दसैंमा डेंगुको डर

पोहोर सालसम्म कोरोना महामारीबाट आक्रान्त सर्वसाधारण यस वर्षको दसैं तिहारमा डेंगु महारोगबाट त्रसित र भयभित छन् । कोरोना महामारीजस्तो त यो छैन तथापि यसले हामीलाई पर्वका अवसरमा सुख र चैनका साथ खुसी साट्न दिएको छैन । यद्यपि, जेजस्तो भए पनि सर्वसाधारण पर्व मनाउन बाध्य छन् । हरेक दिन र हरेक क्षण डेंगु संक्रमित थपिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसको पुष्टि गरिरहेको छ । गत साउन १ गतेदेखि मात्र नेपालमा २८ हजारको हाराहारीमा डेंगु संक्रमित भइसकेका छन् । नेपालजस्तो सानो भूगोल र थोरै जनसंख्या भएको देशमा संक्रमणको यो संख्या निकै डरलाग्दो नै हो । हरेक दिन डेंगु संक्रमितको मृत्युले सबैलाई आक्रान्त बनाइरहेको छ । डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगिसकेको छ । बाक्लो जनसंख्या भएका सहरी इलाकामा डेंगु संक्रमणको जोखिम टार्न नसकिने गरी देखिए पनि पातला बस्ती र इलाकामा पनि डेंगु संक्रमणको दर निकै बढेर गइरहेको छ ।

पर्वका बेलामा मानिस सहरी इलाकामा जम्मा हुने र रमाइलो गर्ने कारणले पनि दसैं तिहार डेंगु महारोग संक्रमणमैत्री हुने हो कि भन्ने त्रासले सबैलाई सताएको छ । पर्वको बेलामा पानीको निकै खपत हुने भएकाले भाँडाहरूमा आवश्यकताभन्दा बढी पानी जम्मा गर्ने, पानी अभाव हुन्छ भनेर टयांकरबाट पानी लिएर जहाँतहीँ जम्मा गर्ने गर्नाले डेंगु संक्रमणमा यसले सहजता र अनुकूल वातावरण सिर्जना गर्ने देखिन्छ । डेंगु संक्रमणको कारक स्मार्ट लामखुट्टेले यस्तै सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने गर्छ । खुला भाँडामा हप्तौं पानी जम्मा गर्ने र त्यसलाई ढाकछोप नगर्ने भएकाले पनि रोग भित्रने सम्भावना पर्वका बेला बढेर जान्छ । यो समस्या सहरी इलाकामा बढी देखिन्छ । मानिसको थुप्रो लाग्ने, डेंगी संक्रमित लामखुट्टेले टोकेको थाहा नहुने र मादक पदार्थको सेवन तथा बेहोसी पाराले उठबस तथा निद्रा आदि गरिने भएकाले पनि यही मौका छोपेर स्मार्ट लामखुट्टेले बढी संख्यामा मानिसलाई संक्रमित गराउन सक्छ । संक्रमितको यो संख्याले अरू दशौं गुणा मानिसमा यो रोग फैलाउने माध्यम बन्ने देखिन्छ । यस्तो अवस्था आउन नदिन सरकारलगायत सबै पक्षले सशक्त भूमिका निर्वाह गर्न सक्नु पर्छ ।

त्यसैले, दसैं तथा तिहार र छठ पर्वका बेलामा डेंगु महामारी सर्न र फैलन नदिन निकै सतर्कता अपाउनु जरुरी छ । काठमाडौं उपत्यकासहित सिंगो बाग्मती प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनीसहित कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा डेंगुका बिरामी भेटिएकाले यी सबैले पर्वका बेला बिनाहेलचेक्¥याइँ डेंगुसम्बन्धी जनचेतनामूलक कार्यक्रम सहर तथा गाउँहरूमा लैजानुपर्छ । यसका लागि स्थानीय तह मातहतका राजनीतिक तथा प्रशासनिक इकाइलाई थप सेवा सुविधा दिलाएर भए पनि सचेतनामूलक अभियानमा खट्न प्रेरित गर्नु पर्छ । यसो गरेमा मात्र डेंगु नियन्त्रणका काम कार्यले व्यवहारमा परिणाममूलक नतिजा दिन सक्ने देखिन्छ । सरकारले यसका लागि स्वास्थ्यसम्बन्धी विशेष बजेट निर्माण गरी सरकारी संयन्त्रमार्फत जनताबीचमा विभिन्न कार्यक्रम लैजान प्रयास गर्नै पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९