महेन्द्रनगर । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ ।
शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो । बनहरा नदीमा जलस्तर बढीरहेको र तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ ।
यस्तै अविरल वर्षाका कारण कञ्चनपुरमा करीब तीन सय घर डुबानमा परेका छन् । शुक्रबार रातिदेखिको लगातारको पानीका कारण बिभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जानकारी दिए ।
यता मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका–४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका–५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।
दोदा नदीको बाढीले लालझाडी गाउँपालिका–३ मा १०० घर डुबानमा परेको प्रहरीको जनाएको छ । बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।