रित्तिँदै गाउँ भरिँदै सहर


बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १० किलोमिटर दूरीमा पर्छ, मकवानपुरगढी गाउँपालिका–६ झल्ला । यहाँका भरत चौलागाईं आफ्ना दुई छोरालाई हेटौंडा क्याम्पसमा पढाउन २ वर्ष कोठा भाडामा लिएर बजारमा बसे ।

पछिल्लो दुई वर्षयता भरत रोजगारी क्रममा भारतमा छन् । श्रीमती र दुई छोरा हेटौंडा बजारमै बस्छन् । ‘गाउँमा झन्डै १० कठ्ठा बारी बाँझै छ, यता रासन किनेरै खान्छौं,’ भरतपत्नी कान्छी सुस्केरा हाल्दै भन्छिन्, ‘बजारमा सबै सुविधा छन्, गाउँमा केही छैनन् ।’

भीमफेदी गाउँपालिका–३ की शर्मिला बजु पनि गाउँमा सेवासुविधाका लागि समस्या भएकै कारण बजार झरेको बताउ“छिन् । उनको सात जनाको परिवार हेटौंडा–३ मा १० धुर जग्गामा सानो घर बनाएर बसेको छ ।

सुगम क्षेत्र सहरमा सरल दैनिकी खोज्दै गाउँ छाड्ने भरत र शर्मिलाको परिवार मात्रै होइनन् । ‘हेटौंडाबाट मोटरसाइकलमा १० मिनेटमा गाउँको घरमा पुग्छु तर यतै बस्न मन लाग्छ,’ मकवानपुरगढी–५ का सरोज घिमिरे भन्छन्, ‘सहजताका लागि यतै घर बनाए“, कोठा भाडा पनि राम्रै छ, परिवारै यता बसाइँ सर्ने तयारीमा छौं ।’

सुखभोग रोजेका कारण मकवानपुरका ग्रामीण बस्तीमा जनसंख्या क्रमशः पातलिँदै छ । ग्रामीण क्षेत्रमा विभिन्न सेवासुविधा पर्याप्त नभएपछि रित्तिने क्रम बढेको हो ।

आधारभूत सेवासुविधाकै अभावमा बसाइ“ सर्नु बाध्यता हो तर विकास लहर पछ्याउँदै गरेका गाउँ सुनसान हुनु सामान्य होइन । सबै घरअगाडि नै आइपुगेका गाउँबाट समेत सहर पस्न थाल्नुको कारणचाहिँ यहाँ नीति निर्माताले पनि बुझ्न सकेका छैनन् ।

ग्रामीण क्षेत्रमा घना जंगलनजिकै हुने र विभिन्न वन्यजन्तुका त्रास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा यातायात कठिनाइका कारण पनि सहर वा सदरमुकाममा आकर्षण बढ्दै गएको देखिन्छ ।

पाइएन विकेन्द्रीकरणको स्वाद

संघीयता लागू भएको पहिलो पाँच वर्ष जनताले अनुभव गरे । यसबीच आफूहरूले ‘गाउँलाई नै सबैथोक’ भनेर स्वीकार गर्नै नसकेको बताउँछिन्, साबिक सरिखेत गाविस (हाल राक्सिराङ् गाउँपालिका)की रमा आले । प्राविधिक शिक्षा पढेर पनि गाउँमा कुनै रोजगारीको भर नभएपछि हेटौंडा बजार झरेको उनले सुनाइन् ।

शिक्षा स्वास्थ्य रोजगार, खेल मैदानदेखि सबै प्रकारका ‘विकास गाउँ–सहरमा समान हुने’ भन्ने सुनेको तर आफूले ‘त्यस्तो आभास गर्न नसकेको’ उनको गुनासो छ ।

राक्सिराङ गाउँपालिकाबाट हेटौंडा बसाइसराइ“ तयारीमा रहेकी आलेले आफूले गाउँको जग्गा बाँझै छाडेको बताइन् । ‘गाउँमा बस्ने घर त राम्रै थियो तर यता ऋण धन गरेर चार कोठाको अर्को बनाएँ,’ उनी भन्छिन् । गाउँपालिकाहरूले स्थानीयस्तरको जग्गा ऊर्जाशील बनाउने विभिन्न योजना ल्याए पनि युवालाई गाउँमै आफूखुसी रोक्ने वातावरण नभएको उनको अनुभव छ ।

डरलाग्दो तथ्यांक

जीवन सहज रूपले चलाउने लक्ष्य बोकेर सहर झरेका सबैको जीवनी सरल र सहज नै बनेको उदाहरण थोरै छन् । र, पनि संघर्ष गर्न बजार क्षेत्र नै रोजाइमा पर्ने गरेको छ ।

हेटौंडामा पत्रकार प्रकाश दाहाल गाउँवासीले लहैलहैमा गाउँ छाड्ने गरेको बताउँछन् । केहीको बाध्यता होला तर धेरैजसो देखासिकीमै बजारमा बसाइसराइँ गर्ने गरेको उनको अनुभव छ ।

‘सन्तानको उच्चशिक्षा, कार्यालय आउन जान सहजताका लागि पनि धेरैजसो गाउँको जग्गा बाँझै राखेर, घर बन्द गरेर बजार झरेका छन्,’ पत्रकार दाहाल भन्छन्, ‘ग्रामीण क्षेत्रमा सबै प्रकारको विकास संरचना अझै पुगेको छैन, यसैले पनि सहर आकर्षणको केन्द्र बनेको हो ।’
मकवानपुरको १० स्थानीय तहमा सबैभन्दा बढी आकर्षणको केन्द्र बनेको छ, हेटौंडा उपमहानगरपालिका । जुन बाग्मती प्रदेशको राजधानीसमेत हो ।

हेटौंडामा जिल्लाका अन्य नौ स्थानीय तहबाट मात्रै होइन, छिमेकी जिल्ला बारा, रौतहट, चितवनलगायतबाट समेत बसाइसराइ“ गरेर आउने गरेका छन् ।

स्थानीय तहको बसाइसराइँ तथ्यांक हेर्दा सहरी क्षेत्रमा बसाइँ सरेर आउने दर उच्च देखिएको छ भने ग्रामीण क्षेत्रमा अत्यन्तै कम छ ।
हेटांैडा उपमहानगर र मनहरी गाउँपालिकामा भने बसाइँ सरेर जानेभन्दा आउनेको संख्या बढी देखिएको छ । हेटांैडा उपमहानगरमा २०७८ सालमा मात्र बसाइँ सरेर १ हजार २ परिवारका ३ हजार ६ सय ८७ जना आएका छन् भने ५ सय ६० परिवारका १ हजार ९ सय ३४ जनाले मात्र उपमहानगर छोडेका छन् ।

२०७७ सालमा १ हजार ८ सय ५२ परिवार बसाइँ सरी आएका छन् भने ८ सय ४ परिवार बसाइँ सरी गएको तथ्यांक छ । २०७६ सालमा ४ सय ६० परिवार बसाइँ सरी आए भने २ सय ५० परिवार हेटांैडाबाट अन्यत्र गएका थिए ।

यता, मकवानपुरको विकट भनेर चिनिने कैलाश गाउँपालिकाबाट बसाइँ सरेर जाने दर बढ्दो छ । सो पालिकामा २०७६ सालमा बसाइँ सरी जाने १ सय ४ परिवारका २ सय ६३ र बसाइँ सरेर आउने ४ परिवारका जम्मा १४ जना मात्र थिए ।

यसैगरी, २०७७ सालमा २ सय परिवार पालिका बाहिर बसाइँ सरेर गए भने १७ परिवार कैलाश गाउँपालिकामा भित्रिए ।
त्यस्तै, २०७८ मा २०७७ सालभन्दा कम बसाइँसराइ भएको छ । गाउँपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार १ सय ४ परिवारका ४ सय १३ जना बसाइँ सरी गए भने १२ परिवारका ६८ जना बसाइँ सरी आएका छन् ।

मकवानपुरकै मनहरी गाउँपालिकामा हेटौंडा उपमहानगरमा जस्तै बसाइँ सरेर आउने बढी देखिएको छ । राजमार्गमा भएका कारण मनहरी बजारमा बसाइसराइ गर्ने बढी छन् ।

मनहरीमा गएको तीन वर्षको तथ्यांक हेर्ने हो भने २०७६ सालमा ९२ परिवार पालिकाबाहिर गएको र १ सय ४५ पालिकामा बसाइँ सरेर आएको देखिन्छ । २०७७ सालमा १९ परिवार गएको र ४५ परिवार आएको देखिएको छ ।

२०७८ सालमा २ सय ९ परिवारका ८ सय २९ जना बसाइँ सरी आएका छन् भने १ सय २० परिवारका ४ सय ३४ जना अन्यत्र गएका छन् ।
गाउँपालिका भए पनि मनहरीमा बसाइँ सरेर आउने दर उच्च छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने यो गाउँपालिकाको सिमानामा मकवानपुरका विकट कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाबाट प्रायः बसाइँ सरेर आउने गरेका छन् ।

मकवानपुरको अर्को थाहा नगरपालिकामा २०७६ सालमा १३ परिवार आएका भने २७ परिवार बसाइँ सरी गएका थिए । २०७७ मा १९ परिवार बसाइँ सरेर आएका थिए भने ६३ परिवार बसाइँ सरी गएका थिए ।

गएको वर्ष २०७८ मा ३६ परिवारका १ सय १९ आए भने ७३ परिवारका २ सय ८९ जना बसाइँ सरी गएका छन् ।
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा पनि बसाइँसराइको दर बढेको छ । २०७६ मा १८ परिवार बसाइँ सरी आए भने ८० परिवार बसाइँ सरी गएको देखिएको छ ।

२०७७ सालमा १५ परिवार बसाइँ सरी आएको १ सय ९७ परिवार गएको र २०७८ मा २९ परिवार आएको र ९२ परिवार बसाइँ सरी गएका छन् ।

राक्सिराङ गाउँपालिकामा २०७६ सालमा ७ परिवार बसाइँ सरी आएको देखिन्छ भने ८८ परिवार पालिका छोडेर अन्यत्र बसाइँ सरेको देखिएको छ ।

२०७७ सालमा सात परिवार आएको र ४ सय ५ परिवार गएको तथा २०७८ सालमा ११ परिवार पालिकामा बसाइँ सरी आए भने १६४ परिवार बसाइँ सरी गएका छन् ।

मकवानपुरगढी गाउँपालिकामा ६३ जना बसाइँ सरी आएका छन् भने १ सय ४७ जना गएका छन् । २०७७ सालमा १ सय २७ आएका र ५ सय २६ जना गएको देखिएको छ भने २०७८ सालमा ४ सय ६० जना बसाइँ सरी गएका छन् भने १ हजार १ सय २९ जना पालिकामा बसाइँ आएका छन् ।

तथ्यांकअनुसार इन्द्रसरोवर गाउँपालिकामा २०७७ सालमा एउटा परिवार पालिकामा बसाइँ सरेर आएको र १७ परिवार बसाइँ सरेर गएको थियो । २०७८ सालमा ८ परिवार बसाइँ सरी आएको छ भने ३१ परिवार बसाइँ सरेर अन्यत्र गएको छ ।

मकवानपुर पूर्वी बकैया गाउँपालिकामा २०७६ सालमा १ सय ३४ परिवार बसाइँ सरेर आएका छन् भने १ सय ५२ परिवार बसाइँ सरेका छन् । २०७७ मा २ सय ९८ परिवार आएको र ३ सय ४ परिवार गएको तथा २०७८ सालमा १ सय ३६ परिवार बसाइँ सरेर आएको र २ सय ४१ परिवार अन्तै गएका छन् ।

मकवानपुरकै पूर्व बाग्मती गाउँपालिकामा २०७६ मा २१ परिवार आए भने १ सय ३० परिवार बसाइँ सरेका छन् । २०७७ मा ३० परिवार बसाइँ सरेर आएका थिए भने २ सय ९२ परिवार बसाइँ सरेर गएको देखिन्छ । २०७८ सालमा ८८ परिवार आएका छन् भने १ सय ६१ परिवार बसाइँ सरेर गएका छन् ।

त्यसो त, ग्रामीण क्षेत्रमा सडक निर्माण हुने तर सम्भार नभएका कारण यातायात सहज पहुँच हुन नसक्दा पनि बसाइँसराइ बढेको हो । अहिले बस्ती पातलो हुँदै जाँदा जंगली जनावर, चराचुरुंगीले समेत दुःख दिने गरेपछि पनि बसाइँसराइ बढेको पाइन्छ । विगतमा बाक्लो बस्ती भएको ठाउँमा अहिले घर खोज्दै हिँड्नुपर्ने अवस्था छ । सुगम स्थानमा बसाइँ सर्दा सर्दै बाँकी रहेका घर झन्डै जंगलबीच हुन पुगेको छ । ग्रामीण भेगबाट कतिपय सुविधा खोज्दै हेटौंडा, काठमाडौं, चितवन र कतिपय टाढाका जिल्लामा समेत गएका छन् ।

धेरैजसो वैदेशिक रोजगारमा गएकाले पनि आफ्नो परिवार सहरमा सारेका छन् । ‘छोराछोरी पढाउने’ भन्दै कतिपय सहर पसेका छन् । गाउँ छाड्नुपर्ने बाध्यात्मक अवस्था नरहे पनि सुविधाका नाममा बसाइँ सरिरहेका छन् ।

गाउँपालिकाहरूमा उच्चशिक्षाका लागि शैक्षिक संस्था छैनन्, खेल मैदान छैनन् । राजगारीका सम्भावना न्यून छ । ‘गाउँमा खानेपानी, बिजुली, सिँचाइ गाउँलेका जेजे माग छन्,’ ती पु-याएको दाबी गर्ने जनप्रतिनिधि गाउँको बसाइसराइँ रोक्न नसकेकोमा भने आफैं दंग छन् । ‘जबरजस्ती रोक्ने कुरा भएन, उहाँहरूको मन अडिनेगरी विकास गर्ने जमर्को जारी छ,’ भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा भन्छन् ।
‘जनतालाई सीमित विकासले पुग्दैन, थप अवसरको खोजीमा अझ सुविधा केन्द्रित हुने भएकाले पनि बसाइँसराइ हुने गरेको’ लामा सुनाउ“छन् । आर्थिक सबल हुन थालेपछि थप सुविधा खोज्न पनि मान्छे अन्यत्र जाने गरेको उनको बुझाइ छ ।

गाउँको विकासमा अभिभावक बनेका जनप्रतिनिधि नै गाउँमा बस्न रुचाउँदैनन् । धेरैजसो गाउँपालिका अध्यक्ष/उपाध्यक्ष नै गाउँपालिकाको गाडी लिएर दिनहुँ हेटौंडा बजार र गाउँपालिका ओहोरदोहोर गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 418 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म