लोकप्रियता नै सरकारको चुनौती

नेपालका वामपन्थी सरकार छ । शान्तिपूर्ण आन्दोलनका माध्यमबाट सामन्तवादको उच्छेद गरी क्रान्ति सम्पन्नपश्चात निर्वाचनबाट यो सरकार स्थापना भएको हो । लोकप्रिय मतद्वारा स्थापना भएकाले पनि वामपन्थीको यो सरकारका धेरै चुनौती छन् । जनताको चाहना र विश्वव्यापीकरणसँगै देखापरेका आवश्यकता र स्वयं वामपन्थीका आश्वासन तथा प्रतिबद्धताले पनि नेपाली जनतालाई महत्वाकांक्षी बनाएका छन् । त्यसैले पनि सरकारको लोकप्रियता नै सरकारको चुनौती बन्न गएको देखिन्छ ।

नेपालमा गैरवामपन्थी वा प्रजातान्कि शक्तिले जनताको सेवा गर्न सक्ने आशा र अपेक्षा अब पुरानो भएजस्तो देखापरेको छ । विगतका नेपाली प्रजातान्त्रिक आन्दोलनलाई नियालेर हेर्दा पनि यो कुरा पुष्टि हुने गरेको छ । त्यसैले पनि अबका लोकतान्त्रिक कार्यभार पूरा गर्न कम्युनिस्ट पार्टीमाथि यो अभिभारा आएको देखिन्छ । कार्ल माक्र्सले नै सबैभन्दा बढी नागरिक स्वतन्त्रतासहितको लोकतन्त्रमा जोड दिएका यथार्थता नेपालका वामपन्थी कार्यभार बन्न आएको छ ।

विगतमा एकदलीय निरंकुशताविरुद्ध प्रजातन्त्रवादी मात्र होइन, वामपन्थी पनि लडेकै हो । हजारौं नेपालीको बलिदानीपश्चात् वर्तमान अवस्था आएको हो । तथापि, यो ठूलो मूल्य चुकाएर प्राप्त गरिएको लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिलाई आफ्नो जीवनपद्धतिको रूपमा अवलम्बन गर्न बाँकी नै देखिएको छ । यथास्थितिमा सरकार सञ्चालन त एउटा कुरा होला, त्यसमा पनि समाजवादको ध्येय लिएका पार्टी र सरकारका लागि यो निकै नै सोचनीय देखिएको छ । पार्टीका नेता, कार्यकर्ता, समर्थक सबैले पार्टीभित्र र बाहिर सिर्जनात्मक सोच र व्यवहार प्रस्फुटित गर्न÷गराउन जरुरी छ । होइन भने संसद्भित्र रहेको गणितीय बहुमतलाई सरकारको स्थायित्वको आधार देख्ने भुल हामीले गर्नुहुँदैन ।

नेताले जनताको मन जित्ने कार्यशैली र जीवनशैली अवलम्बन गर्दै जाने कुरामा तत्परता देखाउनुपर्छ

विश्वको इतिहासलाई हेर्दा सरकारको स्थायित्व संसद्को गणितीय बहुमतले मात्र थेग्न सक्तैन । त्यसको मूलाधार भनेको नतिजामा आधारित जनमुखी कार्यसम्पादन नै हो । विगतका आवधिक निर्वाचनमा सस्तो लोकप्रियताका लागि विकासको आश्वासन बाँडेर र पैसा खर्च गरेर भोटलिने प्रवृतिलाई वामपन्थीले अवलम्बन गर्नु हुँदैन । यो प्रवृतिले समाजमा वैचारिक चिन्तनको जनमत निर्माण नगर्दा बारम्बार दलबदलको संस्कारले बसालेको छ । यो जनमत अस्थिर प्रकृतिको हुन्छ । यसले भरोसायोग्य जनमत पनि तयार पार्दैन । यो पुँजीवादी प्रवृत्ति हो । यो लोकप्रियताको मापदण्ड पनि होइन । लोकप्रियता र स्थायित्वको मापदण्ड त समाजवादी विचार र तदनुरूपको चेतना विस्तार नै हो । यसले इमानदारिता, निष्ठा, त्याग र समर्पणसहितको जनशैली निर्माण गर्छ ।

राज्यप्रणाली भनेको नागरिक सेवा प्रदान गर्ने बृहत् दायित्व भएको अविछिन्न संस्था हो । यसलाई कसरी उच्च रूपमा सम्बोधन गर्न सकिन्छ ? कसरी प्रशासनलाई जनमुखी बनाउन सकिन्छ कसरी राज्यका क्रियाकलापलाई वैधानिकता दिन सकिन्छ ? भन्ने कुरामा ध्यान दिन सक्नुपर्छ । राज्य सञ्चालकको जीवन सार्वजनिक जीवन हो । सार्वजनिक जीवन धारण गरेका व्यक्ति भनेको सार्वजनिक सरोकारको विषय पनि हो । राज्य प्रशासनका दायित्व र कार्याचरण सबै कानुनी मात्र पनि त हुँदैनन् । कतिपय प्रतीकात्मक प्रकृतिका हुन्छन् । जुन अवलम्बन गरेका पेसा तथा आर्जित विशेषाधिकार अभ्यासका आधारमा समाजका खातिर नैतिक रूपमा अवलम्बन गर्नैपर्ने हुन्छन् । यसलाई कानुनले बाध्यात्मक नबनाए पनि जानकार पढेलेखेका र तुलनात्मक रूपमा सभ्य व्यक्ति र राष्टलाई प्रभाव पार्ने हैसियत राख्छ ।

पीसी अलेक्जेन्डरले भनेका थिए, ‘असल व्यक्ति नै असल शासक र प्रशासक हुने हैसियत राख्छ ।’ त्यसैले कानुन तथा सिद्धान्तले माग गरेभन्दा विशिष्ट प्रकृतिको व्यवहारको अपेक्षा समाजको राज्य प्रशासनप्रति रहने हुँदा कानुनी शक्ति र सामाजिक माग दुवैको आदर्श सन्तुलनमा राज्य प्रशासन रहनुपर्छ । यसको अनुभव चाहिँ गर्न सकिन्छ तर मापन गर्न र दण्ड दिन सकिँदैन । यसलाई मानसिक गुण र नैतिक आचरणको समग्र रूप हो पनि भन्न सकिन्छ । मानसिक गुण र नैतिक आचरणभित्र जनतालाई सेवा गर्ने इच्छा भएर मात्र पुग्दैन । सार्वजनिक ओहोदाधारीमा स्वार्थहिनता, सदाचारिता, वस्तुपरकता, जवाफदेहिता, खुलापन इमानदारिता र नेतृत्वको गुण रहनुपर्छ । कानुनबमोजिमका निकायले सबै काम कुरा मापदण्ड पूरा गरेर गर्छ । सो गर्दा गफलत, मोलाहिजा वा लापर्बाही गर्दैन र उसले गरेका काम कारबाही वैध र सार्वजनिक हितअनुकूल हुन्छन् भन्ने मान्य अनुमानको सिद्धान्तमा प्रतिबद्ध रहनुपर्छ । हिजोको विरासतमा हे¥यौं भने न वातावरण छ न त शिक्षा, न संस्कार नै ?

परिवर्तित शासन प्रणाली, जनताको बढ्दो आकांक्षालाई सो अनुकुलको राज्य संयन्त्रमार्फत व्यवस्थापन गर्न नसकेकै हो । त्यसको समयमै व्यवस्थापन गर्न नसक्नाले अहिले त्यसै गल्तीकोे सिकार भइराखेका छौं । यो हरेक आन्दोलन या क्रान्तिपछि देखापर्ने सामाजिक चरित्रिक विशेषता हो । यसैको कारण आज जनताले खोजेको काम नभएको भन्ने गुनासो सरकारप्रति एकातिर छ भने प्रतिपक्षले पनि सशक्त रूपले प्रतिपक्षीय भूमिका निर्वाह गर्न नुसकेको गुनासो अर्काेतिर सुनिन्छ । यति मात्र होइन, राष्ट्रिय अस्मितासँग गाँसिएको सीमा विवादतर्फको सकल्प प्रस्ताव एकातिर पन्छाएर विवादित एमसीसीलाई चाहिँ संसदीय छलफलको विषय बनाइहाल्ने हतारोलगायत भ्रष्टाचारको कुराले पनि संसद्प्रतिको जनविश्वास धरापमा परेको अवस्था छ ।

जनताले हिजोका दिनमा आफूमाझ नेताले बोलेका कुरा, राखेका प्रतिबद्धता, जनतासँग मागेर एक कप चिया खाने गरेको इतिहास र आजका दिनमा आफूसँग ती नेताले गर्ने व्यवहार, देखाएका तडकभडक सबै नियालिरहेका छन् । त्यसको समय क्रममा छानबिन गर्न सक्षम भइसकेका छन् । अतः यसतर्फ अहिले समयमा नै वामपन्थीले हेक्का राखी जनताको मन जित्ने कार्यशैली र जीवनशैली अवलम्बन गर्दै जाने कुरामा तत्परता देखाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुपाल्चोकमा माओवादी र समाजवादीका कार्यकर्ताविच झडप