९ देवीका महिमा

शक्तीस्वरूपा देवीको ध्यान र पूजाआजा गर्नाले ज्ञान, सम्पत्ति र सुख सन्तोष बढ्ने विश्वास छ । नेपाल भाषामा ‘मोहनी’का नामले चिनिने दसैंलाई हिन्दीमा ‘नवरात्रि’ भनिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म विभिन्न देवीको पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएका हुनाले यसलाई ‘दसैं’ वा ‘विजया दशमी’का नामले पनि चिनिन्छ ।

बडादसैंका बेला नवदुर्गाको पूजा गरिन्छ । नौ दिनमा हरेक दिन छुट्टाछुट्टै देवीको पूजाअर्चना गर्ने चलन छ । विभिन्न दानवमाथि देवीले विजय प्राप्त गरेको खुसीयालीमा दसैं मनाउने गरिएको किम्वदन्ती छ ।

नवदुर्गा भवानीले चण्ड, मुण्ड, शुम्भ निःशसुम्भ, रक्तविजसहित दानव महिषासुरलाई वध गरेको खुसीयालीमा दसैं मान्ने गरिएको कथन छ ।
विभिन्न नौ देवीले दानवलाई मारेको स्मरणमा नवरात्रका नौ दिन अर्थात् घटस्थापनादेखि नवमीसम्म देवीको पूजा गरिन्छ ।

विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीका नौ रूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।

शैलपुत्री

दसैंको पहिलो दिन अर्थात् घटस्थापनाका दिन यी देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा लिने गरिएको छ ।

घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत् रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरिने चलन छ ।

ब्रम्हचारिणी

दसैंका नौ दिनलाई नवरात्र भनिन्छ । हरेक दिन विभिन्न देवीको पूजा गरिएझंै दोस्रो दिन ब्रम्चारिणीको पूजा गरिन्छ । यिनलाई शैलपुत्रीको अर्को रूप पनि मानिन्छ । सतीदेवीले पार्वतीको रूप धारण गरेपछि उनले महादेवलाई पाउन पुनः तपस्या गरेकीले उनको नाम ब्रम्हचारिणी रहेको हो । यी देवीले दाहिने हातमा जपमाला र देव्रे हातमा कमण्डलु लिएकी छन् ।

चन्द्रघन्टा
बडादसैंको तेस्रो दिन पुजिने देवी चन्द्रघन्टा हुन् । सिंहमाथि आसिन देवीका पाँच मुख र १० हात छन् । हातमा घन्टा लिएकी देवीसँग दानव त्रसित हुन्छन् । उनीहरू देवीको सुर्वण रूपबाट त्रसित भएका हुन् ।

कुष्मान्डा
आठ हात भएकी देवी कुष्मान्डाको चौथो दिन विशेष पूजाअर्चना गरिन्छ । सूर्य मण्डलामा बस्ने यी देवीको तेज सूर्यको जति नै हुने देवी भागवत्मा उल्लेख छ । उनको अट्टाहसमा ब्रम्हाण्डको उत्पत्तिदेखि विनास गर्न सक्ने क्षमता रहेको छ ।

स्कन्दमाता
बडादसैंको पाँचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजा गरिन्छ । श्वेत वर्णकी स्कन्दमाताका तीन आँखा, चार भुजा छन् । देवी कमलको पूmलमाथि आसीन छिन् ।

कात्यायनी
कात्यायनी देवीका तीन आँखा र आठ हात छन् । बडादसैंको छैटौं दिन पुजिने यी देवीको नामका सन्र्दभमा पौराणिक कथन छ । कात्यायनबाट भएको देवी माताले कात्यायनको छोरीका रूपमा जन्म लिएकाले यी देवीको नाम कात्यायनी भएको उल्लेख छ ।

कालरात्रि
बडादसैंको सातौं दिन कालरात्रि देवीको पूजा गरिन्छ । कालो वर्ण भएकी कालरात्रि देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन् । चार हात भएकी देवीको चारै हातमा तरबार, मसाल र वरमुद्रा लिएकी छिन् । पूmलपातीका दिन पुजिने देवी यिनै हुन् ।

महागौरी
अष्टमीका दिन पूजा गरिने देवी महागौरी हुन् । गोरुमाथि चढ्ने कालो वर्ण, श्वेत वस्त्रधारण गरेकी देवीका तीन आँखा र चार हात छन् । यसदिन घरघरमा बोका, हास, कुखुरा, घिरौलाको बलि दिइन्छ ।

सिद्धिदात्री
विजया दशमीको अघिल्लो दिन सिद्धिदात्री देवीको विशेष पूजा गर्ने चलन छ । भगवान् शिवले यिनै देवी आराधना गरेर सिद्धि प्राप्त गरेकाले यिनलाई सिद्धिदात्री भनिएको हो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत घटस्थापनादेखि नौ दिनसम्म विभिन्न शक्तिपिठ तथा दसैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ । विभिन्न शक्ति स्वरूपा देवीका मन्दिरमा देवीको दर्शन गर्नाले शक्ति प्राप्त गर्ने जनविश्वास छ ।

यसैगरी, भगवान् रामले रावणमाथि विजय पाएको उत्सवका रूपमा दसैं मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । रावणको अत्याचार परास्त गर्न मर्यादा पुरुषोत्तम रामले नौ दिनसम्म विभिन्न नौ देवीको उपासना गरी दसौं दिन रावणलाई वध गरेको खुसियालीमा दसैं मनाउन थालिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 817 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो, माओवादी निल