बुटवलमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शन

बुटवल । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा बुटवलको सुख्खानगरस्थित होटल स्पानमा आइतबारबाट कार्टुनकला प्रदर्शनी भएको छ । सोमबारसम्म जारी ‘निसाना’ भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनीमा नेपालका करिब तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको छ । पूर्वका विभिन्न सहरपछि यो प्रदर्शन अहिले पश्चिमतर्फ केन्द्रित भएको छ ।

प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्यान’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, योगेशकुमार खपांगी, केशवराज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारीका कार्टुनचित्र छन् ।

यस्तै, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुष्मा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रवन्द्रि मानन्धर, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशीष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाललगायतका कार्टुनिस्टले तयार गरेका कार्टुनचित्र पनि प्रदर्शनीमा छ ।

सो प्रदर्शनीको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले भ्रष्टाचार सामाजिक अपराध भएको बताए । उनले भ्रष्टाचारले मानिसमा खराब मनोवृत्तिको विकास गरिरहेको जिकिर गरे । घर्तीमगरले कार्टुनमा कलाकारले आग्रह पूर्वाग्रहबिना गर्ने तिखो प्रहारले गल्ती गर्नेलाई सच्चिन बाध्य पार्ने जिकिर गरे । उनले भ्रष्टाचारकै कारण देश र सर्वसाधारणको जीवन बर्बाद भएको सुनाउँदै राज्यले यसको नियन्त्रणमा निर्ममतापूर्वक लाग्नुपर्ने बताए ।

नेपाल ललितकला पत्रकार समाज (सोफाज)का अध्यक्ष केशवराज खनालले भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा जनचेतना जगाउने लक्ष्यका साथ दुईदिने कार्टुन प्रदर्शनी गरिएको बताए । भ्रष्टाचारविरुद्ध अभियानका रूपमा क्लबले देशका सातै प्रदेशमा कार्टुन प्रदर्शनी गरिरहेको पनि उनले जानकारी गराए ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले सो कार्यक्रममा बोल्दै भ्रष्टाचार अन्त्यका लागि समाजका सबै तह र तप्काबाट पहलकदमी लिनुपर्ने बताए ।

यस्तै, जनसांस्कृतिक महासंघ नेपालका लुम्बिनी प्रदेश संयोजक कविराज पौडेलले भ्रष्टाचार अन्त्यका लागि साहित्यकार, कलाकार, पत्रकार एवं संस्कृतिकर्मीलगायत सबैले सिर्जनात्मक ढंगले पहल लिनुपर्ने बताए । क्लबले देशव्यापी रूपमा भ्रष्टाचारविरोधी अभियान कार्टुनमार्फत खबरदारी गरेर देश र जनताप्रति विशिष्ट भूमिका निर्वाह गरेको छ भने ।

कार्यक्रममा कलाकार सुमित्रा रानाले कलामार्फत सर्जकले समाजलाई सचेतना जगाएको उल्लेख गर्दै भनिन्, ‘रङ, रेखा र शब्दद्वारा कलाकारले समाजमा रहेका विकृति विसंगतिप्रति व्यंग्य गरेर सामाजिक दायित्व निर्वाह गर्न सफल भएका छन् ।’

अखिल नेपाल ललितकला संघका लुम्बिनी प्रदेश संयोजक कलाकार खेमबहादुर विकले समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए । यस्तै, सो प्रदर्शनीको आयोजक संस्था कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले पाठकले सधंै पत्रपत्रिकामा मात्रै कार्टुन हेर्दै आए पनि प्रदर्शनीका रूपमा कार्टुनलाई देशका सातै प्रदेशमा लगेको बताए ।

क्लबले यसअघि बाग्मती प्रदेशको काठमाडांै, गण्डकी प्रदेशको पोखरा, मधेस प्रदेशको जनकपुरमा प्रदर्शनी गरिसकेको क्लबका महासचिव रवि मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?