इलाम र चिया पर्यायवाची नै बनिसक्यो । ‘इलाम’ भन्नेबित्तिकै आँखाअघिल्तिर चिया नै छाउँछ । हुन पनि पूर्वी इलामका अधिकांश क्षेत्रमा चियाखेती हुन्छ ।
हरिया कार्पेट बिछ्याएझैं लोभलाग्दा बगान छन् । यसले पूर्वी पहाडका किसानलाई ‘पैसा फल्ने रूख’ मात्र दिएको छैन, आगन्तुकलाई लोभ्याउने दृश्यसमेत दिएको छ ।
अन्ततः चिया आर्थिक समृद्धिसँगै पर्यटनको मेरुदण्ड नै बनेको छ । चिया नै आम्दानीको स्रोत भएकै कारण प्रदेश १ ले चियाको राजधानी घोषणा गरिसकेको छ ।
तर, यहाँका किसानले अझै पनि उचित मूल्य भने पाउन सकेका छैनन् । चियाखेती सुरु भएको १ सय ५८ वर्ष पुगे पनि किसानले वास्तविक मूल्य पाएका छैनन् ।
आम्दानीको प्रमुख स्रोतले नै मूल्य नपाउँदा चियाखेती धराशायी बन्ने खतरा बढेको छ । नेपाली चियालाई आफ्नै पहिचानमा विश्व बजारमा पु¥याउन नेपाली लोगो दर्ता भइसकेको छ । चिया उत्पादनको १ सय ९७ वर्षपछि लोगो दर्ता भएको हो ।
विश्वका दुई देश भारत र अमेरिकामा लोगो दर्ता सम्झौता भई अन्य देशसँग सम्झौता अघि बढिरहेकै बेला इलाममा चिया टेस्टिङ केन्द्र निर्माण प्रक्रिया अघि बढेको छ । तर, पनि घरीघरी नेपाली चियामा भारतले प्रतिबन्ध लगाउन खोजिरहेको छ ।
पटकपटक नेपाली चियालाई भारतले ‘गुणस्तरहीन’ भनेर अवरोध गरेकै कारण चिया तथा कफी विकास बोर्डले गुणस्तर सुधार्न किसानलाई तालिमसमेत दिने गरेको छ ।
…
सरकारले पहिलोपटक चियामा परियोजनामार्फत गुणस्तर सुधारका लागि परियोजना सञ्चालन गरेको हो । यसअन्र्तगत नै चिया तथा कफी विकास बोर्डले गत पुसदेखि चिया काट्ने तालिम दियो । चियाको गुणस्तर सुधार गर्नकै लागि कटिङका समय ‘कसरी चिया काट्ने ?’ भन्ने तालिम दियो ।
बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराई ‘कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने’ भन्दै ‘प्रयोगात्मक रूपबाटै अघि बढ्न तालिम दिएर गुणस्तर सुधार्न सकिने’ बताउँछन् ।
चियाका लागि धेरै कार्यक्रम भए तर उद्योगसम्म पुगेका कारण कृषकले केही जानकारी नपाएकाले कृषकसँगै प्रत्यक्ष रूपमा बोर्डले तालिम चलायो । सिजनअनुसार ‘कस्तो तालिम दिने ?’ भन्ने तालिका बनाएरै आवश्यकताअनुसार सञ्चालन गरेर गुणस्तर विकास गर्न सकिने र बजारीकरणमा समस्या नहुने भन्दै बोर्ड बगानमै पुग्यो ।
‘चियालाई दीर्घकालीन विकास र बजारीकरणका लागि गुणस्तर नभए समस्या हुन्छ, अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट चिया नेपालको सुधा बनाउन आवश्यक छ,’ भट्टराई भन्छन्, ‘परियोजनामार्फत सफल बनाउन चिया तथा कफी विकास बोर्ड अघि बढेको छ ।’
चियालाई दीर्घकालीन रूपमा गुणस्तरीय बनाउन केही नीति नियम आवश्यक देखिएको छ । यसका लागि पनि बोर्डले प्रक्रिया अघि बढाइसकेको छ । कृषकका समस्या दीर्घकालीन रूपमा समाधान गर्न आफूहरू लागिपरेको भट्टराईको दाबी छ ।
चिया क्षेत्रमा बोर्डले काम गरिरहँदा कृषकको समर्थन भएमा बोर्डबाटै मूल्य तोक्ने तयारी भइरहेको छ । ‘यसका लागि हामीले मात्र भनेर हुँदैन,’ भट्टराई भन्छन्, ‘उद्योगी र कृषक दुवैलाई छलफलका माध्यमबाट सहमतिमा ल्याएर अघि बढ्नेछौं ।’
उनका अनुसार बजारीकरणका लागि पछिल्लो समय चीन सकारात्मक रहेको र अन्य देशसँग समेत कुरा अघि बढाइसकिएको छ । पहिले नेपालको चिया गुणस्तरीय बनाउन आवश्यकता रहेका कारण विभिन्न तालिम आयोजना गरेको बताइएको छ ।
कार्यकारी निर्देशक भट्टराई परियोजना सफल बनाइसक्दा चियामा बजारीकरणका लागि कुनै समस्या नरहने ठोकुवा गर्छन् ।
सूर्योदय नगरपालिकामा ६ वटा समूहमा विभाजन गरेर चिया काट्न सिकाइयो भने इलाम तथा देउमा नगरपालिकाको साँखेजुंग, शान्ति डाँडा, मंगल’bout, जसवीरेलगायतमा तालिम दिइएको छ । जसमा २ हजार ७ सय ९० किसान सहभागी भए ।
किसानलाई चियासम्बन्धी सामान्य प्राविधिक ज्ञानकै अभाव पाइएपछि ३० जनाको समूह बनाएर प्रत्येक समूहमा २ दक्ष प्राविधिकबाट तालिम दिइएको छ । किसानमुखी परियोजना भएकाले तालिमसहित गुणस्तरीय चिया उत्पादनमा आवश्यक प्रविधि तथा यन्त्रसमेत उपलब्ध गराइने चिया विस्तार आयोजना इलाम प्रमुख इन्द्र अधिकारी बताउँछन् ।
परियोजनाले चियाको मूल्य शृंखला र बजारीकरण ‘ट्रेसिबिलीटी सिस्टम’मार्फत सजिलो हुने बोर्डको विश्वास छ । परियोजना ‘किसानमुखी’ रहेको र अन्यभन्दा फरक भएकाले साना किसानसम्म पैसासमेत पुग्ने लक्ष्य राखिएको छ ।
अग्र्यानिक चिया कृषकलाई मल र मूल्यमै समस्या भएकाले आफूहरू मार्कामा परेको कृषकको गुनासो छ । हरियो चिया पत्ती बेच्ने किसानलाई कारखानाले आफूखुसी मूल्य तोकिदिने गरेका कारण समस्या भएको हो ।
चियालाई आवश्यक अग्र्यानिक मल अभाव र हरियो चियापत्तीको मूल्यमा अन्तर छ । उचित मूल्य नपाएकै कारण पछिल्लो समय कृषकले चिया विस्तार नगरेको सरोकारवाला बताउँछन् ।
कारखाना बजारमा लाने चियाको मूल्य अनुमान गर्न मात्र सक्छन् । कारखानाले बेच्ने वास्तविक बजार मूल्य कृषकले कहिल्यै थाहा पाउँदैनन् । चिया प्रशोधन कारखाना भने बजार मूल्य भएकै कारण बढिरहे पनि कृषकले भने चियाखेती बढाउन सकेका छैनन् ।
१९२० सालमा इलामबाट चियाखेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ । त्यसताका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणबाट फर्कंदा चिनियाँ जातको बिरुवा उपहारस्वरूप ल्याएका थिए ।
सो चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापालाई दिएपछि इलामको माटोमा चियाको बोट रोपेको इतिहास छ । यसपछि पूर्वी पहाडका उजाड पाखा पखेरामा चियाखेती हुँदै अहिले जिल्लाका अधिकांश ठाउँमा खेती भए पनि पछिल्लो समय मूल्यमा समस्या झेल्नुपरेका कारण खेती विस्तार हुन सकेको छैन ।
…
चिया तथा कफी विकास बोर्डको २०७७÷७८ को तथ्यांकअनुसार नेपालमा १६ हजार ९ सय २० हेक्टरमा चिया खेती हुन्छ । जसबाट २३ हजार ७ सय ४५ दशमलव ९ मेट्रिकटन चिया उत्पादन हुने गर्छ ।
इलाममा ७ हजार २ सय ३६ हेक्टरबाट ६४ लाख ३१ हजार ३ सय ३० किलो चिया उत्पादन हुने गर्छ । जुन कुल क्षेत्रफलको भन्डै आधा इलाममा मात्र खेती हुने गरेको पाइन्छ ।