उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ मा रहेको सिसाघारी सिमसार संरक्षण इको टुरिजम क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषणको केन्द्र बन्न पुगेको छ । करिब २.१ हेक्टर क्षेत्रफलमा फैलिएको सो सिमसार क्षेत्रमा २० फिट गहिराइ पानी रहेको छ । वरिपरि मनमोहक दृश्य हेर्न र बोटिङ गर्न दैनिकी पर्यटक आउने गरेका छन् ।
सीमासार क्षेत्रमा कुनै कार्य नभएको देखेर डिभिजन वन कार्यालयका कर्मचारी त्यहाँ पुगेर यो योजना ल्याएका छन् । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत अरविन्द पाण्डेले सुरुमा सिमसार क्षेत्रमा काम अगाडि बढाउँदा पर्यटनको केन्द्र बन्ने विश्वासै थिएन तर स्थानीयवासी र संरक्षण समितिको सहयोगले नमुना स्थल बनेको छ । कटारी बजारबाट ३ किलोमिटर दूरीमा रहेको सो ठाउँमा पुग्न मोटरसाइकल र अटोसाइकलमा त्यहाँ पुग्ने गर्छन् ।
२०७५ सालदेखि पर्यटकीय स्थलका रूपमा बिकास भएको यस सिमसार क्षेत्र सिसाघारी सामुदायिक वनको भूमि थियो २०७६ सालमा सिसाघारी सामुदायिक वन कार्यालयबाट स्वीकृत लिएर सिसाघारी सिमसार संरक्षण तथा पर्यापर्यटन विकास क्षेत्र नामाकरण गरी सात जनाको निर्माण समिति गठन गरिएको थियो । सोही समितिमार्फत यस क्षेत्रको हेरचाह र सम्पूर्ण व्यवस्थापनका कार्य हुँदै आइरहेको छ । समितिका अध्यक्ष खेमराज कटुवालले भने वन संरक्षण र पर्यटनलाई बढावा दिने कार्य भइरहेको छ । नेपाली पर्यटक मात्रै नभई भारतीय पर्यटक पनि त्यहाँ पुग्ने गर्छन् । पिकनिकका लागि पनि यो स्थल आकर्षणको केन्द्र बनेको छ । पिकनिकमा आउनेका लागि भाँडाकुँडा पनि समितिले न्यूनतम मूल्यमा उपलब्ध गराउने गर्छन् ।
अहिले सो स्थलमा ढुंगा राखिएको छ भने बालबालिकाका लागि चिल्ड्रेन पार्क बनाइएको छ । सो पार्कमा दिनभरि बालबालिका खेल्ने गर्छन् । खास गरेर बिदाका दिन त्यो क्षेत्र नै भरिभराउ हुने गरेको समितिका सचिव दिलबहादुर अधिकारीले बताए । एउटा सीमासार क्षेत्र जहाँको जमिन कुनै कामै लाग्ने थिएन त्यो पर्यटनको केन्द बन्न सक्छ उदयपुर कटारीको सिसाघारी सिमसार क्षेत्रमा गएर देख्न सकिन्छ । एकातिर वनजंगलको पनि संरक्षण भइरहेको छ भने अर्कोतर्फ पर्यटनको केन्द्र बनेको छ ।