सान्नीत्रिवेणी गाउँपालिमा पर्ने जिउली पाटन । त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले कसलाई पो नलोभ्याउला र ? यसले त मोहनी नै लगाएको छ । त्रिवेणी आउने पर्यटक यहाँ पुगेपछि ‘भूस्वर्ग’ अनुभूत गर्छन् । पछिल्लो समय त्रिवेणी पश्चिम नेपालकै सुन्दर पर्यटकीयस्थल बन्दै छ । सान्नीत्रिवेणी गाउँपालिका मुम्रा लेकाली क्षेत्रमा रहेको सुन्दर जिउली पाटनमा पर्यटकको चहलपहलले कालिकोटलाई केही आशा जगाएको छ ।
सिजनअनुसार त्रिवेणी–जिउली पाटनमा पर्यटक ओहोरदोहोर हुने गरेका छन् । यी पाटन समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा छन् । यस क्षेत्रमा बाह्रै महिना घुम्न नसकिने भए पनि पर्यटन प्रवद्र्धनका लागि सरकारले सडक सञ्जाल पु¥याउन नसक्दा एक सिजन मात्र घुम्न सकिन्छ । जुन, अहिले त्रिवेणी धामका रूपमा परिणत भएको छ । नेपाल र भारतबाट समेत भक्तजन जिउली–त्रिवेणी पाटन भएर बडीमालिका दर्शन गर्छन् । कालिकोट र बाजुरा सीमाक्षेत्रमा रहेको बडीमालिका मन्दिर दर्शन गर्न एक दिन एकरात त्रिवेणीधाममा बास बसेर भक्तजन जाने गरेका छन् ।
कर्णालीका सबै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, बैतडी र अछामको संगमस्थलका रूपमा त्रिवेणीधामलाई लिन सकिन्छ । त्रवेणी क्षेत्रमा पुग्न तीन दिन पैदल यात्रा गर्नुपर्छ । गोरेटो बाटो गाह्रो छ । तर, पुगेपछि भने पर्यटकका मन रोमाञ्चित बन्छन् । प्रकृतिका अनेक छटाले धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणी अत्यन्तै दर्शनीय छ । त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि मनोहक प्रकृतिको विपुल छटाले घेरिएको पाउँछन् । वरिपरि मिलाएर उमारिएकाजस्ता लेकाली वन, पानीको कलकल र अलिपरतिर लस्करै उभिएका पाटनले त्रिवेणीलाई ‘पृथ्वीतलको स्वर्ग’जस्तै कञ्चन बनाएको छ । कर्णालीको धार्मिक सांस्कृतिक आयाम निकै थपेको त्रिवेणीमा विभिन्न प्रजातिका वनस्पति पाइन्छन् ।
करिब १ सय ४० भन्दा बढी जातका फूल, सयौं जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, ६ महिना घोडा भेंडा चराउन उपयुक्त स्थान, २२ वटा घाँसे मैदान, तीन नदीको संगम रहेको पवित्र धाम, मुलुकका दर्जनौं जिल्ला नियाल्न सकिने अग्ला हिमशृंखलाले यसको महत्व झनै बढाएको छ । विकासमा बेवास्ता अपार पर्यटकीय सम्भावनासहितको त्रिवेणी पाटन विकासमा सरकारको ध्यान भने पटक्कै पुगेको छैन । सिजनअनुसार पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा खाना तथा बासको उचित प्रबन्ध छैन । गएको बिहीबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मासहित सुरक्षा निकायका प्रमुख त्यहाँ पुगे । आन्तरिक पर्यटक मात्र आउने गरेको पाइएको र सबैको नजर पुगेमा विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने शर्मा बताउँछन् । संरक्षित क्षेत्र बनाइ“दै त्रिवेणीलाई संरक्षित क्षेत्र बनाउने तयारी भइरहेको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसी बताउँछन् । त्रिवेणी पाटन मात्र नभई त्रिवेणीधाम रहेकाले यसको महत्व थप बढेको उनको कथन छ । उनका अनुसार यस क्षेत्रलाइ आगामी दिन संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने र थप पर्यटकीय सम्भावनाका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
कालिकोट सदरमुकाम मान्म हुँदै सान्नी मेहलमुडी र मुम्रा भएर जान सकिन्छ । विमान वा बसबाट बाजुरालगायतका अन्य जिल्ला भएर पनि जान सकिन्छ । मान्मबाट बिहानै पैदल हिँड् दा एकदिनमा मुम्रा मालिक वन पुगिन्छ । दोस्रो दिन त्रिवेणी । त्रिवेणीदेखि बिहानीको शीतलमा ठाडो उकालो बाटो भएर दिउँसोतिर बडीमालिका पुगिन्छ । बडीमालिकामा जनैपूर्णिमाका अघिल्लो दिन धुमधाम धार्मिक मेला लाग्ने भएकाले त्रिवेणी भएर भक्तालु जाने गर्छन् । जनैपूर्णिमामा भारत कुमाउ गढवालदेखिका त्रिवेणी आउने गरेका पुजारी कृष्णप्रसाद धमाला बताउ“छन् । त्रिवेणीमा नुहाएर बढीमालिका दर्शन गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ । रोगव्याधी नाश हुने र पदोन्नति हुने विश्वास पनि छ । शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ । त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य बरबधुको कामना गर्दै यहाँ पूजा गर्ने चलन छ । त्रिवेणीमा दुई खोला छन्, गंगा र जमुना । जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ । त्रिवेणीमा अस्तु विसर्जन गर्दा ‘पितृ स्वर्गमा पुग्ने’ धार्मिक विश्वास छ । समृद्धि बन्न सक्छ, जिउली पर्यटनका दृष्टिले त्रिवेणी धामको जिउली आकर्षक गन्तव्य हो । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने त्रिवेणी सिमाना जोडिएका कालिकोट सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानीय कर्ण केसी बताउँछन् ।
त्रिवेणी क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटकीयसँगै अनुसन्धानकर्ताका लागिसमेत उपयुक्त भएकाले वातावरण बनाउनसके पर्यटकको ओइरो लाग्ने विश्वास केसीको छ । ‘त्रिवेणी पर्यटन विकास गर्नसके अर्बौंको कारोबार हुन सक्छ तर दुर्भाग्य यो क्षेत्रमा आउने पर्यटकलाई अहिलेसम्म खाने बस्नेसम्मको न्यूनतम पूर्वाधारसमेत बन्न सकेको छैन,’ पर्यटनबाहेक बडीमालिका र त्रिवेणीको जडीबुटी र वनस्पति यहाँका चार जिल्लाको अर्को आयस्रोत बन्दै आएको छ । यहाँ औषधीय मूल्य भएका सञ्जिवनी, गधाल्लो, बाह जडीबुटीदेखि महत्वपूर्ण त्रिवेणीमा रहेकाले त्यसको सदुपयोग हुन जरुरी रहेको स्थानीय अनुसन्धानकर्ता कालिबहादुर बमको जोड छ । यो क्षेत्रमा जडीबुटी मात्र सदुपयोग गर्ने हो भने सिंगो कर्णाली र सुदूरपश्चिम धान्न सक्नेगरी आर्थिक लाभ लिन सकिने उनी दाबी गर्छन् । बडीमालिका त्रिवेणीजस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासका लागि २०६४ सालमा बडीमालिका पर्यटन विकास समिति गठन भएको थियो ।