विषय प्रवेश : राष्ट्रिय एवं व्यक्तिगत सुरक्षा नागरिकको जीवनको सबैभन्दा बढी चासोको विषय हो । कोरोना भाइरसको विश्वव्यापी संक्रमण र महामारीले राष्ट्रिय सुरक्षाको घेरा राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा नै फराकिलो बनाइदिएको छ । सरुवा रोगको संक्रमण नियन्त्रण र व्यवस्थापन विश्वव्यापी चासोका रूपमा खडा भएको छ । शस्त्रअस्त्रका सामरिक युद्धभन्दा सरुवा रोगको महामारी वर्तमानमा डरलाग्दो हुन पुगेको छ । यस्ता महामारीले अन्तराष्ट्रिय रूपमा नै मानव सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । यसले जीवनयापनको संस्कार र सभ्यता परिवर्तनको खाँचोलाई आंैल्याएको छ भने विश्वसामु मानव सुरक्षाको जटिलतालाई स्पष्टसँग उजागर पनि गरेको देखिन्छ ।
मानव सभ्यताको प्रारम्भका दिनमा राष्ट्रिय सुरक्षा राज्यकेन्द्रित थियो । मूलतः राज्यका क्रियाकलाप परराष्ट्र नीति र सैनिक गतिविधिसँग सम्बन्धित हुन्थे । भौगोलिक क्षेत्र विस्तार हेतु राज्यबीच युद्ध हुन्थे । राज्यका सीमा बदलिइरहन्थे । संयुक्त राष्ट्रसंघको स्थापनापछि अन्तरराज्य लडाइ कम भएका छन् । विश्वले दुई ठूला विश्व युद्ध अनुभव गरिसकेको पनि छ । अहिले राज्य राज्यबीचका युद्ध कम भएका छन् । राष्ट्रिय सुरक्षा देशको आन्तरिक रूपमा शान्ति अमनचयन र बाह्य रूपमा भौगोलिक सीमा सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय हो । राष्ट्रिय सुरक्षाको चासो र क्षेत्र फराकिलो बन्दै गएको छ । देशभित्रको राजनीतिक विद्रोह, जातीय द्वन्द्व तथा सामाजिक अपराधलाई आन्तरिक शान्तिका लागि मत्थर गर्नुपर्ने हुन्छ । समय समयमा आउने भूकम्प, बाढी पहिरो, आगलागी महामारीजस्ता विपद् तथा प्रकोपले पनि राष्ट्रिय सुरक्षालाई जटिल बनाउने गरेको पाइन्छ । देशको भौगोलिक सीमा अतिक्रमण, सीमा वारपार हुने लागूऔषध कारोबार, मानव बेचबिखन र हतियारको ओसारपसारलाई बाह्य रूपमा देशलाई सुरक्षित राख्न व्यवस्थापन गर्नुपर्नेहुन्छ ।
अन्तराष्ट्रिय रूपमा हुने मानिसको निर्बन्ध आवागमनले सरुवा रोगको महामारीका साथै आतंकवाद र आतंककारी क्रियाकलाप बाह्य देशबाट आउने र देशभित्र मौलाउन सक्ने गतिविधि सुरक्षाका दृष्टिले उल्लेख्य हुन् । राष्ट्रिय र सामरिक महत्वका अतिरिक्त राष्ट्रिय सूचना चोरी गर्ने, ह्याक गर्ने तथा देशको सम्पूर्ण कम्प्युटर नेटवर्कमाथिको साइबर आक्रमण आजको डिजिटल युगले ल्याएको परिस्थिति पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग बनेको छ ।
भूकम्प, बाढी पहिरो, आगलागी महामारीजस्ता विपद् तथा प्रकोपले पनि राष्ट्रिय सुरक्षालाई जटिल बनाउने गरेको पाइन्छ
राष्ट्रिय सुरक्षालाई खासगरी आन्तरिक र बाह्य तथा सामरिक, डिजिटल र व्यक्तिगत गरी वर्गीकरण गर्ने गरिएको पाइन्छ । देशको भौगोलिक सीमाभित्रका सुरक्षा आन्तरिक हो भने सीमा र सीमा बाहिरबाट देशभित्र हुन सक्ने आक्रमण वा प्रसार बाह्य सुरक्षाको विषय हो । त्यस्तै सीमा सुरक्षा, युद्ध, हातहतियारको प्रयोग, सीमावारपार अवैध कारोवार सामरिक सुरक्षाभित्र समेटिन्छन् । कम्प्युटरमा आधारित डिजिटल नेटवर्कबाट सिर्जित व्यक्तिगत गोपनीयता, व्यक्तिगत तथा राष्ट्रिय सूचनाको संरक्षण, डिजिटल आक्रमण, साइबर अपराध डिजिटल सुरक्षाको क्षेत्रमा पर्छन् । देशको सीमा सुरक्षा, सीमा वारपार हुने अवैध क्रियाकलापको नियनत्रणका अतिरिक्त गरिबीबाट, प्रकोपबाट, रोगव्याधिको महामारीबाट, शारीरिक आक्रमणबाट, प्रदूषित वातावरणबाट, सम्पतिको आर्जन र उपभोगको अनिश्चितताबाट, मानवअधिकार र मौलिक हक हननबाट सुरक्षा प्रदान गर्नेजस्ता नागरिक सुरक्षाका चासा पूरा गर्नु राज्यको अहं कर्तव्य हो ।
राष्ट्रिय सुरक्षा व्यवस्थापनको महत्व : राष्ट्रिय सुरक्षा व्यवस्थापन देश र जनताका लागि महत्वपूर्ण हुन्छ । राष्ट्रिय सुरक्षा व्यवस्थापन गर्न राज्यसँग सार्वभौमशक्ति सुरक्षित हुन्छ । सुरक्षा व्यक्ति, समाज, राज्यको अतिरिक्त प्राकृतिक स्रोत संरक्षणका लागि आवश्यक हुन्छ । मानव सभ्यतासँगै शान्तिसुरक्षाको आयाम र क्षेत्र बढेको छ । प्राकृतिक वातावरण संरक्षणको महत्व बढेको छ । राष्ट्रिय सुरक्षाको व्यवस्थापनले भौगोलिक अखण्डता, राष्ट्रिय एकता र सार्वभौमिकताको सुरक्षा हुने, नागरिकहरूले निर्धक्कसँग मौलिक हक अधिकारको प्रयोग गर्न सक्ने, निर्वाध राष्ट्रिय विकासका कार्य सहजै सम्पादन हुने, विकास र समृद्धिको लक्ष्य हासिल हुने, सार्वजनिक सेवाप्रवाहमा प्रभावकारिता आउने, निजी क्षेत्रको आर्थिक क्रियाकलापमा लगानी बढ्ने, पर्यटन सेवा विकास र विस्तार हुने, जैविक विविधता संरक्षण हुने, अपराधिक क्रियाकलाप नियन्त्रण हुने, प्रकोप, महामारी तथा आर्थिक विशृंखलताको सहज व्यवस्थापन हुने, अन्तर्राष्ट्रिय जगत्मा सुरक्षित राज्यका रूपमा पहिचान बन्ने तथा जनतामा सन्तुष्टि र खुसी अभिवृद्धि हुने हुन्छ । यसकारण राष्ट्रिय सुरक्षा देशको अखण्डता, राष्ट्रिय एकता तथा जनताको सुरक्षा र कल्याणको संवद्र्धन र प्रवद्र्धनका लागि महत्वपूर्ण हुन्छ ।
आफ्ना जनताको सुरक्षा गर्नु र उनीहरूको दैनिक जीवनयापनलाई सुनिश्चित गर्नु राज्यको उद्देश्य हो । राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण र प्रवद्र्धन, देशमा शान्ति सुव्यवस्था र स्थिरता कायम गर्न, आर्थिक सामाजिक विकास गर्न, नागरिकको हक अधिकार उपयोगमा सुविस्ता ल्याउन, गैरकानुनी क्रियाकलापमाथि कडा निगरानी राख्न, बिना बिघ्नबाधा मनोरञ्जनात्मक कार्य सञ्चालन गर्न तथा नागरिकमा सुरक्षानुभूति र सन्तुष्टि बढाउन राष्ट्रिय सुरक्षा व्यवस्थापनको उच्च महत्व रहेको हुन्छ ।
राष्ट्रिय सुरक्षा संयन्त्रको व्यवस्था : देशको आन्तरिक एवं बाह्य सुरक्षा व्यवस्थापन राष्ट्रिय सुरक्षा व्यवस्थापन हो । नेपालमा राष्ट्रिय सुरक्षा व्यवस्थापन गर्न संस्थागत एवं प्रक्रियागत व्यवस्था गरिएको छ । संविधानमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यान राखी परराष्ट्र नीति सञ्चालन हुने व्यवस्था रहेको छ । नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्न संविधानमा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था गरिएको छ । आन्तरिक शान्ति सुव्यवस्था एवं बाह्य सुरक्षार्थ राष्ट्रिय सुरक्षा नीति २०७३, स्थानीय सुरक्षा ऐन २०२८, सैनिक ऐन, २०६३ र नेपाल नागरिकता ऐन, २०६३, केन्द्रीय एवं प्रदेश सुरक्षा परिषद्, जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारीलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको व्यवस्था गरिएको छ । आन्तरिक शान्ति सुव्यवस्था कायम गर्न प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
राष्ट्रिय सुरक्षाहेतु सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायमा रहेका नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने, आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने, विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष रूपमा खलल पार्ने तथा व्यक्तिगत गोपनीयता र व्यक्तिको जिउ, ज्यान, सम्पत्ति, स्वास्थ्य, वा सुरक्षामा खतरा पु¥याउने सूचना प्रवाह गर्नु नपर्ने व्यवस्था गरेको छ ।
राष्ट्रिय सुरक्षाका चुनौती : राष्ट्रिय सुरक्षा व्यवस्थापनमा आन्तरिक बाह्य चुनौती कारणले चुनौती सिर्जना हुने गर्छ । नेपाली युवा शिक्षा तथा रोजगारीका लागि विदेश जाने र स्वदेश नफर्कने प्रवृति तथा गैरनेपालीलाई नागरिकता दिने विषयमा भइरहेको अत्यधिक राजनीतिकरण राष्ट्रिय सुरक्षा तथा अखण्डता, राष्ट्रिय एकता र आन्तरिक शान्ति सुव्यवस्थाका लागि डरलाग्दो चुनौती बनेको छ ।
गरिबी, बेरोजगारी, आर्थिक असमानता र सामाजिक भेदभाव, निरक्षरता, आर्थिक एवं सामाजिक विशृंखलता, भ्रष्टाचार, जात्यन्ध, जातीय द्वन्द्व, साम्प्रदायिकता, क्षेत्रीयता, भाषिक अतिलगाव, अतिसांस्कृतिकवाद, सामाजिक कुरीति र अपराध, प्राकृतिक स्रोतको विनास, एउटा भाषा संस्कृति र भेषलाई महत्व दिने राज्यनीति, असमावेशी राजनीतिक शासन प्रणाली, गैरसंवैधानिक क्रियाकलाप, दण्डहीनता, माफियाको चलखेल, अपराध र अपराधको राजनीतिकरण, मुद्रा अपचलन र तस्करी, अराजकता, नागरिक विद्रोह तथा विखण्डनकारीद्वारा चलाइने विखण्डनउन्मुख क्रियाकलाप, वन विनास, जलस्रोतको मुहानको अतिक्रमण राष्ट्रिय सुरक्षा र शान्ति सुव्यवस्थाका आन्तरिक चुनौती हुन् ।
छिमेकी मित्रराष्ट्रसँग सीमा विवाद, विदेशी आक्रमण, आर्थिक विकासका लागि वैदेशिक सहयोगमाथिको अत्यधिक निर्भरता, क्रस बोर्डर महामारी, क्रस बोर्डर अपराध, हातहतियारको अवैध पैठारी, अन्तरसीमा अपराध, सूचना सञ्चार प्रविधिको दुरुपयोग र साइबर अपराध, रसायनिक विकिरण, आतंकवादको विगबिगी, राजनीतिक आर्थिक क्षेत्रमा बाहिरी हस्तक्षेप तथा जलवायु परिवर्तन तथा विश्वव्यापी, क्षेत्रीय तथा उपक्षेत्रीय सुरक्षासम्बन्धी विषय बाह्य चुनौती हुन् ।
राष्ट्रिय सुरक्षाका सिद्धान्त : राष्ट्रिय सुरक्षा व्यवस्थापनमा रियालिज्म र वेल्स स्कुल गरी दुई सिद्धान्त प्रयोगमा रहेको पाइन्छ । रियालिज्म सिद्धान्तले राष्ट्रिय सुरक्षाको मुख्य उद्देश्य राज्यको अखण्डताको संरक्षण र विस्तार गर्नु हो । राज्य बलियो भयो भने जनताको सुरक्षा स्वतः सुनिश्चित हुन्छ भन्ने धारणा राख्छ । यसकारण राज्यको शक्ति बढाउनुपर्छ भन्छ । सार्वभौमसत्ता, शक्ति, अखण्डता, स्वाधीनता, स्वतन्त्रता जोगाउनु, अर्को राज्यको आक्रमणको प्रतिकार गर्नु र सैनिक शक्तिलाई समसामयिक रूपमा संगठित गर्नु राज्यको प्रमुख चासो हुन् । वेल्स स्कुलले राष्ट्रिय सुरक्षाको मुख्य उद्देश्य मानव केन्द्रित हुन्छ भन्छ । देशका जनताको कल्याणलाई सर्वतोमुखी लक्ष्य मान्दछ । मानव संसाधनको समान विकास, नागरिक केन्द्रित सुरक्षा र नागरिकका हक अधिकारको प्रचलन गर्न, आर्थिक सुरक्षा र स्वतन्त्रता तथा मानवीय सेवा प्रवाह गर्न सहज हुने वातावरणको निर्माण गर्नु सुरक्षा व्यवस्थापन गर्नु हो भन्ने दृष्टिकोण राख्छ । राष्ट्रिय सुरक्षा व्यवस्थापनका उपाय ः राष्ट्रिय सुरक्षा व्यवस्थापनमा रणनीतिक व्यवस्थापन र रियलटाइम व्यवस्थापन प्रचलन रहेको पाइन्छ । लामो समय लिएर रणनीतिक योजना बनाई गरिने सुरक्षा व्यवस्थापन रणनीतिक व्यवस्थापन हो । आकस्मिक घटनाको व्यवस्थापन गर्न गरिने अल्पसमयको तयारी र सञ्चालन व्यवस्थापनलाई रियल टाइम व्यवस्थापन भनिन्छ ।
राष्ट्रिय सुरक्षा व्यवस्थापन गर्न राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचनाको संरक्षण र नागरिकलाई दिनुपर्ने आवश्यक सूचनाको प्रवाहबीच सन्तुलन, सक्षम र उत्तरदायी निजामती सेवा, सरक्षा निकायको व्यवसायीकरण र आधुनिकीकरण, विपद् व्यवस्थापन क्षमताको विकास र सुदृढीकरण, सुदृढ यातायात र सञ्चार प्रणालीको विकास तथा अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय महत्वका विषय उठाउन सक्ने, सीमा अतिक्रमण तथा क्रस बोर्डर अपराध नियन्त्रण गर्नेजस्ता विषयमा छिमेकीसँग वार्ता गर्न सक्ने र अन्तराष्ट्रिय रूपमा फैलिन सक्ने रोगव्याधीको विषयमा छलफल गर्न सक्ने सक्षम कुटनीति, देशको मानव संसाधनको विकास र रोजगारीको व्यवस्था तथा नागरिकता वितरणसम्बन्धी राजनीतिको तत्काल बन्दजस्ता पक्ष राष्ट्रिय सुरक्षा व्यवस्थापनका महŒवपूर्ण कडी हुन् । साथै राष्ट्रिय सुरक्षा व्यवस्थापनमा सघं, प्रदेश स्थानीय सरकार र निजी क्षेत्रबीचको समन्वय, सहयोग र सहकार्यको पनि अत्यन्त ठूलो भूमिका रहेको हुन्छ ।
मानिस र प्रकृतिबीचको पौठाजोराइमा मान्छेले कहिल्यै जित्न सक्दैन । प्रकृतिको अस्मितामाथिको निर्दयी र अनवरत लुटपाट र दोहनको परिणाम हाल पृथ्वीमा अनपेक्षित विपद् आइरहेका छन् । यस्ता विपद्बाट देशका नागरिकको सुरक्षा गर्न सरकारले समयमा नै राष्ट्रिय सुरक्षा क्षमताको विकास गर्नु अपरिहार्य हुन्छ । अहिले हाम्रो देशमा एमसीसी र बीआरआईभन्दा कोरोनाको सकस डरलाग्दो बनेको छ । कोरोना भाइरसको महामारीबाट नागरिकलाई सुरक्षित राख्न राज्यले इमानदारितापूर्वक उत्तरदायी ढंगले र समयमा नै रियल टाइम व्यवस्थापन गर्दै राष्ट्रिय सुरक्षा क्षमताको पूर्ण परिचालन गरी भयभित र अधैर्य जनतालाई आश्वस्त र विश्वस्त तुल्याउनुपर्छ ।