णु (हेमकुमार) कार्की, भीष्म प्रधान, निष्कल राई, जीवन नेपाल, सन्तोष गुरुङ र ध्रुव राई सिफारिसमा परेका छन् ।

प्रतिनिधिसभा क्षेत्र २ प्रदेशसभा (क)मा निरोज खड्गी, राजेन्द्र शर्मा, गोविन्द गिरी, पूर्ण गौतम, राजेन्द्र बास्तोला र प्रदीप अर्यालको नाम छ भने क्षेत्र २ को (ख)मा लक्ष्मण पाण्डे, यामकुमार बुढाथोकी, कमल कार्की, डम्बरबहादुर लिम्बू र रामकुमार श्रेष्ठको नाम सिफारिस हुने सचिव खड्गी बताउ“छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झालनाथ खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

खनाल २०७४ सालको चुनाव जितेकै क्षेत्रबाट पुनः उम्मेदवार सिफारिस भएका हुन् । नेकपा एस जिल्ला सचिवालय बैठकले केही दिनअघि उनको नाम सिफारिस निर्णय गरे पनि जिल्लाका सबै क्षेत्रका उम्मेदवार प्रदेशमा सिफारिस गरिएको पार्टी कार्यालय सचिव सोम शर्माले जानकारी दिए । उनका अनुसार सचिवालयले गरेको निर्णयमा पुनः सबै नेताको परामर्शमा सामान्य हेरफेर गरी उम्मेदवार नाम सिफारिस गरिएको हो ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को उम्मेदवारमा रामचन्द्र पराजुली, पूर्णबहादुर बस्नेत र प्रमिला बस्नेतको नाम सिफारिस गरिएको छ । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा लामो समय अध्यापन गरी सेवा निवृत्त पराजुली कम्युनिस्टको भूमिगत आन्दोलनका सशक्त योद्धाका रूपमा चिनिन्छन् । उनी अहिले नेकपा एस केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज हुन् ।

प्रदेशसभातर्फ क्षेत्र १ (क) मा खिनु लंवा लिम्बू, राममाया राई, मुना राई, भक्त केसी, लालबहादुर सुब्बा र जितबहादुर राईको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित खिनु १ नम्बर प्रदेश पर्यटनमन्त्री हुन् ।

क्षेत्र १ (ख) मा पनि ६ जनाकै नाम सिफारिस गरिएको छ । यो क्षेत्रबाट मुना राई, सूर्यवाला राई, टेकबहादुर राई, बृहस्पति खतिवडा, पूर्णप्रसाद ढुंगाना, तारा नेपाल र शम्भु दाहालको नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।

माओवादी केन्द्र इलामले प्रतिनिधिसभा इलाम क्षेत्र १ मा जिल्ला अध्यक्ष विजय खम्बुलाई अघि सारेको छ । यसैगरी, क्षेत्र २ मा पार्टी केन्द्रीय सदस्य एवं प्रदेश १ सांसद धिरेन्द्र शर्मा रमणलाई उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ । शर्मा २०७४ को निर्वाचनमा प्रदेश सभासदमा विजयी भएका थिए ।

यसैगरी, प्रदेश सभामा इलाम क्षेत्र १ (क) मा गञ्जबहादुर प्रधान र प्रदेशसभा इलाम क्षेत्र १ (ख)मा छविलाल आचार्य (प्रवाश)लाई अघि सारिएको छ । इलाम क्षेत्र २ (क) मा कुमार बराइली (अनिल) र क्षेत्र २ (ख) मा कान्छा लावतीको नाम सिफारिस भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रेस चौतारीको महाधिवेसन सुरू, प्रधानमन्त्री गएनन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य