नयाँ जनप्रतिनिधि पुराना नीति

हुमाकान्त पोखरेल

स्थानीय तह निर्वाचनबाट दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भए पनि उनीहरूले पुरानै नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएका छन् । कालिगण्डकी गाउँपालिकाले पर्यटन, शिक्षा, पूर्वाधारलगायतका नीति दोहो-याएको छ ।

धुर्कोट गाउँपालिकाले कृषि, पर्यटन र शिक्षासम्बन्धी र चन्द्रकोट गाउँपालिकाले नगर प्रहरी, कृषि पूर्वाधार, सहकारी तथा वित्तीय नीति, पर्यटकीय पूर्वाधारसम्बन्धी विषयमा पुरानै नीतिलाई दोहोयाएको पाइन्छ ।

त्यस्तै, छत्रकोट गाउँपालिकाको शिक्षा, पोषण, खानेपानी लगायतका नीति पुरानै छन् भने मदाने गाउँपालिकाले कृषि, पर्यटन, पशु, शिक्षा, स्वास्थ्यलगायतका नीति तथा कार्यक्रम दोहो¥याएको छ ।

जिल्लामा दुई नगर र १० गाउँपालिका गरी १२ पालिका छन् जसमध्ये अघिल्लो निर्वाचनमा सात पालिका अध्यक्ष एमाले, चार कांग्रेस एवं एक पालिका अध्यक्ष माओवादी केन्द्रले जितेको थियो ।

अहिले पाँच पालिका अध्यक्ष कांग्रेस, चार माओवादी केन्द्र र तीन पालिका अध्यक्ष एमालेले जितेका छन् । अघिल्लो चुनावमा एमालेले जितेको इस्मा, मदाने र रेसुंगामा अहिले कांग्रेसले जितेको छ ।

त्यस्तै, मालिका र रुरुक्षेत्रमा माओवादी केन्द्र एवं मुसिकोट र छत्रकोटमा एमाले स्वयंले नै जितेको छ । यसभन्दा अगाडि कांग्रेसले जितेको सत्यवतीमा अहिले एमाले एवं चन्द्रकोटमा माओवादी केन्द्रले जितेको छ ।

त्यस्तै, अघिल्लोपटक कांग्रेसले जितेको कालिगण्डकी र गुल्मीदरबारमा यसपटक पनि कांग्रेसले नै जितेको छ । यसभन्दा अगाडि माओवादी केन्द्रले जितेको धुर्कोट गाउँपालिका अहिले पनि माओवादी केन्द्रले नै जितेको छ । पालिकामा निर्वाचित हुने दल फेरिए पनि नीति तथा कार्यक्रम भने फेरिएका छैनन् ।

कालिगण्डकीको हुबहु
यसभन्दा अगाडि कांग्रेसका वेदबहादुर थापा अध्यक्ष भएको कालिगण्डकीमा दोस्रो कार्यकालका लागि पनि थापा नै चुनिए । नयाँ कार्यभार सम्हाल्न चुनिएका थापाले नीति तथा कार्यक्रम भने पुरानै ल्याए । अर्थात् नेतृत्व पुरानै भएकाले नीति तथा कार्यक्रम पनि पुरानै रहेको छ ।

नीति तथा कार्यक्रमका शीर्षक एवं त्यसभित्रका बुँदा जस्ताको तस्तै छन् । गत वर्षको नीति तथा कार्यक्रममा पहिलो बुँदामा कृषि गुरुयोजनाको तयारी गरी तपशीलबमोजिमको लक्ष्य हासिल गरिने उल्लेख छ । यो वर्ष पनि सोही बुँदा नै उल्लेख गरी नीति कार्यक्रम बनाइएको छ ।

उद्योग, पर्यटन क्षेत्र, राजस्व परिचालन, सामाजिक विकास, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरण, जनसंख्या र श्रम तथा रोजगारी, सामाजिक सुरक्षा तथा संरक्षण, युवा, खेलकुद तथा स्वयंसेवक सेवा, सडक तथा झोलुंगे पुल, सिँचाइ, ऊर्जा, सञ्चार, वन तथा भू–संरक्षण, विपद् व्यवस्थापन, वित्तीय व्यवस्थापन एवं विविध नीतिअन्र्तगतका सबै बुँदा गत वर्षकै कपिपेस्ट गरिएको छ । अर्थात् सो शीर्षकमा एउटा पनि नयाँ कार्यक्रम थपिएको छैन ।

गुल्मीका पालिकामा निर्वाचित हुने दल फेरिए पनि नीति तथा कार्यक्रम भने फेरिएका छैनन् । अघिल्लो कार्यकालमा ल्याइएका नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् ।

कृषि एम्बुलेन्सको व्यवस्था, कृषकलाई परिचयपत्र दिने, कृषि संकलन केन्द्रको स्थापना एवं विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने यस वर्षका नयाँ कार्यक्रम हुन् । तर, गत वर्षकै नीति तथा कार्यक्रम कार्यान्वयन नभएकाले औपचारिकताका लागि मात्र कार्यक्रम ल्याएको देखिन्छ ।

गाउँपालिका अध्यक्ष थापाले नीति तथा कार्यक्रममा नयाँपन दिन नसकिएको स्विकारे । ‘हामी अहिले पशुसँग सम्बन्धित उत्पादनमा लागेका छौं,’ थापाले भने, ‘तर, ठ्याक्कै रोजगारीको तथ्यांक भने छैन ।’

मदानेमा पुरानै
अघिल्लो कार्यकालमा एमालेका दानबहादुर केसी अध्यक्ष रहेको मदाने गाउँपालिकामा अहिले कांग्रेसका महेन्द्र कुँवर निर्वाचित भए । कुँवर निर्वाचित भएसँगै पालिकाको नेतृत्व मात्रै फेरिएन, नारा पनि फेरियो । एमालेका केसीले ‘सम्बद्ध मदानेको आधार, कृषि पर्यटन र पूर्वाधार’ भन्ने नारा अवलम्बन गरेका थिए, तर कांग्रेसका कुँवरले ‘समुन्नत मदाने, सम्मानित मदाने बासी’ नारा अवलम्बन गरेका छन् ।
नयाँ नारा लिए पनि नीति तथा कार्यक्रम भने पुरानै रहेका छन् । खोर सुधारका लागि अनुदान, कृषि उपज केन्द्र स्थापना गर्ने, संग्राहलयको स्थापना, टोल विकास संस्थाको गठन, छोरी–बुहारी शैक्षिक सुधार कार्यक्रमलगायतका कार्यक्रम पुरानै छन् । त्यस्तै, बेरुजुमुक्त पालिका बनाउने, पर्यटन गुरुयोजना निर्माण गर्ने, उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नेलगायतका नीति तथा कार्यक्रम पुरानै छन् ।

छत्रकोटमा पनि उस्तै
छत्रकोट गाउँपालिकामा अघिल्लो कार्यकालमा एमालेका मधुकृष्ण पन्थ अध्यक्षमा विजयी भएका थिए । अहिले एमालेकै रामप्रसाद पाण्डे अध्यक्ष छन् । माओवादी केन्द्रमा सक्रिय पाण्डे निर्वाचनको केही दिन अगाडि मात्रै एमाले प्रवेश गरेका थिए । पन्थ अध्यक्ष हुँदा ‘कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार–समृद्ध जनता हाम्रो प्रतिबद्धता’ नारा रहेको थियो भने अहिले पाण्डे हुँदा ‘सुखी र खुसी छत्रकोट बासी, समृद्ध छत्रकोट’ नारा रहेको छ ।

पाण्डेले नारा फेरे पनि पालिकाका पुराना कार्यक्रम भने फेर्न सकेनन् । पाण्डे अध्यक्ष हुँदा अधिकांश कार्यक्रम पन्थ अध्यक्ष हुँदाकै छन् । शिक्षकको क्षमता विकास, विद्यालयमा जंग फुड निषेध गर्ने, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने, सडकलाई बारै महिना सञ्चालनमा ल्याउने, पोषणमैत्री पालिका घोषणा गर्ने लगायतका कार्यक्रम पुरानै छन् ।

केही नयाँ कार्यक्रम पनि थप गरेका छन् । पालिका अध्यक्ष रामप्रसाद पाण्डेले निर्वाचित हुँदा लगत्तै नीति तथा कार्यक्रम ल्याउनु पर्दा केही विषय छुटेको बताए । ‘घोषणापत्रमा उल्लेख भएबमोजिम काम गरेका छौं, तर केही विषय छुटेका पनि छन्,’ उनले भने, ‘आगामी वर्ष सबै पक्ष समेटेर काम गर्छौं ।’

रेसुंगा नगरपालिकामा पनि पुरानै नीति हाबी
यसभन्दा अगाडि एमालेले जितेको रेसुंगा नगरपालिकामा यसपटक कांग्रेसले जितेको छ । पहिले एमालेका डिल्लिराज भुसाल मेयर रहेको नगरपालिकामा अहिले कांग्रेसका खिलध्वज पन्थी मेयर छन् । पन्थी मेयर भएपछि केही नयाँ काम गर्न खोजे पनि त्यसलाई नीति तथा कार्यक्रममा भने उतार्न सकेनन् ।

पन्थीले ६ जेठमा पदभार ग्रहण गर्दाकै दिन चारवटा महŒवपूर्ण निर्णय गरे । जसमध्ये गुल्मी अस्पतालमै डायलासिस गर्न आवश्यक सामग्री उपलब्ध गराउने र आँखाको शल्यक्रिया निःशुल्क गर्ने निर्णय लोकप्रिय मानिएका छन् । गुल्मी अस्पतालका लागि डायलासिस गर्ने मेसिन खरिद प्रक्रियामा रहे पनि आँखाका बिरामीले भने निःशुल्क रूपमा शल्यक्रियाको सेवा पाइरहेका छन् ।

पालिकाभित्रका विद्यालयबाट एसईईमा ३ दशमलव २ जीपीएभन्दा बढी ल्याउने र पालिकाभित्रैका विद्यालयमा पढ्ने विद्यार्थीको लागि मासिक ४ हजार उपलब्ध गराउने निर्णय पनि नगरपालिकाले गरेको छ । यी कार्यक्रम नयाँ र लोकप्रिय हुन् । तर, सदरमुकाम तम्घासका मुख्य नाकामा सिसिटिभी जडान गर्ने, मुख्य पर्यटकीय क्षेत्रमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने, अन्य देशका विभिन्न नगर परिषद्बीच भगिनी सम्बन्ध जोड्ने, पोषणमैत्री नगरपालिका घोषणा गर्ने लगायतका कार्यक्रम भने पुरानै छन् ।

तम्घासका मुख्य सडकमा सिसिटिभी जडान, पोषणमैत्री पालिका घोषणा, छात्रालाई निःशुल्क सेनेटरी प्याड, लघु उद्यममार्फत रोजगारी सिर्जनालगायतका पुरानै कार्यक्रम दोहोरिएका छन् ।

यी कार्यक्रम एमालेको सरकार हुँदा पनि समावेश रहेर पूरा भएनन् । कांग्रेसको सरकार बनेर नीति कार्यक्रम पारित भएको झन्डै दुई महिना सकिँदा पनि काम सुरु नै भएको छैन । ‘कृषि, आँखा स्वास्थ्य, मेयरसँग रोजगारलगायतका नयाँ कार्यक्रम पनि समावेश गरेका छौ,’ मेयर पन्थीले भने, ‘अहिले ल्याएका नीति तथा कार्यक्रम पूर्णरूपमा कार्यान्वयन गर्छौं ।’

चन्द्रकोटमा केही नयाँ
चन्द्रकोट गाउँपालिकामा पहिले कांग्रेसका द्रोण खत्री पालिका अध्यक्ष थिए भने अहिले माओवादी केन्द्रका युवराज केसी अध्यक्ष छन् । अझ गज्जवको विषय त, अघिल्लो निर्वाचनमा आफंैविरुद्ध उम्मेदवार बनेका केसीलाई जिताउन यसपटक खत्री लागे । वर्तमान अध्यक्ष केसीले कानुनमा स्तातकोत्तर गरेका छन् । तसर्थ, उनले केही नयाँ कार्यक्रम ल्याउने अपेक्षा आमगाउँपालिकाबासीले गरेका थिए । केसीले पहिलेभन्दा केही नयाँ कार्यक्रम पनि ल्याएका छन् तर अधिकांश भने पुरानै कार्यक्रममा चित्त बुझाएका छन् ।

खत्रीले ‘हरेक क्षेत्रमा सबैका क्रियाशिलता, सबल एवं सक्षम चन्द्रकोट भ्रष्टाचारमा शून्य सहनशिलता’ भन्ने नारा लिएका थिए भने केसीले ‘विद्यमान समस्याको निकास, सुशासनसहितको विकास’ भन्ने नारा लिएका छन् ।

केसीले पदभार ग्रहण गर्दाकै दिन विपन्न नागरिकको स्वास्थ्य बिमामा ५० प्रतिशत छुट दिने, स्थानीय स्वास्थ्य संस्थामा प्रसूती हुन नसक्नेलाई बुटबलसम्मको खर्च पालिकाले दिनेलगायतका निर्णय गरेका थिए । सो निर्णयहरू अन्य पालिकाले पनि अनुशरण गरेका छन् ।

अहिले केसीले बाँझो जग्गामा खेती गर्नेलाई अनुदानका साथै शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेका छन् । नीति तथा कार्यक्रम केही नयाँ र आशालाग्दो देखिएको छ । १० जनालाई रोजगारी दिने फर्मलाई लगानीमा अनुदान, टिमुरे ताललाई गौरवको आयोजनाका रूपमा अगाडि बढाउने, पञ्चवर्षीय गाउँ शिक्षा योजना बनाई कार्यान्वयन गर्ने, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई तालिमको व्यवस्था गर्ने, शिक्षक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण, आँखासम्बन्धी अध्ययनका लागि प्रत्येक वर्ष एक जनालाई छात्रवृत्तिको व्यवस्था गर्ने, छोरीलाई अंश दिने बुबा–आमालाई सम्मानलगायतका नयाँ कार्यक्रम केसीले समावेश गरेका छन् । तर, नगरप्रहरीको स्थापना जस्ता गत बर्ष पनि समावेश भएका नीति कार्यक्रम हालसम्म पनि कार्यान्वयन नहुँदा अहिलेका कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिएको छ ।

धुर्कोटमा नेतृत्व र नीति दुवै पुरानै
धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रबाट भुपाल पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । पोखरेलको अघिल्लो कार्यकालकै बेला गाउँपालिका कार्यसम्पादनका आधारमा नेपालकै तेस्रो नम्बरमा परेको थियो । विकासका दृष्टिकोणले पनि धुर्कोट गाउँपालिका जिल्लामै अब्बल मानिन्छ । अघिल्लो कार्यकालका लागि २०७४ असार २८ गते पदभार ग्रहण गर्दा पोखरेलले खरका छाना विस्थापन गरी टिनका छाना लगाउने निर्णय गरेका थिए । सो निर्णय अन्य पालिकाले पनि अनुशरण गर्दै पछि संघीय सरकारले पनि नीति तथा कार्यक्रममा उल्लेख ग¥यो । अहिले धुर्कोट गाउँपालिका खरका छानामुक्त घोषणा भइसकेको छ ।

दोस्रो कार्यकालका लागि गत जेठ ९ गते पदभार ग्रहण गर्दा पोखरेलले चारवटा निर्णय गरे । विद्युतीय चुलोमा ५० प्रतिशत अनुदान, घर बिमामा ५० प्रतिशत अनुदान, दलित एवं विपन्न नागरिकका लागि एसईई परीक्षापछिको तीनवर्षे प्राविधिक शिक्षामा छात्रवृत्ति र बाबुआमा गुमाएका २० जना बालबालिकालाई निःशुल्क आवासीय अध्ययनको व्यवस्था गरिएको छ । सो निर्णय अहिले कार्यान्वयनकै चरणमा छन् । तर, पालिकाले लिने अन्य नीति तथा कार्यक्रम भने गत वर्षकै दोहोरिएका छन् ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जनताको माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताए । ‘नीति तथा कार्यक्रम बजेटमार्फत कार्यान्वयन हुन्छ,’ उनले भने, ‘बजेटमार्फत नागरिकका समस्या समाधान गर्ने प्रयास गरिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयन आज अपराह्न ५ बजेसम्म