विदेश ‘सयर’ मा मन्त्री–सचिवको लर्कै

काठमाडौं । राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्चपदस्थको विदेश भ्रमणमा लर्कै लाग्न थालेको छ ।

यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले आफ्नै निर्णयविपरित दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ ।

गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ११ वटा भ्रमण दलको विदेश घुमफिरलाई स्वीकृति दिएको थियो । त्यसअघि भदौमा मात्रै पाँच विदेश भ्रमण स्वीकृत भइसकेको छ । २० भदौसम्म त १६ भ्रमण दलको स्वीकृति दिइसकिएको पाइएको छ ।

त्यसको प्रस्ताव विभिन्न मन्त्रालयबाट आए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘भ्रमणको औचित्य सम्बन्धमा कुनै छानबिनै नगरी’ धमाधम स्वीकृतिका लागि मन्त्रिपरिषद्का पेस गरेको थियो ।

आफ्नै निर्णय कुल्चँदै प्रधानमन्त्री कार्यालय

एकै दिन ११ टोलीलाई अनुमति, राज्यकोषमा करोडौंको व्ययभार

जबकि, अघिल्लो सरकारको पालामा प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयबाट आएका विदेश भ्रमण प्रस्ताव सम्बन्धमा ‘औचित्ययुक्त भए वा नभएको’’bout अनुसन्धानसहित कतिपय प्रस्ताव फिर्तासमेत गर्ने गरेको थियो । तर, अहिले भने ‘जस्तासुकै विदेश भ्रमणलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आँखा चिम्लेर अगाडि बढाउँदै आएको’ बताइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार स्वीकृत भ्रमण दलमा मन्त्री, राज्यमन्त्री, सचिव, सरकारी पदाधिकारी र कर्मचारीसमेत सहभागी हुने गर्छन् । तर, तल्ला तहका कर्मचारीको विदेश भ्रमणको भने कुनै रेकर्ड छैन । विदेश भ्रमणमा मात्रै राज्यकोषबाट वार्षिक ७० करोडभन्दा बढी खर्च हुने गरेको सरकारी अधिकारी नै बताउँछन् ।

गत ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले दुई मन्त्री र तीन सचिव तथा उनीहरूको दलको ‘विदेश भ्रमण’ स्वीकृत गरेको थियो । त्यसदिन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीलाई ‘आइभरीकोस्टमा हुने एक कार्यक्रमका लागि भ्रमण स्वीकृति दिइएको’ हो ।

यसअघि, मन्त्रालयका मन्त्री र सचिव एकैपटक विदेश जान नपाउनेगरी नियम बनाइएको थियो । अहिले सोही नियम मिचिएको छ ।

त्यस्तै, बेलायतमा आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन भूमिसुधार मन्त्रालयका सचिव रामप्रसाद थपलियाको भ्रमणलाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

लगत्तै गत १३ भदौको मन्त्रिपरिषद् बैठकले थप तीन विदेश भ्रमण स्वीकृत गरेको थियो । अमेरिकाका लागि वन तथा वातावरणमन्त्री प्रदीप यादव, भुटानका लागि स्वास्थ्यराज्यमन्त्री हिराचन्द्र केसीको विदेश भ्रमणसमेत स्वीकृत भएको छ ।

यसैगरी, अर्को एक कार्यक्रममा भुटान भ्रमणकै लागि योजना आयोग उपाध्यक्ष डा. विश्वनाथ पौडेल र स्वास्थ्य राज्यमन्त्रीसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेल र विशेषज्ञ डा. संगीता कौशल मिश्राको भ्रमण स्वीकृत गरिएको थियो ।

गएको २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले १० देखि १४ असोजसम्म फिलिपिन्स मनिलामा हुने एसियाली विकास बैंकको ५५औं वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री जनार्दन शर्मा र उनको टोलीको निर्णय गरेको छ ।

त्यस्तै, १४ देखि १८ कात्तिकसम्म क्यानडामा हुने कायर्कमका लागि उद्योग सचिव डा. तोयानाथ ज्ञावालीको भ्रमण स्वीकृत भइसकेको छ ।

आगामी २७ असोजदेखि २ कात्तिकसम्म अमेरिकामा हुने ‘प्रहरी सम्मेलन’का लागि अतिरिक्त महानिरीक्षक पूजा सिंह र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको भ्रमण पनि सरकारले गत सोमबार स्वीकृत गरेको छ ।

यसैगरी, परराष्ट्र सचिव भरतराज पौड्यालको टोलीलाई भरत भ्रमणका लागि स्वीकृति दिइएको छ ।

२७ देखि ३१ भदौसम्म बेल्जियम ब्रसेल्समा हुने कार्यक्रमका लागि युवा खेलकुद मन्त्रालयका सचिव डा. दामोदार रेग्मी त्यसतर्फ जाँदै छन् ।

७ देखि ११ असोजसम्म अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको अस्ट्रिया भियानामा हुने बैठकका लागि शिक्षामन्त्री देवेन्द्र पौडेल र उनको टोली त्यसतर्फ जानेगरी स्वीकृति दिइसकिएको छ ।

२८ देखि ३० कात्तिकसम्म उज्वेकिस्तानमा हुने कार्यक्रमका लागि शिक्षा विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधकुमारी यादवलगायतको टोलीलाई पनि स्वीकृति दिइएको छ ।

त्यस्तै, नेदरल्यान्ड र बेल्जियममा हुने अर्को कार्यक्रमका लागि शिक्षासचिव रामकृष्ण सुवेदीलाई दोस्रोपटक स्वीकृति दिइएको छ । सरकारले तीन सातामा भ्रमण स्वीकृत गर्दा वन तथा वातावरणमन्त्री प्रदीप यादवको मात्रै तीन विदेश भ्रमणलाई स्वीकृति दिइसकेको छ ।

मन्त्रिपरिषद्ले यादवको रसिया भ्रमण स्वीकृत गरेको थियो । तर, उनी त्यसतर्फ नजाने बताइएको छ । २७ देखि २९ भदौसम्म सेनेगलमा हुने कार्यक्रम तथा अमेरिकामा हुने अर्को छुट्टै कार्यक्रमसमेत स्वीकृत गरिएको छ ।

पछिल्लो महिना विदेश भ्रमणमा स्वीकृति पाउनेमा शिक्षामन्त्री पौडेल र सचिव सुवेदी पनि अग्रपंक्तिमा देखिएका छन् । उनीहरूको दुई भ्रमण स्वीकृत गरिएको छ ।

गत ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीलाई आइभरीकोस्ट भ्रमणको स्वीकृत गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९